८ आश्विन २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युक्रेन युद्धमा नेपालसहित ४७ देशका नागरिक संलग्न भएको जेलेन्स्कीको दाबी

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका नागरिकलाई लडाकूका रूपमा प्रयोग गरिरहेको दाबी गेका छन्। संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै उनले रुससँग सैन्य सहकार्य गरिरहेको उत्तर कोरियाका दुई सैनिकलाई युक्रेनले पक्राउ गरी दक्षिण कोरिया पठाएको जानकारी दिए।

जेलेन्स्कीले घाना, नेपाल र भारतलगायत देशका नागरिक रुसी पक्षबाट युद्धमा संलग्न रहेको दाबी गरे। उनका अनुसार सन् २०२५ मा रुसको कुर्स्क क्षेत्रमा पक्राउ परेका दुई उत्तर कोरियाली सैनिकलाई हालै दक्षिण कोरिया पठाइएको हो।

दक्षिण कोरियाको विदेश मन्त्रालयले सैनिकहरूलाई युक्रेनबाट दक्षिण कोरिया पठाइएको विषयमा प्रत्यक्ष पुष्टि गरेको छैन। यद्यपि युक्रेन तथा सम्बन्धित पक्षसँग सैनिकहरूको स्वतन्त्र इच्छाको सम्मान र अन्तर्राष्ट्रिय कानून तथा मानवीय सिद्धान्तअनुसार विषय टुङ्ग्याउन परामर्श भइरहेको जनाएको छ। सैनिकहरूको स्थानान्तरणसम्बन्धी विवरण भने संवेदनशील विषय भन्दै सार्वजनिक गरिएको छैन।

रुस र उत्तर कोरियाले सन् २०२५ को अप्रिलमा आफ्ना सैनिकले कुस्र्क क्षेत्रमा युक्रेनविरुद्ध सँगै लडेको पुष्टि गरेका थिए। दक्षिण कोरियाली गुप्तचर निकायले उत्तर कोरियाले सन् २०२४ को अक्टोबरदेखि रुसमा करिब १५ हजार सैनिक पठाएको र त्यसमध्ये करिब दुई हजारको मृत्यु भएको अनुमान गरेको थियो।

यसैबीच, जेलेन्स्कीले फिनल्यान्ड, अस्ट्रेलिया तथा अन्य साझेदारसँग ड्रोन र सुरक्षा सहकार्य विस्तार भइरहेको बताए। क्यानाडासँग पनि ड्रोनसम्बन्धी सम्झौताको तयारी भइरहेको उनले जानकारी दिए।

आगामी हिउँदमा रुसी ताप तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्न सक्ने चेतावनी दिँदै उनले रुसले युक्रेनका नागरिक ताप तथा इन्धन पूर्वाधारमा आक्रमण गर्दै आएको दाबी गरे। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुस र युक्रेनलाई एकअर्काको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न वासिङ्टनले दबाब दिइरहेको बताएको केही घण्टापछि उनको यस्तो भनाइ आएको हो।

जेलेन्स्कीले युक्रेनको उद्देश्य रुसको पेट्रोल तथा डिजेल आपूर्ति नष्ट गर्नु नभइ युद्धका लागि आवश्यक आम्दानीको प्रमुख स्रोतमा असर पार्नु रहेको स्पष्ट पारे। उनले रुससँगको व्यापारबाट प्राप्त आम्दानीले युद्ध लम्बिन सक्ने दाबी गर्दै व्यापार सीमित गर्न आग्रह गरे।

प्रकाशित: ८ आश्विन २०८३ १३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App