११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्तर्वार्ता

अप्ठ्यारोबीच विकासको गोरेटो तयार पार्नु छ

नेपालको संविधान २०७२ जारी भएको दुई वर्ष बितिसक्दा कार्यान्वयनको सुरुवातमै छ । सोही संविधानअन्तर्गत संघीयताको नयाँ अभ्यास हुँदैछ । लामो समयदेखि उठ्दै आएको संघीयताको मुद्दा सम्बोधनसँगै जनताले समृद्धिको सपना देख्न थालेका छन् । अन्य सबै प्रदेशभन्दा तुलनात्मक रूपमा पछि परेको र प्राकृतिक स्रोतसाधनको कमी रहेको प्रदेश २ ले पनि स्वभाविक रूपमा समृद्धिको बाटो पहिल्याउँदैछ । पहिचानवादी आन्दोलनको नेतृत्व हाँक्ने संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत यस प्रदेशका मुख्यमन्त्री चयन भएका छन् । प्रदेश विकासको अजेन्डा र चुनौतीबारे मुख्यमन्त्री राउतसँग नागरिककर्मी सुरेश यादवले गरेको कुराकानी :

लामो आन्दोलनपछि प्रदेश मुख्यमन्त्री चयन हुनुभयो, कस्तो महसुस भइरहेको छ ?
ठूलो चुनौती देखिरहेको छु । तर, अवसर पनि छ । प्रदेश निर्माणमा अगुवाको भूमिका निर्वाह गर्ने अवसर पाएको छु । यो भूमिकालाई इतिहासले मलाई सम्झिरहनेछ । निर्माणको चरणमा रहेको प्रदेशलाई व्यवस्थित र विकसित गर्न ठूलो चुनौती छ, संघर्ष गर्नुपर्ने हुन्छ र म त्यो संघर्ष र चुनौतीलाई उद्देश्य प्राप्तीका लागि अवसरमा बदल्नेछु । उत्साहित छु तर गम्भीर पनि छु । सबै पक्ष र निकायको सहयोग पाए राम्रै गर्नेछु जस्तो लाग्छ । 
 
समृद्धिमा नमूना प्रदेश निर्माण गर्ने उद्घोष गर्नु भएको छ, रोडम्याप कस्तो बनाउनु भएको छ ?
नेपालको संविधानले दिएको अधिकारलाई टेकेर प्रदेशको ऐन, कानुन बनाउनुछ । प्राप्त अधिकारलाई प्रभावकारी ढंगले सदुपयोग गर्न ऐन, कानुन बनाउने तयारीमा छौं । यी काम गर्न चुनौती त छ तर, अप्ठ्यारोलाई चिरेरै विकासको गोरेटो तयार पार्नुछ । र, मलाई विश्वास छ हामी सक्छौं । यस कार्यमा सबैको सहयोगको आवश्यकता महसुुस गरिरहेको छु । 

हुलाकी राजमार्ग, कृषि क्षेत्रमा आधुनिकीकरण, सिँचाइको व्यवस्थालगायत धेरै काम गर्नुपर्ने देखिन्छ, सो अनुसारको स्रोतसाधन भने देखिदैन । जनतालाई बाँडेको सपना पूरा गर्न कति सहज छ ? 
ठूलो चुनौती छ । तर, उपलब्ध स्रोतसाधनलाई पनि प्रभावकारी किसिमले उपयोग गर्न सकिए सम्भव छ । थप स्रोतसाधनका लागि संघीय सरकारमाथि निर्भर हुनुपर्ने बाध्यता छ । यद्यपि, स्थानीय कर र साधनस्रोतलाई पहिचान गरी उपयुक्त किसिमले परिचालन गर्नुपर्ने हुन्छ । साथै, दातृ संघ, संस्था र मुलुकहरूसँग पनि समन्वय गरी आवश्यक सहयोग लिएर प्रदेशको विकासमा जुट्ने योजना बनाइरहेका छौं । केही ठाउँबाट सहयोगको आश्वासन पनि आएका छन् । इमान्दारीसाथ उच्च मनोबल लिएर अघि बढे हुलाकी सडकदेखि भौतिक पूर्वाधारका सबै विकास निर्माणका कार्य पूरा गर्न सकिनेमा म विश्वस्त छु । 

तत्काल जनतालाई प्रदेश सरकारको उपस्थिति अनुभूति गराउन कस्तो कदम चाल्दै हुनुहुन्छ ?
यो प्रदेशमा सुशासन कायम गर्नु पहिलो प्राथमिकता हो । यस भेगको सबैभन्दा ठूलो रोग नै ढिलासुस्ती र अनियमितता हो । समयमा काम नगर्ने, सरकारी सेवा सुविधा उपभोग गर्ने तर काममा इमान्दारी प्रदर्शन नगर्ने नराम्रो प्रवृत्तिको विकास भएको छ । जुन विकासको सबैभन्दा ठूलो बाधकको रूपमा देखिएको छ । त्यसैले सबभन्दा पहिले सुशासन कायम गर्न केन्द्रित हुन्छु । यसका लागि कडाइको साथ प्रस्तुत हुनेछु । यद्यपी, हरेक कार्य शून्यबाट सुरु गर्नुपर्ने अवस्था छ । प्रदेशको प्रशासन र सुरक्षा निकायलाई प्रभावकारी परिचालनका लागि पहल गर्दैछु । आफ्नो स्तरबाट संविधान र कानुनलाई टेकेर गर्न सकिने हरेक कार्यको लागि गम्भिर छु । राज्य सञ्चालनको विधि प्रक्रिया सबै नयाँ छ । कर्मचारी कहाँ बस्ने, मन्त्री कहाँ बस्ने ? कुनै ठाउँको टुंगो लागिसकेको छैन । यो सबै व्यवस्थापन गर्दै अघि बढ्नुछ । यद्यपी केही महिनाभित्रै जनताले सुशासनको अनुभूति गर्नुहुनेछ भन्नेमा विश्वस्त छु । 

समान्य बहुमतको आधारमा बनेको सरकारको नेतृत्व गर्दै हुनुहुन्छ । विश्वासको मत पाउन बाँकी छ, अन्य दलहरूलाई कसरी समेट्नुहुन्छ ?
हो, हामीसँग समान्य बहुमत छ । तर यो ठाउँको विकास गर्न सबैको सहयोग आवश्यक छ । सबैले सहयोग गर्ने विश्वास लिएर अघि बढेको छु । उहाँहरूले सहयोग गर्ने विश्वास पनि दिलाउनु भएको छ । मूल कुरो जनताको म्यान्डेटलाई बुझेर अघि बढ्नुपर्ने हुन्छ । सत्ताको छिनाझप्टीमै समय खेर फाल्नु हामी सबैको लागि दूर्भाग्य हुनेछ । अन्य दलका साथीहरूले पनि प्रदेश विकासका अजेन्डा केन्द्रित गरी अघि बढ्नुपर्ने हो । यतिका दिन एकले अर्काको खुट्टा तान्ने प्रवृत्तिलाई प्रोत्साहन हुने राजनीति भयो र त्यसैको प्रतिफलस्वरूप हामी पछि परेका छौं । अगामी दिनमा सकारात्मक राजनीतिको वातावरण निर्माण गर्नुछ। 

लामो समय आन्दोलन गर्नुभयो । त्यसबेला तपार्इंहरूको विपक्षमा रहेका दलहरू अहिले पनि प्रतिपक्षमै छन् । उनीहरूको कसरी सामना गर्नुहुनेछ ?
आन्दोलनको विरोधमा कुनै कालखण्डमा केही पार्टी थिए, त्यसबेलाको कुरालाई अहिले उचाल्नुको तुक छैन । विगतमा कसले के गरे, के भने त्यो आफ्नो ठाउँमा छ । तर, विकास र समृद्धिका लागि सबैले एकअर्कासँग हातेमालोगरी अगाडि बढ्नुपर्छ । एक अर्काले सहयोगको भावना लिएर निःस्वार्थ अघि बढ्नुको विकल्प छैन । हिजोका आन्दोलनकारी र आन्दोलन विरोधी सबै दल एकजुट भएरै अघि बढे मात्र प्रदेशको विकास सम्भव हुन्छ । समय परिवर्तन भएको छ । यसैअनुसार सबैलाई प्रगतिशिल बाटोमा पाइला चाल्न अनुरोध गर्छु । विगतको तितो, मिठो अनुभवलाई मनन गरी देश र जनतालाई सर्वोपरी ठानेर अघि बढे मात्रै हाम्रो पनि कल्याण हुन्छ । 

पर्साबाट चुनाव जितेर मुख्यमन्त्री हुनुभयो, पर्सामा राजधानी आन्दोलन जारी छ । कसरी सम्बोधन गर्नुहुन्छ ?
आन्दोलन गर्ने मित्रहरूलाई थाहा हुनुपर्छ कि राजधानीको सन्दर्भमा संविधानले प्रष्ट व्यवस्था गरेको छ । हुन त हामीले त्यसबेला संविधानलाई स्वीकारेका थिएनौं । तर, त्यही संविधानलाई पछ्याएर आज म मुख्यमन्त्री बनेको छु । अब संविधानलाई मान्दिन भन्न पाइँदैन । राजधानीको हकमा प्रदेशसभाको दुईतिहाइ सदस्यको सहमतिमा निर्णय गर्नुपर्ने प्रावधान संविधानको धारा २८८ मा स्पष्ट उल्लेख छ । अस्थायी राजधानीको हकमा नेपाल सरकारले निर्णय गरिसकेको छ । स्थायी राजधानीको लागि दुईतिहाइको सहमति आवश्यक छ । उहाँहरूले आठवटै जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग पहल गर्नुपर्ने थियो । वीरगन्जमै बसेर आन्दोलन गर्नुको तुक छैन । संविधानलाई बेवास्ता गरी हिँड्न सकिन्न । 

भाषा विवादमा तपाईले पनि विरोध खेप्नु परेको छ । नेपाली, मैथिली, भोजपुरी र हिन्दी । कुन भाषालाई कामकाजको भाषा बनाउने ?
भाषाको सवाललाई विवाद बनाउनै हुँदैन । यो प्रदेशभित्र थुप्रै भाषा बोलीचालीमा प्रयोग भइरहेका छन् । मैले प्रदेशसभा सदस्यका रूपमा भोजपुरीमा सपथ लिएँ । एकरुपता दिन मुख्यमन्त्रीको सपथमा पनि भोजपुरी नै बोलें । मेरो मातृभाषा भोजपुरी हो । तपाईसँग जनकपुरमा नेपालीमा कुरा गरिरहेको छु । तपाईलाई नेपाली र मैथिली सजिलो लाग्छ मलाई नेपाली, भोजपुरी र हिन्दीमा । मैले हिन्दीमा बोले भने तपाइलाई अप्ठ्यारो हुँदैन तर भोजपुरीमा अप्ठ्यारो पर्न सक्छ । मलाई मैथिलीमा केही अप्ठेरो लाग्छ । तर, यो भाषा विवादमा उल्झिनु ठीक होइन । जसलाई जुन भाषामा आफ्नो भाव व्यक्त गर्न सहज हुन्छ त्यही भाषा बोल्न आग्रह गर्छु । कुनै भाषाको बिरोध हुनु हुँदैन । यसमा खुल्ला हुनुपर्छ । म बाल्यवस्थामा परिवारभित्र भोजपुरी बोलें । युवा अवस्थामा साथीहरुसँग हिन्दीमा बोलें । नेपाली भाषामा पढें र अंग्रेजी भाषा पढाएँ । नेपाली, हिन्दी, मैथिली, भोजपुरी सबै भाषा उत्तिकै सम्मानजनक छ । सबै समुदायले आफ्नो पहिचान अनुसारको भाषा र पोसाक प्रयोग गर्न पाउनुपर्छ । 

अन्त्यमा प्रदेशबासीलाई के भन्न चाहनुहुन्छ ?
मेरो क्षमता, बुद्धि र विवेक यहाँको सुशासन, विकास र समृद्धिका लागि भरपुर उपयोग गर्छु । राम्रो गरे मैले स्यावासी पाउनुपर्छ । गलत गरे सुझाव पाउँ । सकारात्मक सुझावको लागि सदैव अपेक्षित हुन्छु । धेरै आन्दोलन र संघर्ष ग¥यौं । अब प्रदेश र मुलुकलाई समृद्धिको बाटोमा डो¥याउनुपर्छ । हरेक व्यक्ति र पार्टीले निहित स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा इमान्दारीपूवर्क काम गर्नुपर्ने बेला आएको छ । राम्रो गर्नेलाई पुरस्कृत र गलतलाई परिस्कृत गर्ने व्यवस्थाको विकास गर्नुपर्छ । प्रदेश र देश बनाउन हामी हरेक नागरिकले आफ्नो स्तरबाट सक्दो योगदान थप्नुपर्छ । 

प्रकाशित: १० फाल्गुन २०७४ ०१:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App