७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

‘पर्यटकको रोजाइमा सुन्दर वन्यजन्तु कृष्णसार’

बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विनयकुमार झा

नागरिककर्मी निर्मल घिमिरेले बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विनयकुमार झासँग कृष्णसार संरक्षण क्षेत्रबारे गरिएको संवार्ता:

कृष्णसार संरक्षण क्षेत्रले पर्यटक भित्र्याउन सक्छ?

बर्दिया जिल्लाको खैरापुरको प्राकृतिक वासस्थानमा कृष्णसार बस्छ। नेपालका अन्यत्र जिल्लामा प्राकृतिक अवस्थामा कृष्णसार भेटिएको पाइँदैन। पछिल्लो समय यस ठाउँको महत्त्व बढ्दै छ। कृष्णसार आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्नु स्वाभाविक पनि हो। अझ पर्यटन सर्किटमा बर्दिया राष्ट्रिय निकुञ्जलाई राखिएमा र प्रचारप्रसार भएमा खैरापुरमा पर्यटकको घुइँचो लाग्छ।

संरक्षण क्षेत्रका चुनौती केके हुन्?

कृष्णसार संरक्षण क्षेत्रभित्र रहेको अतिक्रमित बस्ती व्यवस्थापन अनिवार्य गर्नुपर्ने काम हो। बाह्य मिचाहा वनस्पति पार्थेनियम, जाराकुश, कन्टकारी झार आदि प्रशस्त छन्। वर्षायाममा बाढीको जोखिम छ। भुस्याहा कुकुर व्यवस्थापन, चरिचरन नियन्त्रण, गौशला व्यवस्थापन हुन सकेको छैन । पर्यटनका लागि भौतिक पूर्वाधारको कमी छ। २०७२ सालमा लगाएको तारबारको अधिकांश भाग डिसमेन्टल भएको हुँदा पुन तारबार लगाउनै पर्छ ।

कृष्णसार संरक्षणमा समुदायको सहयोग कत्तिको पाउनुभएको छ?

२०७८ सालको फागुनमा हामीले कृष्णसार संरक्षण परिषद् गठन गरेपश्चात समुदायको सहयोग पाइएको छ। त्यति सहयोगले मात्र अलि पुगेको छैन। कृष्णसार संरक्षणमा सक्रिय सहभागिताको आवश्यकता औंल्याइएको छ। समुदायले जबर्जस्ती गाईभैंसी चरिचरन गराउँदा मन मुटाव भइरहन्छ। समुदायको संरक्षणमा सक्रियता बढाउन यस आर्थिक वर्षमा करिब २ महिना घरघाँस खुलाएका थियौं। समुदायलाई संरक्षणमा सक्रिय सहभागिता गराउन अझै प्रयास जारी छ।

रोग लागेर जनावर मर्न सक्ने जोखिम छ भनिन्छ नि?

गाई भैसीसँगै चरिचरन गर्दा खोरेत रोग लाग्न सक्छ। वन्यजन्तुलाई रोग लागे उपचार गर्न समस्या हुन्छ। त्यही भएर जथाभावी चरिचरन गराउँदा समस्या दोहोरिन सक्छ। धेरै पहिला एकपटक खोरेत रोगको लक्षण देखिएको थियो। रोगको जोखिमबाट हामी सचेत छौं ।

के गर्दा कृष्णसार संरक्षणमा सहयोग पुग्छ?

संरक्षण क्षेत्रमा कुकुर नपाल्ने, भुस्याहा कुकुर देखिएमा धपाउने कर्तव्य समुदायले आफ्नै ठान्नुपर्छ। संरक्षण क्षेत्रभित्र जथाभावी विकास निर्माण तथा भौतिक संरचना नबनाउने, बनाउनैपर्ने भए कार्यालयको स्वीकृति लिएर मात्र बनाउने थितिको विकास गर्नुपर्ने देखिन्छ। कहिलेकाहीं कृष्णसार वासस्थान क्षेत्रबाहिर जाँदा सुरक्षित तरिकाले फिर्ता गर्न र गराउन सचेत हुनुपर्ने देखिन्छ।

अहिले वर्तमान अवस्थामा स्थानीय सरकारको पहलमा पर्यापर्यटनको विकास भएमा प्रकृति संरक्षणमा सहयोग पुग्ने देखिन्छ। कार्यालयबाट सञ्चालन भएका विभिन्न कार्यक्रम एवम् स्थानीय सरकार र समुदायको सक्रिय सहभागिताबाट कृष्णसार संरक्षणमा टेवा पुग्छ।

भविष्यमा जिनको समस्या देखिने चुनौती छ र?

जिनको समस्या त देखिन सक्छ। २०३२ सालमा ९ वटाबाट सुरु भएको यो संरक्षण क्षेत्रमा हाल यतिका संख्यामा कृष्णसार थपिएका छन्। त्यही वंशविधिबाट हाल यसरी कृष्णसारको संख्यामा वृद्धि भएको हो। बच्चा जन्माउने बेलामा माउले मरेका एवम् अपाङ्ग बच्चालाई छाडेर भाग्ने अवस्थाको अध्ययन गरेर हामी जेनेटिक अध्ययन गर्नुपर्छ भन्ने तयारीमा छौं।

प्रकाशित: १४ माघ २०७९ ०३:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App