२ असार २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सीको उत्तर कोरिया भ्रमण : ताइवान मुद्दामा पाए किमको समर्थन

चिनियाँ राष्ट्रपति सी जिनपिङ उत्तर कोरियाको भ्रमण सकेर मंगलबार स्वदेश फर्किएका छन्। सात वर्षमा पहिलो पटक सोमबार राजधानी प्योङयाङ पुगेका सीले उत्तर कोरियाली नेता किम जोङ उनसँग द्विपक्षीय वार्ता गर्दै दुई देशबिचको परम्परागत गठबन्धन र मित्रतालाई ब्युँताउने संयुक्त प्रयासमा जोड दिएका थिए।

शिखर सम्मेलनका क्रममा सीले व्यापार, कृषि, निर्माण र प्रविधि जस्ता क्षेत्रमा सहयोग विस्तार गर्ने इच्छा व्यक्त गरे। उत्तर कोरियाली नेता किमले दुई देशको मित्रतालाई 'सबैभन्दा महत्त्वपूर्ण प्राथमिकता रणनीतिक कार्य' का रूपमा अगाडि बढाउने बताए। साथै, किमले ताइवान जलडमरूको दुवै किनारा एउटै देशको हो भन्ने बेइजिङको 'एक-चीन सिद्धान्त' प्रति आफ्नो पूर्ण समर्थन रहेको पुन: पुष्टि गरे।

भ्रमणको दोस्रो दिन सी र किमले सन् १९५०-५३ को कोरियाली युद्धमा उत्तर कोरियासँग मिलेर लडेका चिनियाँ सैनिकहरूको सम्मानमा निर्मित 'उत्तर कोरिया-चीन मैत्री टावर' को भ्रमण गरेका थिए। सो अवसरमा उनीहरूले दुई देशको ऐतिहासिक मित्रता र अमेरिका विरुद्धको प्रतिरोधको भावनालाई अगाडि बढाउनु पर्ने कुरामा जोड दिए। नेताहरूले वर्कर्स पार्टीको तालिम विद्यालयको भ्रमण गरी सम्बन्धको प्रतीक स्वरूप देवदारुको रूख समेत रोपेका थिए।

'चीन र उत्तर कोरियाबिचको पारस्परिक समझदारी गहिरो र व्यापक भएको छ, र भविष्यको विकासको दिशा स्पष्ट र परिभाषित भएको छ,' सीले प्रस्थान गर्नुअघि आयोजित दिवाभोजमा भने।

विज्ञहरूका अनुसार उत्तर कोरियाको विदेश नीति हालका वर्षहरूमा रुसतर्फ ढल्किएका बेला सीले प्योङयाङमा चीनको विशेष प्रभाव ब्युँताउने उद्देश्यले यो भ्रमण गरेका हुन्। उत्तर कोरियामाथि प्रभाव कायम राख्दा सीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको रणनीतिमा फाइदा पुग्ने विश्लेषण गरिएको छ। ट्रम्पले किमसँग पुनः कूटनीतिक वार्ता सुरु गर्ने इच्छा व्यक्त गर्दै आएका छन्।

यद्यपि, दुवै देशका सञ्चार माध्यमहरूले यस क्षेत्रको संवेदनशील सुरक्षा मुद्दा मानिएको उत्तर कोरियाको आणविक कार्यक्रम र अमेरिकासँगको सम्बन्धका बारेमा नेताहरूबिच छलफल भए वा नभएको बारेमा भने केही उल्लेख गरेका छैनन्। एजेन्सी 

प्रकाशित: २७ जेष्ठ २०८३ ०९:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App