संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महिला, शान्ति र सुरक्षा एजेन्डालाई अगाडि बढाउन थप प्रयास गर्न आह्वान गरेका छन्।
शान्ति र सुरक्षामा महिलाको सहभागिता सुनिश्चित भए शान्ति प्रक्रिया दिगो हुने सम्भावना बढी रहने गुटेरेसले बताएका छन्। महिलाले आफ्नो समुदायको भविष्य निर्माणमा समान अवसर पाए स्थिरता बढ्ने र डर तथा हिंसाबाट मुक्त रहन सके समाज बलियो हुने उनले बताए।
महिला, शान्ति र सुरक्षासम्बन्धी सुरक्षा परिषद्को खुला बहसमा बोल्दै गुटेरेसले तत्काल तीन क्षेत्रमा काम गर्न आह्वान गरेका छन्।पहिलो, महिला, शान्ति र सुरक्षासम्बन्धी सुरक्षा परिषद्का ऐतिहासिक प्रस्तावप्रतिको प्रतिबद्धता पूरा गर्नुपर्नेमा उनले जोड दिएका छन्। प्रत्येक शान्ति प्रक्रिया र सम्झौतामा महिलाका आवश्यकता प्रतिबिम्बित हुनुपर्ने उनको भनाइ छ।
गत वर्ष ५७ वटा शान्ति प्रक्रियामा महिलाले वार्ताकारका रूपमा जम्मा पाँच प्रतिशत प्रतिनिधित्व गरेको उल्लेख गर्दै गुटेरेसले विश्वव्यापी शान्ति सम्झौतामध्ये पाँच भागको एक भागभन्दा कममा मात्र महिला, लैङ्गिक वा यौन हिंसासम्बन्धी कम्तीमा एउटा सन्दर्भ समावेश गरिएको बताए।
महिला, शान्ति र सुरक्षासम्बन्धी प्रतिबद्धता गरेको २६ वर्षपछि पनि कार्यान्वयनमा रहेको अन्तर अस्वीकार्य भएको उनले बताए। दिगो शान्तिले महिला र बालिकासहित सबैको नेतृत्व, आकाङ्क्षा र योगदानलाई प्रतिबिम्बित गर्नुपर्ने उनको भनाइ छ।
उनले सबै शान्ति प्रक्रिया, संवाद, युद्धविराम र शान्ति सम्झौतामा महिला तथा बालिकाका विविध आवश्यकता अपवादबिना समेटिनुपर्ने बताए। द्वन्द्व प्रभावित क्षेत्रमा महिला सङ्गठन र जबर्जस्ती विस्थापनमा परेकाहरूलाई सहयोग गर्ने संस्थालाई समर्थन गर्नु आवश्यक रहेको उनले उल्लेख गरे।
गुटेरेसले सबै देशलाई आधिकारिक विकास सहायता प्रतिबद्धता पूरा गर्न र द्वन्द्वको अवस्थामा महिलालाई सहयोग गर्ने संस्थाका लागि तत्काल कोष पुनःस्थापित गर्न आह्वान गरे।
दोस्रो क्षेत्रमा द्वन्द्व प्रभावित महिला तथा महिला सङ्गठनलाई आवश्यक सहयोग र वित्तीय स्रोत उपलब्ध गराउनुपर्नेमा उनले जोड दिएका छन्। महिलाको सहभागिता र नेतृत्व सुनिश्चित गर्न पर्याप्त स्रोतसाधन परिचालन गर्नुपर्ने उनको भनाइ छ।
तेस्रो, महिलाविरुद्ध हुने हिंसामा शून्य सहनशीलताको नीति लागू गर्नुपर्ने उनले बताए। लैङ्गिक हिंसाबाट पीडित महिलादेखि शान्ति निर्माण, सामुदायिक सङ्गठन, मानव अधिकार संरक्षण र मानवीय सेवामा अग्रपङ्क्तिमा खटिएका महिलासम्म सबैको सुरक्षा सुनिश्चित गर्नुपर्ने उनले उल्लेख गरे।
गुटेरेसले महिला तथा बालिकाविरुद्ध हिंसा गर्ने व्यक्तिलाई पूर्ण रूपमा जवाफदेही बनाउन आह्वान गरे। यस्ता हिंसा रोक्ने प्रतिबद्धता कार्यान्वयन गर्ने, उल्लङ्घनका घटनाको अभिलेखीकरण गर्ने र न्यायका लागि पैरवी गर्ने काम संयुक्त राष्ट्रसङ्घले निरन्तर जारी राख्ने उनले बताए। महिला मानवीय सहायता कार्यकर्तामाथिका सबै प्रतिबन्ध हटाउन र उनीहरूको पूर्ण सुरक्षा सुनिश्चित गर्नसमेत उनले आग्रह गरे।
लैङ्गिक हिंसासम्बन्धी जवाफदेहिता बलियो बनाउन राज्यहरूले थप प्रयास गर्नुपर्ने गुटेरेसको भनाइ छ। महिला, शान्ति र सुरक्षासम्बन्धी प्रतिबद्धतालाई घरेलु कानुन तथा नीतिमा समावेश गर्ने, महिलाको आर्थिक सुरक्षा सुनिश्चित गर्ने, द्वन्द्व प्रभावित क्षेत्रमा महिला सङ्गठनलाई सहयोग बढाउने र लैङ्गिक असमानतासम्बन्धी सूचनाको अभाव हटाउनुपर्ने उनले सुझाव दिए।
समानता सपना नभई निर्णयको विषय भएको उल्लेख गर्दै गुटेरेसले लैङ्गिक समानताप्रतिको प्रतिबद्धताले संयुक्त राष्ट्रसङ्घलाई बलियो बनाएको बताए। शान्ति स्थापना तथा राजनीतिक प्रक्रिया, बजेट र नीतिमा महिलाको सहभागिता सुनिश्चित गर्ने विषयमा विश्वले पनि स्पष्ट निर्णय लिनुपर्ने उनको भनाइ छ।
द्वन्द्वलगायत सबै परिस्थितिमा महिलाको अधिकार र शारीरिक स्वायत्तताको रक्षा गर्नु शान्ति तथा सुरक्षा निर्माणका लागि आवश्यक रहेको उनले बताए।
प्रकाशित: ११ कार्तिक २०८३ १७:१५ बुधबार





