संयुक्त राज्य अमेरिकाले सङ्घीय लागुऔषध तस्करीको आरोपमा फरारको सूचीमा रहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथिको इनाम बिहीबार दोब्बर गरेर पाँच करोड डलर पुर्याएको छ। यसलाई काराकासले ‘दयनीय’ र ‘हास्यास्पद’ भनेर वर्णन गरेको छ।
मदुरोका विगतका दुई चुनावी विजयलाई मान्यता नदिने वासिङ्टनले दक्षिण अमेरिकी देशका नेतामाथि कोकेन तस्करी गिरोहको नेतृत्व गरेको आरोप लगाएको छ।
'आज न्याय मन्त्रालय र विदेश मन्त्रालयले निकोलस मदुरोको गिरफ्तारीका लागि सूचना दिनेलाई ऐतिहासिक पाँच करोड डलर पुरस्कार दिने घोषणा गरेको छ,' महान्यायाधिवक्ता पाम बोन्डीले सामाजिक सञ्जालमा एक भिडियोमा भने, 'उहाँ विश्वका सबैभन्दा ठूला लागुऔषध तस्करमध्ये एक हुनुहुन्छ र हाम्रो राष्ट्रिय सुरक्षाका लागि खतरा हुनुहुन्छ।'
यसअघि जनवरीमा दुई करोड ५० लाख डलरको इनाम तय गरिएको थियो।
भेनेजुएलाका विदेशमन्त्री इभान गिलले बोन्डीको ‘दयनीय’ इनामलाई ‘हामीले देखेको सबैभन्दा हास्यास्पद धुवाँको पर्दा’ भनेका छन्।
'हाम्रो मातृभूमिको गरिमा बिक्रीका लागि होइन। हामी यो कच्चा राजनीतिक प्रचार अभियानलाई अस्वीकार गर्छौं,' गिलले टेलिग्राममा भने।
सन् २०२० मा राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा मदुरो र अन्य उच्च पदस्थ भेनेजुएलाका अधिकारीहरूलाई न्युयोर्कको सङ्घीय अदालतमा ‘नार्को–आतङ्कवाद’ षड्यन्त्रमा भाग लिएको लगायतका थुप्रै अभियोगमा दोषी ठहर गरिएको थियो।
न्याय मन्त्रालयले मदुरोमाथि ‘द कार्टेल अफ द सन्स’ नामक कोकेन तस्करी गिरोहको नेतृत्व गरेको आरोप लगाएको छ। उक्त गिरोहले दुई दशकमा सयौँ टन लागुऔषध संयुक्त राज्य अमेरिकामा पठाएर करोडौँ डलर कमाएको थियो।
अनुसन्धानकर्ताहरूका अनुसार यो कार्टेलले कोलम्बियाको विद्रोही क्रान्तिकारी सशस्त्र बल (एफएआरसी) सँग हात मिलाएर काम गरेको थियो। एफएआरसीलाई संयुक्त राज्य अमेरिकाले आतङ्कवादी सङ्गठन भनेर लेबल लगाएको छ।
बोन्डीका अनुसार मदुरोले भेनेजुएली गिरोह ट्रेन डे अरागुआ र मेक्सिकोको सिनालोवा कार्टेलसँग पनि काम गरेका थिए।
अमेरिकी लागुऔषध प्रवर्तन प्रशासन (डिइए) ले ‘मदुरो र उनका सहयोगीहरूसँग जोडिएको ३० टन कोकेन जफत गरेको छ। यसमा लगभग सात टन मदुरोसँग सम्बन्धित’ रहेको बोन्डीले बताए।
बोन्डीका अनुसार अमेरिकी सरकारले गत सेप्टेम्बरदेखि दुईवटा भेनेजुएली सरकारी विमानसहित मदुरोसँग जोडिएका ७० करोड डलरभन्दा बढी सम्पत्ति जफत गरेको छ।
'तर पनि मदुरोको आतङ्कको शासन जारी छ,' उनले भने, 'राष्ट्रपति ट्रम्पको नेतृत्वमा मदुरो न्यायबाट उम्कन सक्नुहुन्न र उहाँलाई आफ्नो घृणित अपराधका लागि जवाफदेही बनाइनेछ।'
पूर्व बस चालक तथा र ट्रेड युनियन कार्यकर्ता ६२ वर्षीय मदुरोलाई मुद्दा चलाउन सकियो र दोषी ठहर गरियो भने आजीवन कारावासको सामना गर्नुपर्नेछ।
अभियोगको समयमा, मदुरोले ‘झुटा, मिथ्या’ आरोप भनेर आलोचना गरेका थिए। जुन महिनामा भेनेजुएलाका पूर्व गुप्तचर प्रमुख ह्यूगो आर्मान्डो कार्भाजलले अमेरिकी लागुऔषध तस्करी र नार्को–आतङ्कवादको आरोपमा दोषी स्वीकार गरेका थिए।
मियामी हेराल्डले मुद्दासँग परिचित स्रोतहरूलाई उद्धृत गर्दै कार्भाजलले अमेरिकी अधिकारीहरूलाई मदुरोलाई फसाउने कागजात र गवाही प्रदान गर्ने प्रस्ताव राएको बताएको थियो।
वासिङ्टन र काराकासबीचको सम्बन्ध वर्षौँदेखि बिग्रँदै गएको छ। अमेरिकी सरकारले सन् २०१३ मा पहिलो पटक पदभार ग्रहण गर्ने मदुरोलाई भेनेजुएलाको विधिवत् निर्वाचित राष्ट्रपतिको रूपमा मान्यता दिएको छैन। यसलाई विदेश मन्त्रालयले ‘गहिरो त्रुटिपूर्ण २०१८ को राष्ट्रपति चुनाव’ भनेको छ।
'सन् २०२४ जुलाई २८ को भेनेजुएलाको राष्ट्रपति चुनावमा मदुरोले यसको विपरीत प्रमाणका बावजुद छलपूर्वक आफूलाई विजयी घोषणा गर्नुभयो,' विदेश मन्त्रालयले जनवरीमा पहिलेको इनामको घोषणामा भन्यो, 'सन् २०२४ जुलाईको राष्ट्रपति चुनावको वैध विजेताका रूपमा मदुरोलाई मान्यता दिन अस्वीकार गर्ने अन्य धेरै देशसँग संयुक्त राज्य अमेरिका पनि सामेल भयो।'
वासिङ्टनले मादुरोको सरकारमाथि आर्थिक प्रतिबन्ध लगाएको छ। आफ्नो तर्फबाट, मदुरोको सरकारले लामो समयदेखि भेनेजुएलामा अमेरिकी हस्तक्षेपको निन्दा गर्दै आएको छ।
बिहीबार गृहमन्त्री डियोस्डाडो क्याबेलोले राजधानी काराकासको व्यापारिक क्षेत्रमा भएको बम आक्रमणलाई सुरक्षा सेवाले विफल पारेको घोषणा गरे।
भेनेजुएलाका अधिकारीहरूले प्रायः त्यस्ता मामिलाहरूमा गर्ने जस्तै क्याबेलोले अमेरिका र भेनेजुएलाको विपक्षीलाई असफल आक्रमणलाई उक्साएको आरोप लगाए। एजेन्सी
प्रकाशित: २३ श्रावण २०८२ १३:४७ शुक्रबार





