दीपकुमार उपाध्याय नेपाली कांग्रेसका नेता हुन् । पछिल्ला तीन वर्ष उनले भारतका लागि नेपालको राजदूतको भूमिका समेत निर्वाह गरे । पहिलो कार्यकालमा केपी ओली नेतृत्वको सरकारले फिर्ता समेत बोलाइएका उपाध्यायलाई पुन: पुष्पकमल दाहाल नेतृत्वको सरकारले दोस्रो पटक राजदूतको लागि जिम्मेवारी दिँदै भारत पठायो । राजनीति पछि कुटनीतिक अनुभव बटुलेका ६८ वर्षीय उपाध्यायले राजदूत पदबाट राजीनामा गरेर सक्रिय राजनीतिमा फर्किने संकेत गरे । नेपाल भारत सम्वन्ध र वर्तमान राजनीतिक विषयमा केन्द्रीत रहेर नागरिकन्यूजका लागि श्रीराम पौडेल र प्रशान्त लामिछानेले उनीसँग कुराकानी गरेका थिए ।
भारतको लागि दोस्रो पटक राजदूत बन्नुभयो तर समयावधि नसकिँदै किन फर्कनु भयो ?
यो सबैले ट्रयाक गरेको विषय हो । म जाने बेलामा पनि विशेष कार्यभारको रुपमा नेपाल भारत सम्वन्धलाई राजनीतिक तहबाटै सहज बनाउनु पर्छ भनेरै तत्कालिन प्रधानमन्त्री सुशील कोइराला र तत्कालिन राष्ट्रपति रामबरण यादवको अग्रह र पहलमा गएको हुँ ।
त्यतिबेला पनि मैले भनेको थिए, इथिकल, मोरल भ्यालु (नैतिक मूल्य)भन्ने कुरा नेपालको संविधान पार्टीको विधानमा हुँदैन । त्यो आफैले कामय राख्ने हो । त्यसैले म पार्टीका सबै तहबाट राजीनामा दिएर एउटा स्वतन्त्र नागरिकको हैसियतमा देशको सेवा गर्न गएको थिएँ । उहाँहरूलाई मैले यो सीमित समयको लागि हुने बताएको थिएँ ।
मानिसको जीवन विचित्रको छ । यस बीचमा विभिन्न घटनाहरू भए । फिर्ता आउनु पनि पर्यो । जे भयो भयो, कूटनीतिक क्षेत्रको व्यक्ति पनि होइन, एउटा सामाजिक राजनीतिक जीवनको ४ दशक लामो यात्राबाट आफ्नो विवेक पुर्याएर काम गर्छु भनेर गरे । जीवन पाठशाला पनि हो ।
फर्केपछि पनि फेरि तपाई जानै पर्छ भन्ने कुरा भयो । तपाईले सुरु गरेका जगहरू अघि बढाउनु पर्छ भनेर प्रचण्ड जी र सभापति शेरबहादुर देउवाजीले आग्रह गर्नु भयो र म दोस्रो पटक पनि जानु पर्यो । दुवै पटकमा मेरो आग्रह थियो , यो मेरो भोकेसन (पेशा) होइन । केही समयको लागि त्यहाँ इमानदारी पूर्वक भूमिका निर्वाह गर्छु भन्ने एउटा पाटो रह्यो ।
अर्को जुन माटोबाट म हुर्के बढे्र मेरो परिचय बन्यो त्यो कपिलवस्तु अत्यन्त पवित्र माटो हो । त्यो राष्ट्रको लागि मात्र नभएर अन्तराष्ट्रको लागि पनि पवित्र हो । चारवटा मानसबुद्ध मध्ये तीनवटा मानसबुद्ध जन्मेको हुर्केको पवित्र माटो हो र त्यहाँका जनताको म माथि अतुलनीय गुन छ । सँधैभरी जनताको आग्रह रह्यो की असहज स्थितिमा भारत गएको त बुझियो अब सहज भएपछि पनि तपाई किन त्यहाँ ? हाम्रो बीचमा आउने की नआउने, के तपाईले सुविधाकै जीवन रोजेको हो त ? यी प्रश्न पनि मेरो लागि हृदयस्पर्शी थिए । त्यसपछि मैले नेताहरुलाई म फर्कन्छु भनेर भने । म अलि छिटो समयमै फर्कन पाएको भए दूतावासमा अर्को राजदूत पनि नियुक्त हुन्थ्यो होला, आज आज भोली भोली भन्दा भन्दै प्रबन्धनमा केही कमी भो । कूटनीतिमा फेरी सवै कुरा आजको आजै भन्ने हुँदैन । फर्के पछि पनि अहिलेको परिस्थितिमा तपाई उतै बसेको भए हुन्थ्यो, फेरि तपाईको स्तरको व्यक्ति पाइने हो वा होइन भनेर नेताहरूले भन्नुभयो । अलि पहिल्यै भएको भए त सल्लाह गर्न सक्थ्यौं । एउटा बाटो निस्कन सक्थ्यो । अव त मैले अठोट गरिसकें, जनताबीच पनि अठोट गरें भने पछि मेरै आग्रहमा राजीनामा स्वीकृत भयो ।
राज्यले गरेको भरोसामाथी धोका दिनु भएन र ?
त्यस्तो पटक्कै होइन । हाम्रो परराष्ट्र सेवामा योग्य नेतृत्व र कर्मचारी हुनुहुन्छ । उनीहरूलाई हामीले विश्वास गर्न सक्नुपर्छ । नेपाल र भारतकाबीचमा अहिले सहज र सरल सम्बन्ध भइरहेको छ।
निर्वाचित सरकारलाई भारतसँगको सम्वन्धमा दिगो शान्ति, राजनीतिक स्थायित्व र हाम्रो मुल एजेण्डा भनेको आर्थिक सम्वृद्धिमा अघि बढ्नको लागि राम्रो वतावरण बनेको छ । मैले परराष्ट्रमन्त्रालयमा नेताहरूलाई भने राजदूत अहिले खाली भएर पनि नेपाल र भारतबीचमा पहिलको जस्तो असहज स्थिति आउँदै आउँदैन । अहिले एउटा विश्वासको वातावरण बनेको छ, पहिलेको जस्तो गलत अर्थ लाग्ने अवस्था आउँदैन । मुख्यगरी जनताले दुःख पाउनु पर्ने स्थिति आउँदैन भनेर भनेको पनि छु ।
अब तपाई सक्रिय राजनीतिमा फर्कदैं हुनुहुन्छ ?
अन्ततः राजनीतिक संक्रमणको दुश्चक्रमा यो देश पर्यो । भूस्वर्ग हुँदा हुँदै पनि हामी यस्तै अवस्थामा छौं । संविधान सभाले संविधान बनाइसके पछि खास गरेर हामी शान्तिप्रक्रियाको अन्तिम अन्तिम चरणमा छौं । संविधान कार्यान्वयनको चरणमा छौं ।
म जुन पदमा थिएँ त्यो पदमा रहँदा आफ्नो मनका लागेका कुरा पटक्कै बोल्न मिल्दैनथ्यो । अहिले म उन्मुक्त भएको छु । मेरा आफ्ना कुराहरु, ज्ञानहरु, अनुभवहरु जेजति पनि छन्, तपाईहरुको माध्यमबाट लेखेर बोलेर जनसमक्ष पुर्याउन सकिन्छ । झण्डै तीन वर्ष नेपालको मुल राजनीतिक परिवेशबाट बाहिर रहँदा झन् झन् खसेको जस्तो लागि रहेको छ । यो गलत हो । राजनीति भनेको निष्ठामा नै आधारित हुनु पर्छ । यो कुनै व्यापारको विषय होइन, तत्काल लाभ हानी हेरेर गरिनु हुन्न । यस्तो बेलामा हामी बाहिर बसेर भन्दा भित्र बसेर राष्ट्रिय राजनीतिमा, समग्र जिल्लाको राजनीतिमा सकेको भूमिका निर्वाह गर्नु पनि कर्तव्यनै हो जस्तो लागेर म प्रसन्न छु ।
भनेपछि चुनाव लड्न जाँदै हुनुहुन्छ ?
मेरो राजीनामा स्वीकृत गराउनको लागि पनि विशेष आग्रह गर्नुपर्यो । यस पछिको मेरो भूमिका भनेको पार्टीले कुन रुपमा कसरी उपयोग गर्न चाहन्छ त्यो रुपमा मैले योगदान गर्ने हो । चुनावको बारेमा पार्टीले जे निर्णय गर्छ त्यसलाई मैले स्वीकार गर्ने हो ।
तर अहिले दुःख लाग्छ पार्टीले टिकट दिएन भने टिकटकै लागि अर्को पार्टीमा जान्छु, विद्रोही हुन्छु भन्ने स्वरहरू सुनिन्छ । सामाजिक राजनीतिक जीवन भनेको कठिन जीवन हो । तरवारको धारमा हिँड्नु पर्छ । राजनीतिमा दुःख हुन्छ । मैले चुनाव लड्ने नलड्ने विषय आफूमा भन्दा पनि पार्टीका नेताहरूलाई छोडेको छु । यो विषयमा मैले उहाँहरूलाई कुनै पनि भार पार्न चाहन्न । कपिलवस्तु पुग्दा पार्टीका साथीहरूको रुझान देखे । तर पनि यसलाई मैले दावाको रुपमा राखेको छैन।
नेपालको राजनीति दिल्लीबाट अझ स्पष्ट देखिन्छ भन्छन् नि ?
सामाजिक राजनीतिक क्षेत्रका प्रतिष्ठीत मानिसहरूको सँगको भेटघाट यहाँ भन्दा दिल्लीमा सजिलो हुन्छ । यहाँ खोजेर संयोगले भेट हुने हो त्यहाँ आफ्ना विभिन्न काममा आउने जाने, उपचार, निजी काम हरेक दृष्टीकोणले त्यहाँ भेटघाट बढी हुन्छ।
अर्को नेपाल र भारतको सवभन्दा ठूलो सम्बन्ध भनेको भूगोलको छ । हाम्रो खुला सीमाना कहिलेदेखि हो, त्यो थाहा छैन । उत्तरतर्फ त्यस्तो सहज छैन । संस्कृति, सभ्यता, धर्म, कर्म, नाता हरेक किसिमको सम्बन्धले गर्दा त्यो सहज छ। नेपालका दैनिक गतिविधि अपडेट हुन सहज छ।
तपाईलाई कुटनीतिक ओहोदामा बसेर राजनीति गरेको आरोपमा फिर्ता पनि बोलायो सरकारले ?
लान्छनाको कुनै तुक छैन । मैले त्यतिबेला विनयपूर्वक भनेको थिए यति त्यो प्रमाणित हुन्छ भने नेपालको राजनीतिबाट सन्यास लिन्छु । त्यो कुरा पछि आफैँ सेलायो । त्यतापट्टी नजाउँ ।
नेपालका सबै राजनीतिक नेताहरूसँग राम्रो सम्बन्ध हुने व्यक्तिमा म पनि एउटा हुँ । केपी ओली त मेरो व्यक्तिगत अभिन्न मित्र नै हुनुहुन्थ्यो । पद भनेको संयोग हो । संधैभरी हामी पदमा हुन्नौ । त्यो घटनाले मैले ठूलो मिडिया माइलेज पाएँ। त्यसपछि उहाँलाई धन्यवाद दिए । उहाँ हास्नु भयो । हो र ! दुःख छैन भन्नुभयो । म त अध्यात्मिक रुपमा पनि हेर्छु । भगवानले जे गर्छन् राम्रै गर्छन् भनिन्छ नि । हाम्रो फ्रन्टलाइन न्युजमा कमै कभरेज हुन्छ । म फिर्ता आएको, फेरि गएको र अहिले आएको समाचार भारतीय मिडियामा अपेक्षाभन्दा धेरै आएको छ । त्यो त एउटा घटना थियो सकियो ।
हिनताबाेध र लघुताभास हामीले छोड्नै पर्छ । संविधान सभाले संविधान बनाएको संविधान कार्यान्वयनमा विभिन्न किसिमका बाधा अड्चनहरू थिए । फेरि क्रमशः समयका घटनाक्रमले गर्दा अड्चन हटेर सबै पार्टीहरूले निर्वाचनमा पनि भाग लिइनै सके । प्रदेश र केन्द्रको चुनाव पनि हुँदैछ । यो भन्दा ठूलो खुशीको कुरा के हुन सक्छ ? हामीले हाम्रो समस्याको समाधान आफैँ गर्न सक्छौ भन्ने उच्च मनोबलका साथ अगाडि जानुको विकल्प छैन।
यो बीचमा भारतले नेपालको संविधानलाई स्वीकार गर्न आलटाल गरेकै हो ? तपाईलाई के लाग्छ ?
नेपालका दलहरूले पनि त्यहाँ एउटा पोजिसन लिएर बसे त्यसमा टेकेर उसले रिर्जभेसन राख्यो । त्यो भारतले मात्र होइन अन्य मित्र राष्ट्रले पनि रिर्जभेसन राखे । एउटा देशलाई मात्र किन इङगित गरौं र ? सबैलाई मिलाएर अघि बढ्न सबैले भन्छन् । भारतको पनि निश्चित भनाइ यो हो भन्ने छैन र होइन पनि । हाम्रो मुलुकमा हाम्रा समस्याको समाधान हामीले नै खोज्ने हो ।
बीचबीचमा प्रेसकिप्सन, क्याप्सुल त आएकै हो नि ?
हामीले नेगेटिभ एङगलबाट त धेरै हेर्यौं । पोजेटिभ एङगलबाट हेर्दा नेपालको मन्त्रिपरिषदले गरेको निर्णयलाई भारतले गरेको हस्तक्षेप भनेर भन्ने हो भने त केही भन्नु छैन । संसदले गरेको निर्णय वा संसदको रोष्टममा उभिएर नेताहरूले गर्नु भएको कमिटमेन्टलाई भारतले नै बोल्न लगायो कसरी भन्ने ? हामीले गरेको कमिटमेन्ट, हामीले गरेका कुरा बिर्सेर अर्को तिर आरोप लगाउँछौं । त्यो न्यायोचित र सान्दर्भिक हुँदैन भनेर मैले धेरै पटक भनेको छु ।
हामीले हाम्रो व्यवस्थापन आफैँ गर्नुपर्छ । राष्ट्रको परराष्ट्रनीतिको बारेमा सुरक्षा नीतिको बारेमा हामी व्यवस्थित हुन जरुरी छ । आफू व्यवस्थित नहुने अनि अन्यत्रै आरोप लगाएर हिँड्न मिल्दैन । सरकारमा हुँदा एउटा व्यक्ति र बाहीरिएपछि अर्को देखिनु भएन ।
भारतलाई दोष दिनु अगाडि नेपालमै व्यवस्थापन गर्नु पर्यो ?
एकदम । एक त जिम्मेवार हुनु पर्यो । व्यवस्थापन गर्नु पर्यो । त्यस्तै त्यस्तै कारणले नाकावन्दी सम्म पुगेर नेपाली जनताले दुःख पाउनु पर्यो । राजनीतिमा कहिलेकाँही तलमाथि हुन्छ । तर जनताले दुःख पाउनु भएन ।
जस्तो संसदमा पास हुँदैन भन्ने थाहा हुँदा हुँदै पनि संविधान संशोधन प्रस्ताव संसदमा गयो । संशोधनको विषय प्रक्रियामा गएपछि एउटा पक्ष सन्तुष्ट भयो । नेपालमा जति पनि निर्वाचनमा भाग नलिइ बसेका दलहरुले त्यो पछि भाग लिए ।
शक्ति राष्ट्रका आफ्ना चाहना होलान् । हामी किन त्यता पट्टी जान्छौ । हामीले हरेक कुरामा शंका नगरौं । हामीले नेपाली समाज हाम्रो संविधान प्रति विश्वास राखौं त्यसमा जिम्मेवार बनौं । ब्लेम गेम (आरोप)मा लाग्यौं भने कहीँ पनि पुगिदैंन ।
अहिले नेपाल भारत सम्बन्ध कस्तो चरणमा छ ?
सम्बन्ध एकै दिन बन्ने पनि होइन एकै दिन बिग्रने पनि होइन । नेपालमा बारम्बार उच्च तहका भ्रमण भएका छन् । परराष्ट्रका साथीहरूले थाहा पाए सम्मका राम्रा कुराहरु त्यहाँ राख्ने गरेका हुन्छन् । त्यसमा पनि ब्लेम आइहाल्छ फेरि ।
भारतीय प्रधानमन्त्री मोदी जी नेपाल भ्रमणमा आउने कुरा थियो । त्यसको तयारीमा तपार्इ लाग्नुभएको थियो ?
अरुण तेस्रो परियोजना रेडि टु गो प्रोजेक्ट छ । त्यो प्रोजेक्ट इलेक्ट्रोनिक प्रविधिबाट उद्घाटन गरे पनि भने मोदी जी यहाँ आएर संयुक्तरुपमा गरे पनि भयो । यसमा मोदी जी को पनि नेपाल जाने उद्घाटन गर्ने भन्ने इच्छा थियो । पारस्परिक सल्लाहमा कुनै पनि अवस्थामा भिजिट हुन सक्ने सम्भावना छ । चुनावसम्मको लागि त यो कुरा टर्यो।
यी चुनाव पछि नेपाल नौलो अभ्यासमा जाँदै छ । तपाई कस्तो सिनारियो देख्दै हुनुहुन्छ ?
म त एकदम आशावादी छु । स्थानीय तहको निर्वाचन पछि विकास निर्माणका गतिविधिहरूले तिब्रता लिंदैछन्, लिन्छन् । प्रशासनयन्त्रलाई मात्र दोष लगाएर काम हुँदैन । प्रादेशीक संरचना बनेपछि विकास निर्माणमा त्यसले नेतृत्व ग्रहण गर्छ । यो नेपालमा नयाँ अभ्यास हो । यसमा हामी अत्यन्त जिम्मेवारीका साथ खरो उत्रनु पर्छ ।
चुनावी गठवन्धनबारे के भन्नुहुन्छ ?
यो वामपन्थी चिन्तन हो । उहाँहरूले सकेदेखि पार्टीको सर्वोच्चता प्रयोग गर्ने हो । हामी त्यसको विरोधी हौं । हामी नागरिकको सार्वोच्चता चाहन्छौं । हामी जनतालाई जनार्दन भन्छौं । आवधिक निर्वाचनको माध्यमबाट आफ्नो अधिकार प्रयोगको कुरा गर्छौ । उहाँहरू हामीले निर्णय गरेपछि हस्ताक्षर गरेपछि जनताको मत घोप्टीन पर्छ भन्नुहुन्छ । यहाँ नेर विचारको लडाई हुन्छ । जनताले रोज्ने त्यहाँनेर हो । पार्टीको सर्वोच्चतामा बाख्रा खेदेजस्तो स्यू गरेपछि जानै पर्ने हो की ! नागरिकको त स्वतन्त्र अस्तीत्व, अधिकार सुरक्षाको चासो छ । हामीले नागरिकलाई कति चेतना दिन सक्छौ त्यसमा भर पर्छ । कोही मान्छे जन्मदा कुनै विचार लिएर आउँदैन । एउटा परिवेशमा विचार बन्दै जाने हो । नागरिक सर्वोच्चता ठूलो कुरा हो भन्ने मानिसले बुझ्दै गएपछि विश्वमा कम्युनिजम कमजोर बन्दै गयो । नेपालमा त्यो हामीले बुझाउन सकेनौं । त्यसैले यहाँ कम्युनिष्ट बढ्दैछन्।
अबको समय हाम्रो लागि अवसर हो । यसबारे जनतालाई बुझाउन पाउने अवसर प्राप्त भएको छ । अब गठवन्धन कति दरिलो हुन्छ भन्ने कुरा निर्वाचनको परिणामले नै देखाउला । यसलाई सहजरुपमा नै लिनु पर्छ।
तस्बिर भिडियो: प्रबिन कोइराला
प्रकाशित: १० कार्तिक २०७४ ०७:३३ शुक्रबार