भारतको दिल्लीमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीले बिरामी भान्जाको उपचारका लागि दिल्ली पुगेका वीर कुमारलाई पनि नियन्त्रणमा लिएको छ।
कुमारले आफू प्रदर्शनमा सहभागी नभए पनि प्रहरीले प्रदर्शनकारी भन्दै नियन्त्रणमा लिएको दाबी गरेका छन्।
भारतको निर्वाचन आयोगले मतदाता नामावलीमा गरेको विशेष गहन संशोधन (एसआईआर) प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै विपक्षी दल तथा विभिन्न समूहले ज्ञानेश कुमारको राजीनामा माग गरिरहेका छन्। शनिबार दिल्लीमा भएको प्रदर्शनका क्रममा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो। प्रदर्शनमा सहभागी हुन खोजेका विपक्षी नेता तथा कार्यकर्तालाई पनि विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको थियो। प्रहरीले पाँच हजारभन्दा बढीलाई हिरासतमा लिएको विवरण सार्वजनिक भएको छ।
‘इन्डियन एक्सप्रेस हिन्दी’ले सार्वजनिक गरेको भिडियोमा वीर कुमारले आफू भान्जाको उपचारका लागि दिल्ली आएको बताएका छन्।
उनका अनुसार उनका भान्जा विश्वजीत कुमार दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचाररत छन्। भान्जाका दुवै मिर्गौलामा समस्या देखिएपछि उपचारका लागि सांसद सुरेन्द्र प्रसाद यादवसँग सिफारिस लिन उनी दिल्ली पुगेका थिए।
कुमारले आफू सांसदको निवासमा बस्दै आएको र त्यहाँबाट अस्पताल जाने गरेको बताए। दिल्लीका बारेमा आफूलाई धेरै जानकारी नभएको पनि उनले बताएका छन्।
केही दिनअघि सडकमा जाम लागेको देखेपछि आफूले तस्बिर खिचेर घर पठाएको कुमारले बताए। त्यही तस्बिरका आधारमा प्रहरीले आफूलाई प्रदर्शनमा संलग्न भएको आशंकामा नियन्त्रणमा लिएको उनको दाबी छ।
‘मलाई दिल्लीको बारेमा केही थाहा छैन। म भान्जाको उपचारका लागि भौंतारिरहेको थिएँ। तर प्रहरीले मलाई पनि प्रदर्शनकारी भन्दै गाडीमा बसायो,’ उनले भने।
कुमारका अनुसार प्रहरीले उनको मोबाइल फोन खोसेर पासवर्डसमेत मागेको थियो। आफू कुनै प्रदर्शनमा सहभागी हुन नभई भान्जाको उपचारका लागि सहयोग जुटाउन दिल्ली आएको उनले बताए।
उनले आफू पूर्वसैनिक भएको र ३० वर्ष देशको सेवा गरेको पनि बताएका छन्। भान्जाको उपचारका लागि दुई दिनदेखि राम्रोसँग खानसमेत नपाएको उनको भनाइ छ।
कुमारसँग सांसद यादवको लेटरप्याडमा लेखिएको उपचारसम्बन्धी सिफारिस पत्र पनि रहेको भिडियोमा देखाइएको छ। उक्त पत्रमा उनका भान्जाको उपचारका लागि सहयोग गर्न आग्रह गरिएको विवरण छ। यद्यपि, पत्र देखाउँदा पनि प्रहरीले आफूलाई नियन्त्रणबाट मुक्त नगरेको कुमारको भनाइ छ।
प्रकाशित: २४ आश्विन २०८३ १७:५१ शनिबार





