महिलालाई सताउने विकराल समस्या हो– पाठेघरको मुखको क्यान्सर। जसका कारण धेरै महिलाले ज्यानसमेत गुमाइसकेका छन्। यस्तो प्राणघातक रोग कसरी लाग्छ ? यसलाई हुनै नदिने उपाय छन् कि छैनन् ? अर्थात् भइसकेपछि कस्तो उपचार आवश्यक छ ? प्रस्तुत छ– यस विषयमा नागरिककर्मी पवित्रा सुनारले वीर अस्पतालस्थित अन्कोलोजी विभागकी वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. आरती शाहसँग गरेको कुराकानीः
चिकित्सा पेसामा लागेको कति वर्ष भयो ?
– २८ वर्ष बितिसक्यो। सुरुमा कान्ति बाल अस्पतालमा एक वर्ष काम गरें, त्यसपछि वीर अस्पतालमा आएँ, बीचमा भक्तपुर क्यान्सर अस्पतालमा काजमा आठ वर्ष काम गरें। फेरि वीरमै फर्केर निरन्तर सेवा गरिरहेको छु।
तपाईं कुन–कुन क्यान्सरको उपचार गर्नुहुन्छ ?
रगतको क्यान्सरबाहेक सबै क्यान्सरको उपचार गर्छु।
पाठेघरको मुखको क्यान्सर बढी हुन्छ भन्ने सुनिन्छ, यथार्थ के हो ?
पाठघेरको मुखको क्यान्सर बढेको हो या हैन भन्ने विषयमा खास अध्ययन त भएको छैन। तर अस्पतालमा आउने बिरामीको संख्या हेर्दा चाहिँ यो समस्या बढी नै देखिन्छ। यस रोगबारे जनचेतना बढेकाले पनि उपचारमा आउने बढी देखिएको होला। तर यो रोग पनि बढेकै देखिन्छ।
पाठघेरको मुखको क्यान्सर भनेको के हो ?
पाठेघर तीन भागमा बाँडिएको हुन्छ। एउटा सबैभन्दा तलको भाग जसलाई पाठेघरको मुख भनिन्छ। यही भागमा सबैभन्दा बढी क्यान्सर हुन्छ। जहाँ कुनै पनि भाइरल संक्रमणका कारण क्यान्सर हुन्छ। जुन शरीरका अन्य भागमा पनि विस्तारै फैलँदै जान्छ। यसबाहेक पाठेघरको बीचको भागमा पनि क्यान्सर हुन्छ।
पाठघेरको मुखको क्यान्सर कसरी हुन्छ ?
‘ह्युमन पेपिलोमा’ भन्ने भाइरस पाठेघरको मुखमा संक्रमण गर्न पुग्यो भने क्यान्सर हुन्छ। यो भाइरसको संक्रमण खासगरी धेरैजनासँग यौन सम्पर्क गर्ने महिलालाई बढी हुने संभावना हुन्छ। अर्थात् धेरैजनासँग संसर्ग गर्ने श्रीमान्का महिलालाई पनि यो भाइरस सर्ने खतरा बढी हुन्छ। यसबाहेक अन्य फोहोर वातवरणका कारण पनि यो भाइरस सर्न सक्छ।
ह्युमन पेपिलोमा भाइरस संक्रमण भएको कति वर्षमा क्यान्सर हुन्छ ?
यो भाइरस संक्रमण हुनेबित्तिकै क्यान्सर हुँदैन। यसको संक्रमण भएको १० देखि २० वर्षसम्ममा क्यान्सर हुन्छ।
यस्तो क्यान्सर भएका महिला कुन अवस्थामा उपचारका लागि आउने गरेका छन् ?
क्यान्सर दोस्रो र चौथो चरणमा पुगिसकेको अवस्थामा उपचारका लागि आउनेहरू बढी छन्। पहिलो स्टेज (चरण) मै उपचार गर्न आए निको हुने संभावना ९० प्रतिशत हुन्छ भने क्यान्सर दोस्रो चरणमा प्रवेश गरिसकेपछि आएमा निको हुने संभावना ७० प्रतिशत हुन्छ।
त्यसैगरी तेस्रो चरणको अवस्थामा निको हुने संभावना ५० प्रतिशत मात्र हुन्छ भने चौथो चरणमा पुगिसकेको अवस्थामा त निको हुने संभावनै हुँदैन। त्यसकारण जतिसक्दो चाँडो उपचारमा आउनुपर्छ।
नेपालमा पाठघेरको मुखको क्यान्सर हुने कति छन् ?
पाठेघरको मुखको क्यान्सरको रजिस्टर हेर्दा महिलालाई हुने कुल क्यान्सरको १२ देखि १३ प्रतिशत पाठेघरको क्यान्सर हुन्छ। नेपालभरिको तथ्यांक त लिन सकिएको छैन। तर सातवटा अस्पतालको तथ्यांकअनुसार वर्षमा १० देखि १२ हजार महिलालाई विभिन्न क्यान्सर भएको देखिन्छ।
वीर अस्पतालमा पनि पाठेघरको मुखको क्यान्सरको उपचार हुन्छ ?
वीर अस्पतालमा क्यान्सर स्क्रिनिङ सेवा छ। यहाँ पनि पाठेघरको मुखको क्यान्सरको उपचार हुन्छ।
वीरमा दैनिक कति जना यस्ता बिरामी आउँछन् त ?
नयाँ बिरामी मात्र दैनिक पाँचदेखि सात जनासम्म आउँछन्। नियमित उपचारमा आउने महिलाको संख्या त अझ धेरै छ।
कुन उमेर र पेसाका महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ ?
५५ देखि ६० वर्षसम्मका महिलामा यो बढी देखिएको छ। शिक्षित वा अशिक्षित दुवै किसिमका महिलालाई यो क्यान्सर भएको पाइएको छ। तर अलि बढी गाउँका निरक्षर महिलालाई यो रोग बढी भएको देखिन्छ। यसको अर्थ के हो भने सहरका महिलालाई यो क्यान्सरबारे बढी जानकारी छ।
उक्त क्यान्सरका लक्षण चाहिँ कस्ता हुन्छन् ?
पाठेघरको मुखको क्यान्सरले सुरुकै अवस्थामा कुनै लक्षण देखाउँदैन। यसकारण चिकित्सककहाँ गएर परीक्षण गरे मात्र यो पत्ता लाग्छ। तर दोस्रो चरणमा पुगेपछि भने यसका विभिन्न लक्षण देखिन थाल्छन्। जस्तो, योनीबाट रगत मिसिएको पानी बग्ने, सेतो पानी बग्ने, अझै ढिला भयो भने ढाड दुख्ने, कम्मर दुख्ने, त्यसभन्दा पनि ढिलो भएर क्यान्सर फैलियो भने दिसा गर्न बाधा हुने, घरी–घरी पिसाब लाग्ने, कलेजोमा फैलिएको अवस्थामा जन्डिस हुने, पाठेघरबाट मस्तिष्कमा पुगेको छ भने पक्षाघात हुने, वान्ता हुने, टाउको दुख्ने लक्षणहरू देखापर्छन्।
यसैगरी क्यान्सर हड्डीमा फैलियो भने हड्डी भाँचिने, रगतको कमी हुने, दुब्लाउँदै जाने, दिसा गर्न बाटो छेकियो भने दिसा गर्नै गाह्रो हुने आदि समस्या हुन थाल्छन्।
त्यसोभए पाठेघरको मुखको क्यान्सर सुरुमै कसरी थाहा पाउने ?
यसका लागि कम्तीमा वर्षमा एकपटक विशेषज्ञ चिकित्सककोमा गएर जाँच गराउने। त्यो भनेको पाठघेरको पानी (प्यापस्मेयर) परीक्षण हो। अहिले भिआइए (यसले तुरुन्तै पाठघेरको मुखको क्यान्सरको अवस्था पत्ता लाग्छ) प्रविधि आएको छ। यो परीक्षण सुविधा नेपालमा हालै उपलब्ध भएको हो। अहिले यो परीक्षण सुविधा सरकारी तहमा पाँचवटा जिल्लाबाट सुरु भएको छ। पछि देशभर यो विस्तार गर्ने सरकारी योजना छ।
भिआइए परीक्षण राम्रो कि प्यापस्मेयर ?
दुवैको परिणाम समान देखिन्छ।
पाठघेरको मुखमा हुने क्यान्सरविरुद्धको खोप पनि आएको छ ?
विकसित मुलुकसँगै नेपालमा पनि ह्युमन पेपिलोमा भाइरस (एचपिभी)विरुद्धको खोप सन् २००८ मै सुरु भएको हो। यसको प्रभावकारिताबारे अध्ययन भइनसकेको भए पनि ९० प्रतिशत भन्दा बढी रहेको अनुमान छ।
नेपालमा उक्त क्यान्सर उपचारको अवस्था कस्तो छ ?
नेपालमा यो क्यान्सरको सबैखाले उपचार उपलब्ध छन्। यसको उपचार गर्ने तीनवटा विधि हुन्छन्– किमोथेरापी, रेडियोथेरापी र सर्जरी। यो सबै उपचार नेपालमै हुन्छ। वीर अस्पताल, भक्तपुर अस्पताल, बिपी कोइराला क्यान्सर अस्पताल, नेपाल क्यान्सर अस्पताल र काठमाडौं केयर सेन्टरमा यसको उपचार हुन्छ।
नेपालमा क्यान्सर बढ्नाको कारण एचभीविरुद्धको खोप नलगाएर हाे?
खोप नलगाएर पनि हो। तर त्यो भन्दा पनि मुख्य कारण, ह्युमन पेपिलोमा भाइरसको संक्रमण फैलिएर हो। भाइरसको संक्रमण हुनेबित्तिकै पाठेघरको मुखको क्यान्सर हुने हैन। यो अवधिमा नियमित परीक्षण गरेर बच्न सकिन्छ। जस्तो, भिआइए परीक्षणबाट सीधै भाइरसको असर देख्न सकिन्छ। प्यापस्मेयरबाट पनि प्याथोलोजी परीक्षणबाट पनि यसको असर पत्ता लगाउन सकिन्छ। परीक्षणबाट भाइरसको असर देखिएमा स्थानीय उपचारबाटै क्यान्सर रोक्न सकिन्छ।
कुनै पनि महिला पेपिलोमा भाइरसको संक्रमण वा पाठघेरको मुखको क्यान्सरबाट बच्न के–के गर्न जरुरी छ ?
सबैभन्दा पहिला कुनै पनि महिलाले विवाह हुनुभन्दा अघि अर्थात् पहिलो यौन सम्पर्क हुनुअघि नै एचपिभी भाइरसविरुद्धको खोप लगाउनु उचित हो। यो खोप १३ वर्ष माथिका स्कुले छात्राहरूले लगाउनुपर्छ। तर यौन सम्पर्क नगरेका जुनसुकै उमेरका महिलाले पनि लगाउन सक्छन्। नेपालमा यो खोप सबैको पहुँचमा पुगिसकेको छैन। सरकारले पनि अन्य खोपजस्तै यो खोप ल्याउने प्रयास गरिरहेको छ।
दोस्रो उपाय भनेको विवाहित तथा यौन सम्पर्क भइसकेका महिलाले कम्तीमा वर्षको एकपटक आफ्नो पाठेघर, प्यापस्मेयर, भिआइए टेस्ट तथा पाठेघरको मुखको मासुको नमुना परीक्षण पनि गर्न सकिन्छ। कुनै पनि महिला या पुरुषले असुरक्षित यौन सम्बन्ध नगरेमा महिला ह्युमन पेपिलोमा भाइरसबाट बच्न सक्छन् र पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ।
प्रकाशित: १२ माघ २०७५ ०३:०४ शनिबार