अर्थविद् सुजीव शाक्य आफ्नो नयाँ पुस्तक अर्थात् अर्थतन्त्र’ लिएर पाठकमाझ आएका छन् । ‘नेपाल आर्थिक मञ्च’का अध्यक्ष समेत रहेका शाक्यले यसअघि अंग्रेजी भाषामा ‘अनलिसिङ नेपाल’ लेखिसकेका छन्।नेपालयबाट प्रकाशन हुन लागेको ‘अर्थात् अर्थतन्त्र’ आज शनिबार विमोचन हुँदै छ । यस पुस्तकबारे लेखकसँग नागरिक सहकर्मी सन्तोष न्यौपानेले गरेको कुराकानी :
पुस्तकको नामलाई ‘अर्थात् अर्थतन्त्र’ नै किन रोज्नुभयो ?
नामको विषयमा छलफल गरिरहेका थियौँ । विभिन्न नाम आएका थिए । आखिर सबै विषय अर्थतन्त्रमै गएर अड्किन्छ । राजनीतिक, सामाजिक घटनाक्रम सबै अर्थतन्त्रसँग जोडिएका छन् । जुनै पनि विषय अर्थतन्त्रसँग जोडिने भएकाले पुस्तकको नाम ‘अर्थात् अर्थतन्त्र’ राखिएको हो।
अर्को ट्याग लाइन छ– नेपाली इलम र उद्यमको यात्रा । मलाई यो इलम भन्ने शब्द साह्रै मिठो लाग्छ । मेरो आफ्नो इलम र उद्यमको यात्रालाई मुलुकको इलमसँग जोड्दै पुस्तकको नाम ‘अर्थात् अर्थतन्त्र’ राखिएको हो।
पुस्तकमा अर्थतन्त्रका के के पक्ष उल्लेख गर्नुभएको छ ?
नेपाली अर्थतन्त्रको विषयमा लेखिएका पुस्तक धेरै कम पढ्न पाइन्छ । हामीले कति दातृसंस्थाको रिपोर्टलाई नेपालीमा अनुवाद गरेको पढ्न पाउँछौँ । कति राजनीतिक धारबाट लेखिएका किताब पनि छन् । सरसर्ती हेर्दा युवा पिँढीले नेपाली अर्थतन्त्रबारे विस्तृत पढ्न पाएका छैनन्।
मुलुकको अर्थतन्त्रको इतिहास के हो, राजनीतिक घटनाक्रमसँग अर्थतन्त्र कसरी जोडिएको छ, हामी कसरी यहाँसम्म आइपुग्यौँ, यिनै विषय समेटिएको छ, पुस्तकमा । त्यस्तै, अर्थतन्त्रसँग जोडिएका पक्षहरू सरकार, निजी क्षेत्र, दातृ निकाय जस्ता तत्वले के गरे, यसका उपलब्धि र कमी–कमजोरी के छन्, यसलाई हेर्ने प्रयास गरिएको छ।
पुस्तकको अन्तिम खण्डमा मुलुकको अर्थतन्त्रलाई के गर्न सकिन्छ भन्ने बाटो देखाउन खोजिएको छ । मैले मुलुकमा २० वर्षदेखि गर्दै आएको इलम, उद्यमको अनुभव र अध्ययनका आधारमा यो पुस्तक तयार पारेको हुँ । मैले रुवान्डा, कम्बोडिया, म्यानमार, भुटान लगायत मुलुकमा काम गर्ने अवसर पनि पाएको छु । त्यहाँको अनुभव र बुझाइ पनि पुस्तकमा समेट्ने प्रयास गरेको छु ।
अंग्रेजी भाषामा किताब प्रकाशित भइसकेको छ, अंग्रेजी पत्रपत्रिकामा स्तम्भकार पनि लेख्नुहुन्छ, अहिले नेपालीमा लेख्नुको कारण ?
धेरै नेपाली भाषाका पाठकसमक्ष जानका लागि नै मैले यो पुस्तक नेपालीमा लेखेको हुँ । आमपाठकले नै नेपाली अर्थतन्त्रबारे बुझ्न आवश्यक छ । हामी अहिले संघीयतातिर पनि गइरहेका छौँ । यस्तो अवस्थामा सम्पूर्ण नेपालीले यसको सम्बन्धित अर्थतन्त्र बुझ्न आवश्यक छ ।
सरकारी कर्मचारी, नागरिक समाजका व्यक्ति लगायत आमपाठकको पहुँचमा पुग्न नेपाली भाषा उपयुक्त होला भन्ने लाग्यो ।अर्को, युवा पाठकसमक्ष पुग्ने मेरो चाहना हो । नेपाली अर्थतन्त्रलाई युवाले बुझ्नुपर्छ । अर्थशास्त्र बुझ्न गाह्रो विषय हो । हामीले जिन्दगीको वासलात के हो, नाफा–नोक्सान के हो भनेर हेर्ने हो । हाम्रो जिन्दगीको वासलात ठीक भयो भने मुलुकको पनि ठीक हुन्छ ।
पुस्तकमा पृथ्वीनारायण शाहको समयदेखि अहिलेसम्मको अर्थतन्त्र केलाएको देखिन्छ । यति लामो समयको अर्थतन्त्रलाई केलाउन के कति मेहनत लाग्यो ?
यो किताब तयार गर्न धेरै समय लागेको छ । नेपालीमा किताब लेख्छु भनेको त आठ–नौ वर्ष अघिदेखि नै हो । यसमा प्रकाशकको सहयोग छ । पत्रकार मैना धितालले पनि यसमा सहकार्य गर्नुभएको छ । नेपालको अर्थतन्त्रको यात्रा हेर्दा धेरै इन्ट्रेस्टिङ पक्ष छन्।
नेपाली अर्थतन्त्रबारे उल्लेख गरिएका स्रोत खोज्न गाह्रो भयो । मैले पुनारा पिँढीहरू, जस्तो स्मेरो हजुरबुबाले सुनाएका कुरालाई पनि आधार बनाउनुप¥यो । अर्थतन्त्रबारे नेपालीमा त्यति धेरै लेखिएको छैन । नेपालीमा लेखिएको भए पनि त्यसको मूल स्रोत खोज्दै जाँदा कुनै विदेशीले लेखेको किताबसम्म पुगिन्छ।
रूपनारायण सिंहको भ्रमण पढ्यो भने त्यो बेलाको अर्थतन्त्रको परिपाटी बुझ्न सकिन्छ । भारतमा बस्ने नेपालीको अवस्था कस्तो थियो भनेर बुझ्न सकिन्छ । नेवारी इतिहासबाट पनि अर्थतन्त्र कसरी सुरु भयो भनेर बुझ्न सकिन्छ । राणाशासन आएपछि कसरी नेवार समुदायलाई असर ग¥यो भन्ने बुझ्न सकिन्छ । अग्रजहरूले लेखेको आत्मकथाबाट पनि नेपाली अर्थतन्त्रलाई बुझ्न सकिन्छ ।यो किताब लेख्ने क्रममा कमलमणि दीक्षित, प्रभाकर राणा, सत्यमोहन जोशीजस्ता विज्ञसँग संगत गर्ने मौका पाएँ । त्यो बेलाको समाज बुझ्न सहयोग मिल्यो।
पुस्तकमा नेपाली अर्थतन्त्रलाई फरक ढंगले केलाइएको छ भन्नुभएको छ, त्यो कसरी ?
पुस्तकमा इतिहास केलाउने मात्र होइन, यसको सिकाइबाट कसरी हाम्रो अर्थतन्त्रको काँचुली फेर्न सकिन्छ भनेर पनि हेरिएको छ । किताबको एक खण्ड अर्थ विकासमा के गर्न सकिन्छ भन्नेमै केन्द्रित छ।
नेपालमा राजनीतिक परिवर्तनमा हामी धेरै लाग्यौँ, परिवर्तन पनि धेरै भइसकेको छ । नेपालीको जनसंख्या संसारभर बढेको छ । नेपालीको चाहना, इच्छा, आकांक्षा बढेका छन् । त्यसलाई हामीले राजनीतिक कारण देखाएर छोप्न खोजेका छौँ । यसलाई आर्थिक पक्षबाट हेर्नुपर्छ । साथै, राजनीतिक स्थिरता भयो भने कहाँसम्म जान सकिन्छ र यसले साँच्चिकै आर्थिक सुधार ल्याउन सक्छ त ? वा, जिम्बाबेको जस्तो हुन सक्छ भनेर दुवै पक्षबाट हेरिएको छ ।
पृथ्वीनारायण शाहको शासनमा अर्थनीति कस्तो पाउनुभयो ?
हामीले पहिलो परिच्छेदमा एकलकाँटे नेपाल भनेर यसको विश्लेषण गरेका छौँ । त्यो बेलाको आर्थिक नीति एकलकाँटे थियो । विदेशी सामान नल्याउने, आफ्नो मात्र प्रयोग गर्ने भन्ने थियो । त्यो बेला सामाजिक संरचना पनि त्यस्तै किसिमको थियो।
राणाहरूले बेलायतबाट पानीको पम्प ल्याउन खोज्दा ‘गोरुको मासु खाने’ले चलाएको पम्पको पानी खानु हुँदैन भन्ने चलन थियो । जंगबहादुर आफैँ बेलायतबाट फर्कंदा उनलाई तीर्थ गराएर भित्र्याएको भेटिन्छ।एकलकाँटे नीतिले गर्दा हाम्रो मुलुक विश्वसँग अलग रह्यो । स्कुलमा दुई सय वर्षको शाह इतिहास पढाउँदा पृथ्वीनारायण शाहले गजबै गरे भनेर पढाइयो । तर, त्यो हो कि होइन भन्ने यो पुस्तकमा केलाउन खोजिएको छ । शाह वंश अन्त्य भइसकेपछि यसरी लेखिएको पुस्तक सायद पहिलो होला !
मुलुकको अर्थतन्त्र बुझ्न आवश्यक धरोहरबारे जान्नुपर्छ भन्नुभएको छ, अर्थतन्त्रका त्यस्ता धरोहर के हुन् ?
यसको अर्थ अर्थतन्त्रको यात्रामा जोडिन आउने सारथीहरू के के हुन् भन्ने हो । एकातिर अर्थतन्त्रको सबैभन्दा जिम्मेवार निकाय राज्य, अर्कोतिर निजी क्षेत्र र दातृसंस्था छन् । यी तीन पक्षले हाम्रो अर्थतन्त्रमा के भूमिका खेले त ? उपलब्धि के भयो ? त्यतातिर हेर्नुपर्ने हुन्छ ।
पुस्तकमा नेपाली भूमिमा कसरी विदेशी सहयोग र भारतीय व्यापारीको प्रवेश भयो भन्ने उल्लेख छ, यसलाई प्रस्ट्याइदिनुहुन्थ्यो कि ?
पृथ्वीनारायण शाह कालपहिले त नेपाल एक फस्टाएको देश थियो, विशेषगरी काठमाडौं उपत्यका । तिब्बतका सिक्का नेपालमा मुद्रण गरिन्थ्यो । त्यसरी पैसा कमाएकाले यति ठूला दरबार बने । त्यति बेला पनि तिब्बती, चिनियाँ र भारतीय व्यवसायी आउने क्रम चलेको थियो । विशेषगरी काठमाडौं उपत्यकामा नेवारहरूको आफ्नो छुट्टै व्यवसाय थियो । पछि भारतीय मूलका नागरिक भित्रिए । नेपालबाहिर ब्रिटिस साम्राज्य थियो, जोसँग हामीले युद्ध हारेका थियौँ । ८६ हजार किलोमिटर भूमि नेपालले छाड्नुपर्यो।
प्रथम र दोस्रो विश्वयुद्धपछिको अवस्थामा विश्वकै अर्थतन्त्र मुख्य त सैनिकसँग सम्बन्धित हुन्थ्यो । अन्य मुलुकलाई दिने सहायता भनेको ‘मिलिट्री स्टार्टेजी’मा भर पथ्र्यो ।त्यो बेला नेपालीको चाहना र आकांक्षा खासै ठूला थिएनन् । जनसंख्या पनि कम थियो । त्यो बेला दैनिक जीवन चलाउन नगद पैसा चाहिँदैनथ्यो । वस्तु विनिमयबाट अर्थतन्त्र चल्थ्यो । राष्ट्र बैंक स्थापना भएकै धेरै भएको छैन । पैसाको चलन नै पछि मात्र चलेको हो । यसरी हेर्दा नेपाली अर्थतन्त्रको इतिहास नै धेरै देखिँदैन ।
नेपाली अर्थतन्त्रलाई ‘खिचडी’ अर्थतन्त्र भन्नुभएको छ, यसो तात्पर्य ?
यसको अर्थ ‘मिक्स इकोनोमी’ भनेको हो । न हामीले पूर्णरूपमा पुँजीवाद अपनायौँ, न त समाजवाद । भारतमा नेहरूको पालाको अलिअलि पुँजीवाद र अलिअलि समाजवाद जस्तो छ, हाम्रो अहिलेको अर्थतन्त्र । हामी अहिले बीचमा अड्केका छौँ।
हाम्रो रणनीति के हो र अर्थतन्त्रलाई कुन दिशातिर लैजाने भन्ने स्पष्ट भएन । मुलुकको लामो इतिहासमा सबै किसिमका व्यवस्था भोगिसकेका छौँ, तर कुन अर्थनीति लिने भनी कहिल्यै स्पष्ट हुन सकेनौँ ।
मुलुकमा प्रजातन्त्र आएपछि खुला राजनीति र खुला अर्थतन्त्रको दुरुपयोग गर्दै धेरै व्यावसायिक संस्था वा व्यक्तिमा राजनीतिक सम्बन्ध हाबी भयो, सिन्डिकेट भयो, घुसखोरी भयो भन्ने विषयलाई पुस्तकमा उल्लेख गर्नुभएको छ । के नेपाली अर्थतन्त्रमा नकारात्मक पक्ष धेरै नै भएको हो ?
कुनै पनि व्यवस्थालाई राम्रो र नराम्रो दुवै तरिकाबाट प्रयोग गर्न सकिन्छ । इलम र उद्यमको वातावरण बनाउनुभन्दा पनि यसमाथि नै राजनीतिकरण धेरै गर्यौँ । विभिन्न संघ बनाइयो, तर दुरुपयोग गरियो । पदको लोभ धेरै भयो । स्वयंसेवक बनेर जानुपर्ने संघ–संस्थाको चुनावमा करोडौँ रुपैयाँ खर्च गर्नुको अर्थ के त ? यसबाट फाइदा नै बढी खोजियो ।अहिले सिन्डिकेटको चर्चा पनि छ । यस्तो अवस्थालाई ठीक समयमा सम्बोधन गरेको भए अहिले यो समस्या आउने नै थिएन । ठगी गर्नेको चक्रव्यूहमा मुलुक फस्यो।
आम नेपालीमध्ये एक प्रतिशत मात्र पुँजी बजारमा संलग्न छन् भन्नुभएको छ । यसको अर्थ ?
यसको अर्थ हाम्रो झन्डै तीन अर्ब जनसंख्यामध्ये लगानी, अर्थतन्त्रसँग कति संलग्न छौँ भन्ने नै हो । उदाहरणका रूपमा हेर्दा सेयर बजारमा कति नेपाली सहभागी छन् । यसले पनि पुँजी बजारमा सहभागिताको आकार देखाउँछ । विकसित मुलुकमा हेर्ने हो भने जनसंख्याको ठूलो भाग लगानी बजारमा संलग्न भएको देखिन्छ । हाम्रोमा चलन जग्गा किन्ने र राख्ने चलन छ ।
यी समस्या हुँदाहुँदै पनि हाम्रो अर्थतन्त्रको सकारात्मक पक्ष के छ ?
हामीसँग ठूलो जनसंख्या र जनशक्ति छ । नेपालीसँग सहनशीलता धेरै छ । जनयुद्ध, प्राकृतिक प्रकोप, भूकम्प धेरै भोग्यौँ, तर हामी कहिल्यै निराश भएनौँ । नेपालीलाई विश्वमै विश्वास गर्छन् । यो नेपालीमा भएको ठूला सम्पत्ति हो । हामीले यसलाई सेवा उद्योगमा प्रयोग गर्न सकिन्छ।
केही क्षेत्रमा सफलता पनि पाएका छौँ । पर्यटन क्षेत्रमा गजबको विकास गरेका छौँ । विभिन्न क्षेत्रमा विकास भएको छ, तर यसमा दिगोपन कसरी ल्याउने भन्ने चुनौती छ । हामी नयाँ पहिचान बनाउन सकिने अवस्थामा छौँ ।कृषि, जलविद्युत्, पर्यटन र सेवालाई केन्द्रबिन्दु बनाएर काम गर्नुपर्छ । यी पक्षलाई कसरी विकास गर्न सकिन्छ भन्ने नीति हुनुपर्छ । यसका साथै, हाम्रो सोचलाई फराकिलो बनाउन आवश्यक छ । हामी सानो देश भनेर सानो मन बनाउनुपर्ने अवस्था छैन । हाम्रोजस्तै अन्य मुलुक विश्वका अग्रपंक्तिमा छन् । हामी दुई ठूलो देशबीचको ‘ल्यान्डलक’ भन्दा पनि ल्यान्डलिंकमा छौँ । यी सबै विषयमा सकारात्मक सोच हुनुपर्छ भन्ने कुरा किताबले औँल्याएको छ ।
प्रकाशित: २९ वैशाख २०७५ ०२:४२ शनिबार