१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्तर्वार्ता

वित्तीय पारदर्शीता कायम गर्न भूमिका खेल्छौं

इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्ट (सिए) अध्ययन गरेका आनन्दराज शर्मा वाग्ले करिब एक दशकदेखि चार्टर्ड एकाउन्टेन्ट व्यवसायमा संलग्न छन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) का अध्यक्ष वाग्ले मुलुकको समृद्धि र वित्तीय सुशासनका लागि सिएको महत्वपूर्ण भूमिका रहेको बताउँछन्। वाग्लेसँग एक्यानले मुलुकको वित्तीय सुशासनमा खेल्न सक्ने भूमिका, लेखा व्यवसायको अवस्था, चुनौतीलगायत विषयमा गरिएको कुराकानी :

एक्यानले के काम गर्दै आएको छ ?
एक्यान गैरनाफामूलक, गैर राजनीतिक नेपाली चार्टर्ड एकाउन्टेन्टको छाता संस्था हो। नेपाल र भारतमा अध्ययन गरेका सिए यस संस्थामा आबद्ध छन्। हामीले लेखा व्यवसायसँग सम्बद्ध सदस्यको पक्षमा वकालत गर्ने, समग्र वित्तीय तथा आर्थिक क्षेत्रमा क्षमता विकासलगायत काम गर्दै आएका छौं।

लेखा व्यवसायको अवस्था कस्तो छ ?
लेखा व्यवसायको दायरा फराकिलो छ। लेखाको हरहिसाब राख्ने एकाउन्टेन्ट पनि गर्छ आइक्यानमा दुई किसिमका सदस्य छन्। ऐन प्रारम्भ हुनुपूर्व लेखा परीक्षण गर्ने सदस्य रजिस्टर्ड अडिटर छन्। चार्टर्ड एकाउन्टेन्ट ऐन आएपछि सिए रहेका छन्। एक्यानका सदस्य १६ सय छन् भने आइक्यानका १३ सय सदस्य छन्। जसमा लेखा व्यवसायमात्र गर्ने सिए साढे तीन सय र रजिस्टर्ड अडिटर सात हजारको हाराहारीमा छन्। आइक्यान काउन्सिल हो। आइक्यान लाइसेन्स दिने र नियमन गर्ने नियामक निकाय हो। एक्यान चार्टर्ड एकाउन्टेन्टको संघ हो।

सिएप्रति आकर्षण बढिरहेको छ किन ? अन्य पेसाभन्दा फरक के छ ?
सिए एप्लाइड साइन्स हो। निम्न र मध्यम आय भएकाले अध्ययन गर्न सक्ने कोर्ष हो। कमर्सको उत्कृष्ट कोर्ष हो। सिएलाई लेखा, लेखा परीक्षण, वित्त, करका विज्ञको रुपमा लिइन्छ। सिएको कोर्ष अध्ययन गरेपछि ज्ञान एकीकृत भएकाले एउटै व्यक्तिले वित्तीय क्षेत्रका सबै पक्षलाई बुझ्न सक्छ। वित्तको असर, कर, कर्पोरेट ट्याक्सलगायत विभिन्न क्षेत्रमा के असर पर्छ भनेर सिए पढेको एउटै व्यक्तिले बुझ्न सक्ने भएकाले विज्ञको रुपमा लिइन्छ। यो विषयको माग उच्च छ। सिए आयकर, कर्पोरेट करलगायतको विज्ञ हो। एकाउन्ट सम्बन्धी सबैलाई हेर्न सक्ने भएकाले माग बढी छ। तुलनात्मक रुपमा सस्तोमा सिए अध्ययन गर्न सक्ने भएकाले अवसर छ। अहिले स्वदेशमै पढ्न सकिन्छ।

सिए अध्ययन गर्न विदेश जानुपर्ने बाध्यताको अन्त्य भएको हो ?
नेपालमा चार्टर्ड एकाउन्टेन्ट ऐन नआउँदा भारतमा अध्ययन गर्न जाने प्रचलन थियो। विगत दुई वर्षसम्म पनि धेरै विद्यार्थी भारत जान्थे। अहिले नेपालमा आइक्यान बनेर यहाँ पनि अध्ययन भइरहेकाले विदेश जानुपर्ने बाध्यता छैन। सिए पढ्न भारत जानेको संख्या घटेको छ। नेपालमै सिएको पढाई भएर दक्ष जनशक्ति उत्पादन भइरहेको छ। अहिले नयाँ विद्यार्थी विदेश पढ्न गएका छैनन्। पहिले नै भारत पढ्न गएका र स्वदेशमै अहिले पढिरहने विद्यार्थीको संख्या करिब १० देखि १२ हजार रहेको अनुमान छ। प्रोफेसन कोर्ष भएकाले कुनै पनि संस्था आइक्यानमा दर्ता हुन्छ। आइक्यानमा दर्ता भएपछि पढ्न पाइन्छ। पढ्ने सामग्री उपलब्ध गराउँछ। यसमा चारवटा विषयको एक समूह बनाएको हुन्छ। उदाहरणका लागि कम्पनी जानेको छु कर जान्दिन भन्न पाइँदैन। एउटा विषय फेल भए पूरै विषय दिनुपर्छ। यसकारण पनि सिए विज्ञ भएर निस्किन्छन्।

मुलुकमा अनियमितता बढेको छ, वित्तीय सुशासन कायम गर्न सिएको भूमिका कस्तो हुनसक्छ ?    
अनियमितता रोक्न चार्टर्ड एकाउन्टेन्टको भाइटल रोल हुन्छ। वित्तीय हिसाब राख्ने पहिलो काम व्यवसायीको हो। सिएले लेखापाल, लेखापरीक्षक र कन्सल्टेन्टको भूमिका निर्वाह गर्न सक्छ। तीनवटै भूमिकामा हुने भएकाले लेखाको हिसाब दुरुस्त राख्नुपर्‍यो, लेखाका उपर सही राय दिनुपर्‍यो, गलत छ भने गलत भन्नुपर्छ। चार्टर्ड एकाउन्टेन्टले इन्टरनेस्नल गाइडलाइनको परिपालना गरेर अडिट गर्नुपर्छ। आफ्नो मनमर्जीले अडिट गर्न पाइँदैन। त्यो स्टान्डर्डलाई पालना गर्नुपर्छ। लेखा व्यवसायमा क्वालिफाइड र ननक्वालिफाइड दुवै मान्छे छन्। सिए पढेर विज्ञता हासिल गरेको छ भने ऐन नबन्दाको अवस्थामा अनुभव भएका रजिस्टर्ड अडिटर पनि छन्। भ्रष्टाचार नियन्त्रणमा हामीले भूमिका खेल्न सक्छौं।

सिएका दायित्व र चुनौती के छन् ?
चार्टर्ड एकाउन्टेन्ट स्वतन्त्र छन्। हामीले कम्पनीको वासलातलाई ठिक राख्नुपर्छ। सिएको रिपोर्ट अनुसार कुनै कम्पनीको वित्तीय अवस्थाबारे थाहा हुन्छ। बैंक हो भने लेखापरीक्षण प्रतिवेदनका आधारमा राट्र बैंक, कर कार्यालय लगायत निकायले नियमन गर्छ। हाम्रो रिपोर्ट हेरेर सबैले जजमेन्ट गर्ने भएकाले सिएको भूमिका महŒवपूर्णसँगै चुनौतीपूर्ण पनि छ। सिए राज्य वा सम्बन्धित पक्षको पनि होइन। सबै पक्षको पनि हो। कम्पनी हो भने कम्पनी ऐन अनुसार चले–नचलेको हेर्छौ। बैंक छ भने बैंकिङ ऐन अनुसार छ कि छैन। राज्य वा निजी क्षेत्रका निकायले अडिटरले आफू अनुकूल गरिदिओस् भन्ने चाहन्छन्। सबै निकायका जोखिमपूर्ण कुरालाई रिपोर्टमा उल्लेख गर्नुपर्ने हाम्रो दायित्व छ। विभिन्न चुनौतीका बावजुद सिएले कोट अफ इथिक्समा बाँधिएर रिपोर्ट तयार गर्नुपर्छ। वित्तीय पारदर्शीता कायम गर्न भूमिका खेल्छौं। कम्पनीभित्र कसैले हिनाबिना गरे कि गरेनन् भन्ने विषयमा पनि रिपोर्ट दिनुपर्छ।

यो व्यवसायमा नीतिगत समस्या के छन् ?
हाम्रो पेसाभित्र पनि केही समस्या छन्। रजिस्टर्ड अडिटर र चार्टर्ड एकाउन्टेन्टको संरक्षण गर्नुपर्ने दायित्व आइक्यानको छ। सिए र अडिटरलाई फरक–फरक नियम बनाउन मिल्दैन। तर, सिए नयाँ प्रविधि, विषयवस्तुमा अपटेड छन् भने अडिटरको अवस्था कमजोर छ। दुवै पक्षलाई सँगसँगै लैजाँदा समस्या देखिएका छन्। यसका लागि दीर्घकालीन नयाँ नीति आवश्यक छ। अडिटरको क्षमता बढाउनु पर्नेछ। लेखा व्यवसायमा संलग्न नभएका लाइसेन्स लिएका तर विचौलियाबाट काम गर्ने अवस्था पनि छ। यसको सुधार गर्नुपर्ने छ।

एक्यानको नयाँ योजना के छ ?
चार्डर्ड एकाउन्टेन्ट राष्ट्रिय समृद्धिका साझेदार हुन् भन्ने उद्देस्यले एक्यानले आगामी माघ ७ गते कन्फरेन्स आयोजना गर्दै छौं। कार्यक्रममा अर्थमन्त्री, महालेखा परीक्षक, नेपाल राष्ट्र बैंकका गर्भनर, आइक्यान, निजी क्षेत्रका उद्योगीलाई आमन्त्रण गरेर छलफल गर्दैछौं। राज्यले समृद्धिको नारा लिएकाले यसलाई सार्थकता दिनका लागि सबै पक्षको भूमिकाको विषयमा छलफल गर्छौं। उद्योगीका समस्या के छन्, कसरी समस्या समाधान गर्न सकिन्छ भन्ने विषयमा पनि केन्द्रीत हुन्छौं। आर्थिक समृद्धिका लागि व्यापार घाटा घटाउनु पर्छ निर्यात बढाउनु पर्छ। मुलुक रेमिटेन्सले धानिएको छ। वित्तीय पहुँच बढाउन, नयाँ उद्यमशीलता ल्याउनु पर्ने आवश्यकता छ। वित्तीय पारदर्शिता कामय गर्न हामीले पहल गर्छौं। नयाँ बिजनेस के गर्न सकिन्छ भनेर राज्यले योजना, बजेट निर्माणमा सिएले भूमिका खेल्न र कुशल व्यवस्थापनमार्फत समृद्धिमा साझेदारी गर्न सक्छौं।

प्रकाशित: ६ माघ २०७५ ०६:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App