भारत र पाकिस्तानबिच तनाव बढेपछि रोकिएको विवाहको सिलसिला फेरि अघि बढेको छ।
भारतको अपरेशन सिन्दूरपछि भिसा र वाघा-अटारी सीमाबाट आवागमनमा रोक लाग्दा भारतमा विवाह गर्न लागेका पाकिस्तानको सिन्ध प्रान्तका करिब १५० महिलाको विवाह रोकिएको थियो। अहिले उनीहरू वैकल्पिक हवाई मार्ग हुँदै भारत पुगेका छन्। नागपुरमा बसोबास गर्ने सिन्धी समुदायका नेता राजेश झम्बियाका अनुसार लामो प्रयासपछि भारत सरकारले सिन्धी महिला र उनीहरूका आफन्तलाई विवाहका लागि भारत आउन भिसा दिएको हो।
‘लामो पर्खाइ अन्ततः समाप्त भयो,’ झम्बियाले आइतबार भने। उनका अनुसार पाकिस्तानबाट आएका दुलही र उनीहरूका आफन्त मस्कट, दुबई, श्रीलंका, ओमान, बंगलादेशलगायत देश हुँदै भारत पुगेका हुन्। भारत प्रवेशका लागि उनीहरूले हवाई यात्रा गर्नुपर्ने सर्त राखिएको थियो।
यसअघि सिन्ध प्रान्तका परिवारहरू विवाहलगायत पारिवारिक कामका लागि पञ्जाबस्थित वाघा-अटारी सीमा हुँदै भारत आउने गरेका थिए। तर, अपरेशन सिन्दूरपछि अटारी मार्ग हुँदै भारत आउन चाहने पाकिस्तानी नागरिकको भिसा अस्वीकृत हुन थालेपछि विवाहहरू रोकिएका थिए।
अपरेशन सिन्दूर भारतले सन् २०२५ मा जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि सुरु गरेको सैन्य अभियान थियो। उक्त हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो। त्यसपछि भारत र पाकिस्तानबिचको आवागमनमा थप कडाइ गरिएको थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार विवाह रोकिएपछि समुदायका प्रतिनिधिले पाकिस्तानको सिन्ध प्रान्तको घोटकीमा रहेको शदानी दरबारका आध्यात्मिक प्रमुख सन्त युधिष्ठिरलाल शदानीसँग सम्पर्क गरेका थिए। उनी हाल रायपुरमा बस्छन्।
शदानी दरबारले भारतमा विवाह गर्न लागेका पाकिस्तानी महिलाको विवरण संकलन गरेको थियो। त्यस क्रममा नागपुर, रायपुर, जोधपुर, पुणेलगायत भारतका विभिन्न शहरमा विवाह तय भएका करिब १५० दुलहीको सूची तयार भएको झम्बियाले बताए।
त्यसपछि उक्त सूची भारतको गृह मन्त्रालयमा पठाएर दुलही र उनीहरूका परिवारलाई विवाहका लागि भारत आउन भिसा उपलब्ध गराउन आग्रह गरिएको थियो। गृह मन्त्रालयले उनीहरूलाई भारत आउन अनुमति दिए पनि हवाई मार्ग प्रयोग गर्नुपर्ने सर्त राखेको झम्बियाले बताए।
‘यस वर्ष अप्रिलदेखि पाकिस्तानबाट १५० दुलही र उनीहरूका परिवार विवाहका लागि दुबई, ओमान, श्रीलंका, बंगलादेश र अन्य देश हुँदै भारत पुगेका छन्। यसमा नागपुरका मात्रै १५ वटा विवाहका घटना छन्,’ उनले भने।
झम्बियाका अनुसार पाकिस्तानमा अझै करिब ३०० जना महिला भारतमा विवाह गर्न पर्खिरहेका छन्। उनीहरूका लागि पनि भिसा उपलब्ध गराउन समुदायले भारत सरकारसँग आग्रह गरेको छ।
वाघा-अटारी सीमा हुँदै सहज रूपमा हुने गरेको पारिवारिक आवागमन बन्द भएपछि भारतमा विवाह गर्न चाहने पाकिस्तानी परिवारले तेस्रो देश हुँदै हवाई यात्रा गर्नुपर्ने अवस्था आएको हो। एजेन्सी
प्रकाशित: ८ भाद्र २०८३ १२:१७ सोमबार




-600x400.jpg)
