३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अन्तर्वार्ता

कांग्रेस माओवादीको पुच्छर भएर हिँड्दा दुःख लाग्छ

बेलायतको लन्डन सहरका लर्ड मेयरले काठमाडौं महानगरपालिकाका तत्कालीन नगरपिता पिएल सिंहलाई 'लर्ड मेयर' भनेर सम्बोधन गर्दा आफूलाई 'किङ अफ स्विपर' अर्थात् 'कुचीकारका राजा' भनी ब्यङ्ग्य गर्ने पिएल सिंहलाई अहिले चटारो छ। उनले त्यतिबेला भनेका थिए– आइ एम लोकल अथोरिटी विथआउट अथोरिटी (म स्थानीय सरकार विना अधिकारको सरकार)। अहिले यी ७८ वर्षीय पूर्व मन्त्री समेत पिएल कहिले कहाँ पुग्छन् त कहिले कहाँ? नेताहरूमा सेवाको वास्तविक भावना नरहेकोतर्फ उनको सधैँ कटाक्ष हुन्छ। त्यसैले त आफ्नो वास्तविक नाम प्रेमलाल सिंह रहेका उनी आफूलाई पिएलएसलाई 'पिपुल लभ सर्भिस' भनेर अर्थ्याउँछन्। नेपाली कांग्रेसको राजनीतिबाट अलग भए पनि आफूमात्र खाँटी कांग्रेस भएको बताउन छाड्दैनन् उनी। जहाँसुकै 'लौ न पिएल दाइ' भन्दै मानिसले नेतृत्व लिन आग्रह गर्दै आएका छन्। तर, उनी भने युवाहरूलाई नेतृत्व आफैँ लिन आह्वान गर्दै छन्। उनै सिंह र गुणराज लुइँटेलबीच भएको वार्ता : 

कुनै बेला तपाईं काठमाडौं महानगरपालिकाको पिता हुनुहुन्थ्यो। आजको अवस्थामा यो सहर कस्तो पाउनुभएको छ?

म बच्चा हँुदाखेरी बा विष्णुमतीमा स्नानमा गरेर आउनुहुन्थ्यो। भन्नुहुन्थ्यो– पानी बेच्नुहँुदैन, पानी सिंत्तैमा दिनुपर्छ तर यहाँ त्यो भइरहेको छैन। पानी भनेको जीवन हो, जीवनका लागि पानी चाहिन्छ। त्यसैले काठमाडौंलाई राम्रो बनाउन यहाँ पानी चाहिन्छ। सबैभन्दा पहिला पानीमा जोड गर्नुपर्छ।

अहिले काठमाडौंको बाटाघाटा बिग्रेका छन्, भत्केका छन्, हिलाम्मे र धुलाम्मे छन्, कसरी हेरिरहनुभएको छ?

पहिला मैले जुन भिजन दिएको थिएँ, त्योअनुसार काम भएको छैन। अहिलेको २१ औं शताब्दी भनेको स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्ध जोडिन आउँछ, एक्लैले केही गर्न सक्ने अवस्था छैन। यसलाई सुधार गर्न सकिएको छैन। सबै पक्षसँग सहकार्य र सहयोगमा यो काम सम्पन्न गर्नुपर्छ। १९९० को सोचले आजको विकास हुन सक्दैन, अब नयाँ सोचका साथ विकासको एजेन्डामा आउनुपर्छ।

सन् १९९० र आजको समयबीच नेपाली जनताको सोचमा तपार्इंले के फरक पाउनुभयो?

नेपाली जनताको ठूलो आकांक्षा नै देखिँदैन। पानी, ग्यास र बाटोघाटो नै राम्रो होस् भनेर चाहिरहेको देखिन्छ, अरु केही चाहिएको छैन। यो पछिल्लो १० वर्षमा जो/जो नेता बने, ती इमानदार देखिएनन्, उनीहरु कमाउनमा नै ब्यस्त रहे। उनीहरु अहिलेको स्थितिमा हेर्दा पनि 'लिडर' (नेता) होइन, 'डिलर' (एजेन्ट) जस्ता देखिएका छन्। नेता भए अडान लिन्छ, एजेन्टले त नाफा–घाटा हेर्छ। नेपाल अझै आत्मनिर्भर हुन नसक्दा ठूला आकांक्षा नै राख्न सकिरहेका छैनन्, त्यसका लागि नवीनतम् सोच लिने नेताहरुलाई प्राथमिकता दिनुपर्छ।

लोकतन्त्र लोकतन्त्र जस्तो नहुँदा समस्या देखियो भन्न खोज्नुभएको हो?

प्रजा परिषद्को गठन काठमाडौंमा भएको थियो, त्यो बेला नेपाल भनेकै काठमाडौंलाई मानिन्थ्यो। त्यसैको सिलसिलामा कांग्रेस गठन भयो, पुष्पलाल पनि कांग्रेस थिए, निर्मल लामा पनि कांग्रेस नै थिए। नेपाली जनताको तर्फबाट नेपाली राष्ट्रिय कांग्रेस गठन गरियो र सि क्लासको राणाको तर्फबाट सुवर्णशमशेर, महावीरशमशेर र महेन्द्रविक्रम शाहले नेपाल प्रजातान्त्रिक कांग्रेस गठन गरे। गणेशमानजीले पनि पहिला प्रजातन्त्रका लागि संघर्ष गरेको होइन, राणाहरुको विरोध गरेको हो। किनभने 'यो गुन्डे त साइकल चढ्ने?' भनेर हेपेपछि राणाको विरोधमा आएका हुन्, कोइरालाहरुको विरोध पनि यस्तै हो। उहाँको बुबा (कृष्णप्रसाद कोइराला)ले बदमासी गरेर विराटनगरबाट फारबेसगन्ज जानुभयो, त्यो बेला उहाँले ठेकदारीमा बेइमानी गर्नुभयो। राणाहरुले छाडेनन् अनि बदलाको भावनामा उहाँहरु राणाको विरोधमा जानुभएको हो। जेठीपटि्टका मातृका बाबु र अर्को बिपी, तारणी र केशव कोइरालाहरुलाई पढाउनका निम्ति उनीहरुलाई पटना पठाइयो। मातृका बाबुले भारतका पूर्व राष्ट्रपति राजेन्द्रप्रसादको घरमा क्लर्कको काम गर्नुभयो। बिपीचाहिँ बिहारको राजनीतिमा रहनुभयो किनभने फारबेसगन्जमा एक जना गुप्ता र राममोहन लोहियासँग मिलेर काम गर्नुभयो। त्यहीँ राजनीति सिक्नुभयो।

गणेशमान पछि जेलबाट भाग्नुभयो। देवशंकर लालजी, नेपाली कांग्रेसको तत्कालीन महामन्त्री हुन्, उनैले गणेशमानलाई बिपीसँग बनारसमा भेटाइदिए। तर गणेशमानजीले पहिला भेट्न मान्नुभएन किनभने म त राणाको विरोध गरेर जेल परेको, त्यहाँबाट भागेको मान्छे हुँ, बिपी मकहाँ आउनुपर्छ भनेर तर्क राखेछन्। तर देवशंकरजीले तपाईँ पनि राणाको विरोधमा जाने, बिपी बाबु पनि राणाको विरोधमा जाने भएपछि उद्देश्य त एउटै छ, त्यसैले भेट्नुपर्छ भनेर भेटाइदिनुभयो।

गणेशमानजी कस्तो हुनुहुन्थ्यो त्यो बेला?

मंगला भाउजूचाहिँ अलि सशक्त नै हुनुहुन्थ्यो, प्रतिबद्ध हुन र गराउन सिपालु तर गणेशमानजी बाह्रमासे, जँड्याहाँ र हुल्लाहा टाइपको हुनुहुन्थ्यो। तर त्यो प्रवृत्ति पनि काम लाग्यो। र, प्रजातन्त्र आयो।

तर, पटकपटक आएको प्रजातन्त्र खोसिँदै पनि गयो नि त?

अघि नै भनेँ नि यहाँ 'लिडर' होइन, 'डिलर' बढी भए। 'लिडर'ले अडान लिन्छ, जस्तो गणेशमान। अडान थिएन भने आज गणेशमान, गणेशमान हुनुहुन्थेन। अझ त्यसमा मंगला भाउजूको सहयोग नभएको भए, गणेशमानजी त बाह्रमासे भएर जानुहुन्थ्यो।

नेपाल अझै अर्धऔपनिवेसी नै हो?

त्यो त देखिन्छ नि। २००७ सालमा प्रजातन्त्र आउँदा संविधान सभाको चुनावको कुरा आएको थियो, के त्यो नेपाली जनता, राजा र राणा विरोधीहरुको माग थियो र? थिएन नि! सन् १९५० अघिदेखि नै ब्रिटिस साम्राज्यले नेपालको नीतिनियम निर्माणमा प्रभाव पार्थे, आज ७५ वर्ष नाघ्न थाल्यो, अझै यहाँ स्वतःस्फूर्त निर्णय गर्न पाइन्न। तर पनि एउटा 'रअ्' प्रमुखले भनेका रहेछन्, भारतलाई सिक्किम लिएर घाटा भयो किनभने त्यहाँ धेरै लगानी र पैसा खर्च गर्नुपर्‍यो। यो गल्ती महसुस त भएको छ नि उनीहरुलाई। तर, के गर्नु हाम्रै नेता दोषी छन्। प्रचण्ड र बाबुराम नोयडामा छलफल गर्छन्, मोहन वैद्य र सिपी गजुरेल भारतमा पक्राउ पर्छन, बिपी र गणेशमानको राणा विरोधी आन्दोलन कोलकत्ता र वनारसमा हुन्छ, अहिले सरकार निमार्णको कुरामा म के बोल्नु, यो त घामजत्तिकै छर्लंग छ। नेताको बानी बेहोरा हेर्नुहोस्, सामन्तीजस्तो छ। जो पहिलादेखि नै हो।

भन्नाले?

बिपी कोइरालाको जीवनशैली हेर्नुहोस, हि इज अ अटोक्रयाट (उहाँ तानाशाह हुनुहुन्थ्यो)। उहाँले आफ्नो जीवनकालभर कांग्रेसमा अरु कसैलाई मौका दिनुभयो? दिएनन् नि। भीमबहादुर तामाङलाई मैले दार्जिलिङमा सुरुमा भेटेको थिएँ, निकै अध्ययनशील, निकै सामान्य जीवनशैली छ। त्यो बेला लागेको थियो, भीमबहादुर नेपालको प्रधान मन्त्री बन्छन्, त्यसका लागि लायक छन् तर बिडम्बना भीमबहादुर नेपाल आउँदा कोइरालाको दास बने, बन्नुपर्‍यो। पछि उनलाई मैले भनेँ, तपाईं न भीम न बहादुर। तपाईं त तामाङको तामाङ नै। ब्याक टु मंगलमान। बिचरा उहाँ त्यतिकै बितेर जानुभयो। परशुनारायण चौधरीलाई पनि भावी प्रधान मन्त्री भनेका थिए। तर उनले पाएनन्। राजाले उनलाई पनि देखाइदिए। त्यसैले कोइराला परिवारबाट सुरु भएको सामन्ती व्यवहार अहिले पनि नेताहरुमा देखिन्छ।

छिमेकीको अर्धउपनिवेसिक दबदबा र नेपाली नेताको सामान्ती व्यवहारवाट नेपाली जनता कहिले मुक्त होलान् त?

२०४६ सालमा नेपाली जनताले शान्तिपूर्ण आन्दोलन गरेर परिवर्तन ल्याए। सम्भवतः यस्तोखाले आन्दोलन इतिहासमा कहीँ कतै भएको थिएन। त्यसले राजासँग मिलेर सर्वोत्कृष्ट संविधान दियो। यो किन भयो भने जनताको आकांक्षा सम्वोधन गरिएको थियो। भारतका नेताबाट हामीले नैतिक समर्थन पायौं तर सरकारबाट होइन। भारतीय नेता चाक्सीबारीमा नआएका भए त्यो परिवर्तन हुने थिएन।

२०४६ सालमा आएको त्यत्रो ठूलो परिवर्तन किन र कसरी सजिलै गयो त?

गणेशमानजीलाई बिपीले कहिल्यै पनि समर्थन गरेनन्। गणेशमानजीले अन्तिम समयसम्म पनि कोइरालाहरुको समर्थन पाउन सकेनन् तर चारतारा भनेको त बिपी, गणेशमान, सुवर्णशमशेर र सूर्यप्रसाद हुन्। सूर्यप्रसादलाई भारतको मान्छे भनेर आरोप लगाइयो तर कालान्तरमा भारतका मान्छे यिनीहरु रहेछन्, त्यो त पुष्टि भयो। त्यसले कतै काम गर्‍यो कि भन्ने लाग्छ।

सर्वोत्कृष्ट भनिएको २०४७ सालको संविधान किन टिकेन त?

गिरिजाबाबु २०४७ सालको परिवर्तन र संविधानको पूर्ण विरोधी मान्छे थिए र हुन्। त्यसैले काम गर्‍यो कि?

भनेपछि कोइराला परिवार गणेशमानको पक्षमा मात्रै होइन, गणेशमानको कुनै पनि काममा समर्थक भएर उभिएन?

मैले बिपीलाई खरायोचा बर्मु (खरायो बाहुन भनेको अत्यन्तै चलाख) भन्ने गरेको थिएँ। सबैलाई जिम्मेवारी दिँदा पनि गणेशमानलाई दिन नचाहने, त्यतिमात्रै होइन, बिपीले हवल्दार भनेका जिपीले पनि गणेशमानलाई जिम्मेवारी दिन चाहेनन्, अनेक षड्यन्त्रमा लागे। बिपीले कसैलाई विश्वास गरेनन्, जिपी बाहेक। राजासँग कुरा गर्न पनि जिपी नै चाहिने, भारतसँग कुरा गर्न पनि उनै चाहिने। आफ्नो लिगेसी अरुलाई थाहा नहोस् भनेर हो। उनले आफूपछि कसैलाई नेतृत्व दिनुको सट्टा नेतात्रय भनेर गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालाई दिए। प्रजातन्त्रमा त्यस्तो हुँदैन। प्रजातन्त्रमा लिगेसी पनि हुँदैन। त्यसैले मैले भन्दै आएको छु कि जिपी रोगले होइन, बरु नसोचेको घटना हुँदा मरेका हुन्। उनले आफ्ना दाइ बिपीजस्तो गर्न सकेनन् वा परिस्थितिले दिएन। जिपी आफू राष्ट्रपति बन्ने र छोरीलाई प्रधान मन्त्री बनाउने धोको थियो, त्यो पूरा भएन अनि पीडामा परेर मरे। सुशील पनि त्यही हो, प्रधान मन्त्रीमा चुनाव हारे, कांग्रेसको फेरि पनि सभापति हुन सक्ने छाँटकाँट नआएको र देउवा बढ्दै गएपछि उनी पनि बिते। प्रजातन्त्रमा उत्तराधिकार होइन, निर्वाचनमात्र हुन्छ।

नेपालको भविष्य केमा निर्भर छ त?

नेपालीहरुलाई फेरि एकचोटि आफैँले निर्णय गर्न सक्ने बनाउनुपर्छ, त्यो बनाउन सकिएन भने नेपालीको भविष्य अन्धकार नै छ। २०४६ सालमा जनआन्दोलन भएको हो, त्यस्तैखालको आन्दोलन नगरीकन नेपाली जनताले स्वतन्त्र, आत्मनिर्भर र स्वाभिमान भएर बाँच्न सक्दैनन्।

फेरी पनि त्यस्तो जनआन्दोलन हुने सम्भावना देख्नुहुन्छ र?

जब राजाले कु गरेका थिए, त्यतिबेला उनले नेतालाई अक्षम भनिदिए। तर त्यसबेला मैले प्रेस विज्ञप्ति नै निकालेर भनेँ, प्रजातन्त्रलाई राजा र तत्कालीन ५ दलले मिलेर खान पाउनुहुन्न, जनताको आन्दोलनको परिणामलाई के गर्ने भन्ने अधिकार जनतालाई नै हो। त्यसका लागि जनमत संग्रह गरौं भनेका हो।  त्यसको जरुरी देखिरहेको छु।

दलहरुले गर्लान् त यो काम?

कांग्रेसका कुरा नै गर्नु न। अहिले देउवा कांग्रेस, रामचन्द्र कांग्रेस, कोइराला कांग्रेस, सिटौला कांग्रेस, खुमबहादुर कांग्रेस हुँदाहँुदा अब त प्रकाशमान कांग्रेस पनि रे, सबका आआफ्नै नाङ्लो पसल छ। यसले के देखाउँदैछ भने अस्थिरता कारक अब कांग्रेस हँुदैछ। कांग्रेसको भविष्य नभएपछि देशको भविष्य हुन्न, सबैतिर अन्धकार नै देख्छु म। नेताले देश डुबाउँदै लगे, अब वैकल्पिक शक्ति बनाउनुपर्‍यो भनेर देशभरबाट मलाई फोन आइरहेका छन्। खास मानिस यी दलबाट देशको भलो हुन सक्दैन भनेर लागिरहेका छन्।

भनेपछि तपार्इं नेतृत्व गर्ने तयारी गर्दै हुनुहुन्छ?

त्यस्तो त होइन। हुन त अहिले सबै नक्कलीको जमना छ, नक्कली डाक्टर, नक्कली उद्योगी, नक्कली पाइलट पनि फेला परेका छन्। वनस्पती घीउ खाने बानी परेकालाई सक्कली घीउ गनाउँछ, गाह्रै छ। तर भारतमा हेर्नु न मनमोहन सिंह लिडर होइन, सैद्धान्तिक मान्छे हुन्, नरेन्द्र मोदी चायवाले हुन् तर दुवै लोकप्रिय छन् किनभने तीनले जनताको भावना बुझेका छन्, बुझिदिए। आज नेपालमा जनताको भावना बुझिदिने को छ? सबै लाद्नेमात्रै छन्। जसले जनताको भावना समात्छ, अबको उही हो नेता। 

यो देशको विकासचाहिँ किन नभएको होला?

काम राम्रो गर्‍यो भने त खानै पाइँदैन न नि? मलाई नै हेर्नुहोस् न, मैले चुनाव जित्छ र विकास गर्छ भनेर दिएका हुन र? काठमाडौंको नेवार भएर दिएका हुन्। त्यस्तो थियो भने त पछि पनि दिनुपर्थ्यो, दिएनन्। त्यसैले यहाँ काम गर्नेलाई प्रोत्साहन पनि गरिन्न। अहिलेका पार्टी मिलेर गाउँगाउँमा खाइरहेका छन, प्रतिपक्षको त सोच नै छैन। प्रतिपक्ष भए पो खबरदारी गर्छ, त्यस्तो छैन। खान पाएपछि स्थानीय निकायको चुनाव कसले गर्छ? चुनाव गरे त खान पाइन्न। अनि खान नपाउने विकास कसले गर्छ त?

तपाईँ फेरि कांग्रेसमा सक्रिय हुने विचारमा हुनुहुन्छ र?

म त नेपाली कांग्रेस नै हुँ नि, नेपाली कांग्रेसले नै विधान नाघ्यो, विधिको शासनमा बसेन, अद्यावधिक चुनाव गराउन चाहेको देखिँदैन, यो कसरी कांग्रेस भयो? मेरा प्रश्न यहाँनिर हो। अहिले त माओवादीको पुच्छर भएर कांग्रेस हिँडिरहेको छ। यो भनेको त कमजोर भएको हो नि? यस्तो कमजोर कांग्रेस इतिहासमा कहीँ कतै भएको थिएन। सबैभन्दा कमजोर पार्टीको पछि पछि लागेर कांग्रेसलाई हिँडाउनुपर्ने दिन आयो जबकि कांग्रेस त पार्टीहरुको पनि नेता पार्टी थियो। यस्तो अवस्था देख्दा कसरी मन बुझ्छ?

राजतन्त्र फर्काउने कुरा पनि छन्, के यो सम्भव होला र अब?

राजतन्त्र फर्काउनुपर्छ भनेर धेरैतिर लागेको देखिन्छ। राजतन्त्रको पुनरागमन किन हुन सक्छ भने २०४७ सालको संविधान सात पार्टी र राजा मिलेर खाएका हुन् तर राजाले प्रजातन्त्र जोगाउन दललाई जिम्मेवारी दिनुपर्थ्यो, दिएनन्। परिणाम, राजा पनि गए, २०४७ सालको संविधान पनि गयो। अब बुद्धिको घैंटोमा घाम लाग्दैछ केहीको। यहाँ त आफँैलाई र आफ्नालाई सिध्याउने काम गर्छन्।

भन्नाले?

२००७ सालदेखि कसकसलाई कसले मार्‍यो भनेर हेर्दा पनि धेरै कुरा बुझिन्छ। तेजबहादुर आमात्यलाई किन मारियो? सरोज कोइरालालाई किन मारियो? माओले माओ मार्छ, कांग्रेसले कांग्रेस मार्छ। अहिलेको राष्ट्रपतिको श्रीमान्लाई किन मारियो? कसले मार्‍यो? कसैले आवाज उठायो? अहिले पनि किन छानबिन हुँदैन? अरे बाबा मारे पनि नमारे पनि अनुसन्धान त हुनुपर्छ नि? हुँदैन यहाँ। देवानसिंह पनि त्यही हो। आफ्नै नेताको विरोधमा गयो भने कि मारिन्छन्, कि जेल हालिन्छन्। मोहन वैद्य र सिपी गजुरेल किन पक्राउ परे? त्यो त खुलिसक्यो।

आफैँले आफैँलाई र आफ्नालाई सिध्याउने काम भइरहेको छ नेपालमा?

पुष्पलाल पनि नेपाली कांग्रेस, निर्मल लामा पनि नेपाली कांग्रेस थिए, पछि यिनीहरु कम्युनिस्ट भएर निस्के। यिनैले मुुलुकमा कम्युनिस्ट विचारधारा स्थापित गराए। त्योभन्दा अगाडि कहाँ कम्युनिस्ट थिए त, थिएनन् नि। उनीहरु बनाएकै कांग्रेसले हो। त्यसैले कांग्रेसमा धेरैजसो नेता 'मेड इन इन्डिया, फर इन्डिया, वर्किङ इन नेपाल फर इन्डिया' हुन्। यो सबै कुरा इन्डियाले पहिल्यै एक्सपोज गरिसकेका छन्।

यसो भन्दा तपाईँलाई डर लाग्दैन?

किन लाग्नु? मेरा साथीहरुलाई २००७ सालदेखि मार्दै ल्याएका छन् भने त्यसको पीडा मलाई छ नि! यो सबै जनताको निम्ति हो। त्यसैले मेरो नाम पनि पिएलएस त्यसै भएको होइन, 'पिपुल लभ सर्भिस' हो। मैले जनताको काम गर्ने हो, जनतालाई सूचना दिने हो कि देशमा यसो भइरहेको है छ भनेर।  

प्रकाशित: १९ भाद्र २०७३ ०४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App