नारायण प्रकाश भुजु
प्रमुख डिजिटल बैंकिङ अधिकृत माछापुच्छ्रे बैंक लिमिटेड
प्राविधिको क्षेत्रमा २२ वर्षको अनुभव भएका नारायण प्रकाश भुजु तीन वर्षदेखि माछापुच्छ्रे बैंकमा आवद्ध छन् र हाल उनी माछापुच्छ्रेमा प्रमुख डिजिटल बैंकिङ अधिकृतका रुपमा कार्यरत छन् । यसअघि कुमारी बैंकमा १३ वर्ष काम गरिसकेका भुजु नयाँ प्रविधिले बैंकका ग्राहकलाई सहज बनाएको र प्रविधिमा आधारित सेवाहरुको माग ग्राहकमा बढ्दै गएको बताउँछन् ।
बैंकिङ क्षेत्रमा नयाँ प्रविधि भित्रिने क्रम जारी छ । हातको मोबाइलबाट नै एक व्यक्तिले त्यही बैंकमा रहेको अर्को व्यक्तिको खातामा र अर्को बैंकको खातामा रकम पठाउन (ट्रान्सफर) गर्न सकिने भएकाले समय र खर्चको पनि बचत हुन थालेको उनी बताउँछन् । मोबाइलबाटै बिजुली, खानेपानी, मोबाइल बिललगायत सबै काम गर्न सकिने भएकाले पछिल्लो समय मोबाइल बैंकिङ निकै फष्टाएको भुजुको भनाइ छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार ३० लाखभन्दा बढी सेवाग्राहीले मोबाइल बैंकिङ सेवा लिइरहेका छन् । यो आगामी वर्षमा झन बढदै जाने भएकाले बैंकहरुले मोबाइल बैंकिङलाई जोड दिन थालेको भुजु बताउँछन्।
बैंकिङ क्षेत्र त्यसमा पनि प्रविधिबारे दुई दशकभन्दा बढी अनुभव बटुलिसकेका भुजुसँग बैंकहरुले भित्र्याएका नयाँ प्राविधि, त्यसले ग्राहक तथा बैंकलाई पुर्याएको फाइदा, नयाँ प्राविधिले ल्याएका चुनौती, मोबाइल बैंकिङ, शाखारहित बैंकिङ सेवा लगायत विषयमा नागरिकका विष्णु बेल्वासेले गरेको संक्षिप्त कुराकानी :
बैंकिङ क्षेत्रमा नयाँ प्रविधि भित्रिने क्रम जारी छ । के कस्ता प्रविधिमार्फत बैंकले ग्राहकलाई सुविधा दिइरहेका छन् ?
पछिल्लो समय बैंकहरुले डिजिटल बैंकिङमा बढी ध्यान दिन थालेका छन् । बैंकले इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, शाखारहित बैंकिङ, डेबिट तथा क्रेडिट कार्डको प्रयोग, पिओस मेसिनलगायतबाट ग्राहकलाई बैंकिङ सेवा दिइरहेका छन् । नयाँ प्र्रविधिले बैंकलाई मात्र होइन, ग्राहकलाई समेत सेवा पुगेको छ । ग्राहकको समय र लागत दुवै घटेको छ । हाल बैंकहरुले विभिन्न माध्यमबाट प्रविधिको सहयोगमा २४ घन्टा जहाँबाट पनि बैंकिङ कारोबार गर्न सक्ने सुविधा प्रदान गरिरहेकाले नगद नै बोकेर बस्नु पर्ने बाध्यता अन्त्य गरिदिएको छ भने नगद बोकेर हिँड्दा हुने सम्भावित जोखिममा कमी ल्याउने काममा नयाँ प्रविधिले सहयोग गरेको छ ।
नयाँ प्रविधिले बैंकिङ क्षेत्रमा सेवा सुविधासँगै चुनौती पनि थपेको छ भनिन्छ । वास्तवमा बैंकहरुलाई चुनौती थपिएकै हो ?
नयाँ प्रविधिले अवसर र चुनौती दुवै ल्याउने गर्छ । नयाँ प्रविधि एउटा सिक्काका दुईटा पाटा जस्तै हो । प्रविधिलाई सावधानीपूर्वक प्रयोग गर्न सके यसले सहजता ल्याउँछ । प्रविधिले सक्दो सुविधा पनि दिन्छ र जोखिम पनि निम्त्याउन सक्छ । अहिले ग्राहकको मागअनुसार प्रविधियुक्त सुविधा बिना रोकटोक २४ घन्टा प्रदान गर्नु वास्तवमा चुनौती नै छ । बैंक सक्षम भएर पनि देशमा पूर्वाधारको कमीकमजोरीले पनि बेलाबखत समस्याहरु देखिएको र कति ठाउँमा सुविधा पुर्याउन नसकेको अवस्था पनि छ ।
पछिल्लो समयमा बैंकिङ प्रणालीमा ह्याकिङको समस्या डरलाग्दो किसिमको छ, यस्तो समस्याबाट कसरी बच्न सकिन्छ ?
पछिल्लो समय केहि बैंकमा ह्याकिङको समाचार आएको हो तर, नेपालमा अहिलेसम्म ह्याकिङबाट ग्राहकको सूचना र पैसा चोरी भएको समाचार सुन्नमा आएको छैन ।
प्रविधि प्रयोग गर्दा अपनाउनु पर्ने सजगतामा चेतनाको अझै पनि कमी छ र चेतनास्तर वृद्धि गर्नु पर्ने टड्कारो आवश्यकता छ । नयाँ प्रविधि प्रयोग गर्दा आउने चुनौती र समाधानका उपायबारे बैंंक कर्मचारी र ग्राहकलाई प्रशिक्षण दिनु आवश्यक छ । अर्को पक्ष भनेको बैंकले प्रविधि सँगसँगै साइबर सेक्युरिटीमा पनि लगानीका साथै दक्ष जनशक्ति बढाउँदै लानुपर्छ । र बैंकले आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त दुरुस्त बनाउनु पर्छ।
नेपालको बैंकिङ क्षेत्र सुरक्षित छैनन् भनिन्छ नि । वास्तवमै असुरक्षित छन् त ?
नेपालका बैंकिङ क्षेत्र सुरक्षित नै छन् । छिटपुट घटना घटेका छन् तर ग्राहकको खाताको पैसा अरुको खातामा लाने वा चोरीजस्ता घटना घटेका छैनन् । अहिले बैंकहरुले प्रदान गर्दै आइरहेको सुविधावाट आफ्नो खातामा भएको पैसा मात्र निकाल्न वा अरुको खातामा पठाउन मात्र सकिने हो, अरुको खाताको पैसा तानेर लिन सकिँदैन र त्यस्तो कारोबार गर्न पनि बैंकले दुइटा पासवर्ड प्रयोग गर्नुपर्ने बनाएकाले पनि यो सुरक्षित नै छ ।
यस्तो कारोबार बैंकभित्रका ग्राहकबीच मात्र हुने भएकाले केही भएमा तुरुन्तै पत्ता लगाउन सकिन्छ । बैंकमा खाता खोल्दा ग्राहकले व्यक्तिगत विवरण (केवाइसी) भर्नुपर्ने भएकाले पनि ग्राहक पहिचानमा समस्या धेरै आउँदैन् । अतः बैंकले दिएको निर्देशनअनुसार अलि सचेत भएर कारोबार गर्ने हो भने यो पूर्णतया सुरक्षित छ।
एक व्यक्तिको एटिएम कार्ड दुरुपयोग गरेर अर्काले एटिएम मेसिनबाट पैसा निकाल्ने गरेका घटना पनि आइरहन्छन् । यसमा तपाईंको भनाइ के छ ?
नेपालको बैंकिङ प्रणाली (सिस्टम) नै कमजोर भएर एटिएमबाट रकम निकालेका होइनन् । यस प्रकारका घटना एक–दुइटा बाहेक प्रायजसो विदेशीहरुको संलग्नतामा भएका हुन् । नेपालमा भएको पछिल्लो घटनामा पनि विदेशी समातिएका थिए । उनीहरुले बाहिरबाट डुप्लिकेट एटिएम कार्ड बनाएर लिएर आएको र नेपालमा पैसा निकालिएको अवस्थामा पक्राउ परेका हुन् । यस्तो समूहले एटिएम बुथभित्र कार्ड सिक्किमिङ मेसिनको प्रयोग गरेर कार्डको डाटा चोरी गर्ने र क्यामेराबाट पिन नम्बर चोरी गर्ने गर्छ ।यस प्रकारको जोखिमलाई न्यूनीकरण गर्न अहिले बैंकहरुले नयाँ चिप कार्ड प्रयोगमा ल्याउन थालेका छन् । चिप भएको कार्डबाट डाटा चोर्न कठिन हुने भएकाले साधरणतया चिप कार्ड बढी सुरक्षित हुन्छन् ।
त्यसो भए एटिएम कार्डबाट पैसा निकाल्दा सतर्क हुनुपर्ने भयो होइन न त ?
सतर्क त हुनु नै पर्यो नि । ग्राहक र बैंक दुवै सचेत हुनु जरुरी छ । एटिएम कार्डको पिन नम्बर अर्कोले देखिने गरी नथिच्ने, समय समयमा पिन नम्बर परिवर्तन गर्ने, अरुलाई पिन नम्बर नदिने जस्ता कुराहरु मा सतर्क हुन जरुरी छ । यदि आफ्नो कार्ड चिप कार्ड होइन भने तुरुन्तै चिप कार्डमा परिवर्तन गर्न जरुरी छ ।
एटिएम कार्डको पासवर्ड चोरी गर्ने सम्भावना कति हुन्छ त ?
ग्राहकले सावधानी अपनाए एटिएम कार्डको पासवर्ड चोरी हुने सम्भावना हुँदैन । वास्तविक एटिएम कार्ड प्रयोग गर्ने ग्राहकले आफ्ना छोराछोरी, कामदार लगायतलाई एटिएम कार्ड र पासवर्ड दिने गर्नाले पनि बेलाबेलामा समस्या आउने गरेको हो । त्यस्तै पासवर्ड नबिर्सन एटिएम कार्डसँगै पाासवर्ड लेखेर राख्ने गर्नाले पनि एटिएमको दुरुपयोग भएको घटनाहरु छन् ।
पछिल्लो समयमा मोबाइल बैंकिङको अवधारणा बैंकले ल्याइरहेका छन् । मोबाइलबाटै बैंकिङ सेवा दिने काम कत्तिको प्रभावकारी बन्दै छ ?
मोबाइलबाटै सम्पूर्ण बैंकिङ कारोबार गर्न सकिने भएकाले मोबाइल बैंकिङको अवधारणा आएको हो । आजकल मोबाइलबाटै रकम हस्तान्तरण (फन्ड ट्रान्सफर) गर्न, बत्तीको बिल तिर्न, मोबाइलको पैसा तिर्न लगायत काम मोबाइलबाटै गर्न सकिन्छ । बैंकमा नगई मोबाइलबाटै सम्पूर्ण काम गर्न सकिने भएकाले मोबाइल बैंकिङको चलन बढेको हो । अहिले प्रत्येक व्यक्तिको हातहातमा बैंक छ । करिब तीन कारोड जनसंख्यामध्ये हाल एनटिसी र एनसेल दुवैसँग डेढ करोडभन्दा बढी प्रयोगकर्ता भइसकेकाले जनतासामु बैंकिङ सुविधा पुर्याउन मोबाइल सहज माध्यम तथा प्रभावकारी बन्दै गएकोे हो ।
मोबाइल बोक्ने सवैले त मोबाइल बैंकिङको काम त गर्दैनन् होला नि ?
कतिले नेपाल राष्ट्र बैंककोे तथ्यांकअनुसार करिब ३० लाख ग्राहकले मोबाइलबाटै बैंकिङ सेवा लिइरहेका छन् । पछिल्लो समय मोबाइल बैंकिङको आकर्षण बढेको छ । मोबाइल बैंकिङ सेवा लिने ग्राहक बढेका छन् । ग्राहकको मागअनुसार बैंकले पनि त्यही अनुसारको सेवा दिइरहेका छन् । सहर र गाउँ जहा पनि मोबाइल बैंकिङको चर्चा परिचर्चा हुन थालेको छ । पछिल्लो समय नगदरहित समाज बन्दै गएको छ ।
नयाँ प्रविधिको प्रयोगबाट के कस्तो फाइदा हुन्छ ?
नयाँ प्रविधिको प्रयोगबाट ग्राहकहरुले नयाँ नयाँ सुविधाहरु पाइन्छ भने घरमै बसेर बैंकिङ कारोबार गर्न सक्ने वातावरण बनाउँछ । साथै ग्राहकलाई कारोबार गर्दाको लागत र समयको बचत हुन्छ । यसले ग्राहकलाई नगद लिएर हिँड्नु पर्ने अवस्थाबाट मुक्त गरेको छ र आफूले चाहेका बेला जहाँबाट पनि २४ घन्टा नै बैंकिङ कारोबार गर्न सक्ने अवस्था बनाइदिएको छ ।
बैंकलाई सीमित स्रोत र साधनबाट बढीभन्दा बढी ग्राहकलाई सुविधाहरु प्रदान गर्न सक्ने क्षमता दिलाएको छ र बैंकिङ सुविधाबाट बञ्चित ग्राहकलाई दुर्गम क्षेत्रबाट बैंकिङ कारोबार गर्न सक्ने अवस्थाको सिर्जना गरेको छ।
हालसालै नेपाल राष्ट्र बैंकबाट विद्युतीय कारोबारबारे नयाँ निर्देशन जारी भएको छ, यसबारे तपाईंको प्रतिक्रिया कस्तो छ ?
नेपाल राष्ट्र बैंकबाट जारी भएको नयाँ निर्देशनले केही तहमा विद्युतीय कारोबारलाई व्यवस्थित गर्न खोजेको छ भने कतै नियन्त्रण गर्न खोजेको पनि देखिन्छ । हाल बैंकहरु नगदरहित बैंकिङ सेवा प्रदान गरिरहेको अवस्थामा यस नयाँ निर्देशनले सम्भावित जोखिम घटाउन कही कही कारोबारको सीमा तोकिदिएको छ जसलाई राष्ट्र बैंकले समय सापेक्षरुपमा परिमार्जित गर्दै जाने छ भन्ने कुरामा म विश्वस्त छु ।
प्रकाशित: ११ जेष्ठ २०७५ ०२:२४ शुक्रबार