चिनियाँ राष्ट्रपति सी चिनफिङ तीनदिने राजकीय भ्रमणका लागि अमेरिका पुगेका छन्। अमेरिकाको राजधानी वासिङ्टन पुगेका राष्ट्रपति सीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोइन्ट बेस एन्ड्र्युज विमानस्थलको रनवेमै पुगेर भव्य स्वागत गरे।
सीको यो तीन वर्षपछिको अमेरिका भ्रमण हो भने सन् २०१५ पछि पहिलोपटक राजधानी वासिङ्टनमा भएको ऐतिहासिक राजकीय भ्रमण हो। एक दशकभन्दा बढी समयपछि भएको यस भ्रमणको औपचारिक कार्यक्रमलाई दुवै देशले विशेष महत्व दिएका छन्।
राष्ट्रपति सीका साथमा प्रथम महिला पेङ लियुआन, चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारी छाई छी तथा विदेशमन्त्री वाङ यीसहितको उच्चस्तरीय प्रतिनिधिमण्डल अमेरिका पुगेको छ।

भ्रमणको मुख्य कार्यतालिका अनुसार बिहीबार ह्वाइट हाउसमा विशेष औपचारिक स्वागत समारोहको आयोजना हुँदै छ। उक्त समारोहमा चार सय ७९ जना अमेरिकी सैन्यकर्मी सहभागी हुनेछन् भने विशेष सैन्य प्रदर्शन तथा विमान उडान (फ्लाइओभर) समेत हुने कार्यक्रम छ। सैन्य सम्मानपछि दुई राष्ट्रपतिबिच ह्वाइट हाउसमा द्विपक्षीय भेटवार्ता र उच्चस्तरीय छलफल हुनेछ।
सोही दिन साँझ ट्रम्पले सी र उनकी पत्नी पेङ लियुआनको सम्मानमा राजकीय भोज (स्टेट डिनर) को आयोजना गर्नेछन्। भ्रमणको अन्तिम दिन शुक्रबार दुई नेताबिच ह्वाइट हाउसमा अनौपचारिक चिया भेट हुनेछ। उनीहरूले संयुक्त रूपमा नेसनल आर्काइभ्सको भ्रमण गर्ने कार्यतालिका पनि रहेको छ। विश्वका दुई शक्तिशाली राष्ट्रप्रमुखबिच हुन लागेको यस भेटवार्ता र सम्भावित सम्झौताहरूलाई विश्वभर निकै चासोका साथ हेरिएको छ।

भेटवार्तामा एआई, व्यापार, दुर्लभ खनिज, सेमिकन्डक्टर चिप, ताइवान र इरान प्रमुख विषयका रूपमा रहनेछन्। यी विषयले अहिले अमेरिका–चीन सम्बन्धको मुख्य स्वरूप देखाउँछन्, जहाँ व्यापारिक विवादसँगै प्रविधि, आपूर्ति शृंखला, राष्ट्रिय सुरक्षा र भू–राजनीतिक प्रतिस्पर्धा पनि जोडिएको छ। पछिल्लो समय दुवै देशले एकअर्कामाथि व्यापक शुल्क लगाउने नीतिबाट केही हदसम्म संवेदनशील कम्पनी, उत्पादन र प्रविधिलाई लक्षित गर्ने नीतितर्फ ध्यान दिएका छन्।
यसपटकको ट्रम्प–सी वार्तामा एआई सबैभन्दा नयाँ र महत्वपूर्ण अजेन्डामध्ये एक बनेको छ। अमेरिका र चीन दुवै एआई विकासमा विश्वको नेतृत्व हासिल गर्ने दौडमा छन्। ट्रम्पले एआईमा अगाडि रहनुलाई अमेरिकी आर्थिक र राष्ट्रिय सुरक्षा हितसँग जोड्दै आएका छन्। चीनले पनि मुनसट एआई र डिपसिकजस्ता कम्पनीमार्फत आफ्ना एआई मोडलको क्षमता विस्तार गरिरहेको छ। यसले एआईलाई दुई देशबिचको व्यापारिक प्रतिस्पर्धाभन्दा धेरै ठुलो रणनीतिक विषय बनाएको छ।

एआईबारे ट्रम्पले मंगलबार संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनले पनि यस विषयलाई थप चर्चामा ल्याएको छ। उनले अमेरिकी सरकारी दस्तावेजमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ अर्थात् कृत्रिम बुद्धिमत्ताको सट्टा ‘सुपर इन्टेलिजेन्स’ शब्द प्रयोग गर्नुपर्ने धारणा राखेका छन्। ‘आर्टिफिसियल’ शब्दले बुद्धिमत्तालाई कृत्रिम वा नक्कली जस्तो देखाउने उनको तर्क थियो। उनले एआई विकासलाई रोक्ने वा अत्याधिक नियमन गर्ने विश्वव्यापी प्रयासको विरोध गर्दै अमेरिकाले प्रविधिको विकासमा अगाडि रहनुपर्ने बताएका छन्।
प्राविधिक क्षेत्रमा भने ‘सुपर इन्टेलिजेन्स’ पहिले नै प्रयोग हुँदै आएको शब्द हो। सामान्यतया यसले मानिसको बौद्धिक क्षमताभन्दा माथि पुग्ने एआई प्रणालीलाई जनाउँछ। यस्ता प्रणालीको विकाससँगै यसको सुरक्षा, मानिसको नियन्त्रण र सम्भावित दुरुपयोगबारे बहस हुन थालेका छन्।
केही एआई अनुसन्धानकर्ता तथा प्रविधि कम्पनीका प्रमुखले विकासको गति र सम्भावित जोखिमबारे थप सुरक्षा व्यवस्था आवश्यक रहेको बताएका छन्। ट्रम्प प्रशासन भने अत्याधिक नियमनले अमेरिकी एआई उद्योगको विकास सुस्त बनाउन सक्ने भन्दै हल्का नियमनको पक्षमा छ।
ट्रम्पले एआईको विकास र नियमन हेर्न ‘एआई फोर्स’ गठन गर्ने तथा त्यसका लागि ‘एआई जार’ नियुक्त गर्ने योजना पनि सार्वजनिक गरेका छन्। उनले एआई उद्योगको विकास रोक्ने कुनै कदम स्वीकार नगर्ने बताएका छन्।
अमेरिकाभित्रै भने एआई नियमनबारे बहस जारी छ। केही सांसदले सुरक्षा मापदण्ड, स्वतन्त्र परीक्षण तथा गम्भीर जोखिम देखिएमा एआई प्रणाली रोक्न सकिने संयन्त्रको पक्षमा आवाज उठाएका छन्। उद्योग क्षेत्रको एउटा धाराले कडा नियमनले लगानी र प्रविधि विकासमा असर पार्न सक्ने तर्क गर्दै आएको छ।
एआईको विकासबारे अमेरिका र चीनबिच प्रतिस्पर्धा तीव्र भइरहे पनि यसको सम्भावित जोखिम व्यवस्थापनमा सीमित सहकार्यको सम्भावना देखिएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री ह लिफङबिच न्युयोर्कमा भएको वार्ताका क्रममा अमेरिकाले राष्ट्रिय सुरक्षामा असर पार्न सक्ने एआई घटनाबारे दुई देशबिच सूचना आदानप्रदान गर्ने ‘नोटिफिकेसन मेकानिज्म’ प्रस्ताव गरेको बेसेन्टले बताएका छन्। यस्तो संयन्त्र बनेमा एआई प्रयोग गरेर हुने गम्भीर साइबर आक्रमण, जैविक क्षेत्रमा सम्भावित दुरुपयोग, महत्वपूर्ण पूर्वाधारमा असर, ठुला एआई मोडलमा गम्भीर समस्या वा मानिसको नियन्त्रणबाट प्रणाली बाहिर जाने अवस्थाबारे जानकारी आदानप्रदान गर्न सकिनेछ।
अमेरिकाले चीनलाई अत्याधुनिक एआई चिप र सम्बन्धित प्रविधिमा पहुँच सीमित गर्दै आएको छ। अमेरिकी अधिकारीहरूले चिनियाँ कम्पनीहरूले अमेरिकी एआई मोडलबाट ‘डिस्टिलेसन’ गरेर आफ्ना प्रणाली विकास गर्ने गरेको आरोप लगाउँदै आएका छन्।
चीनले भने यस्तो अभ्यास व्यापक रूपमा प्रयोग हुने र अमेरिकी कम्पनीहरूले पनि यसको प्रयोग गर्ने बताउँदै अमेरिकी निर्यात नियन्त्रणको आलोचना गरेको छ। चीनले अत्याधुनिक चिपमा बाह्य निर्भरता घटाउन घरेलु सेमिकन्डक्टर उद्योगलाई समेत तीव्र रूपमा विस्तार गरिरहेको छ।

एआईको विश्वव्यापी नियमनमा पनि अमेरिका र चीनका धारणा फरक छन्। चीनले विकासोन्मुख देशहरूलाई समेत समेटेर अन्तर्राष्ट्रिय एआई सुरक्षा मापदण्ड बनाउनुपर्ने धारणा अघि सार्दै आएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि एआईको विकासमा सुरक्षा र नियमन आवश्यक रहेको बताएका छन्। तर अमेरिका एआई विकासमा आफ्नो गति रोक्ने खालको कडा अन्तर्राष्ट्रिय नियन्त्रणको पक्षमा देखिएको छैन।
व्यापार र दुर्लभ खनिज
व्यापार ट्रम्प–सी वार्ताको पुरानै तर अझै महत्वपूर्ण विषय हो। दुई देशबिचको विवाद उच्च शुल्कबाट सुरु भएर अहिले प्रविधि, कम्पनी, उत्पादन र आपूर्ति शृंखलामा लक्षित नियन्त्रणसम्म पुगेको छ। अमेरिकाले चिनियाँ दूरसञ्चार तथा निगरानी उपकरण, उन्नत रोबोट र ड्रोन तथा केही चिनियाँ कम्पनीलाई अमेरिकी बजार र रक्षा क्षेत्रमा पहुँच रोक्ने प्रयास गरेको छ। चीनले पनि अमेरिकी कम्पनीमाथि प्रतिबन्ध तथा महत्वपूर्ण प्रविधि र ड्रोनसम्बन्धी निर्यात नियन्त्रण लगाउँदै आएको छ।
अमेरिकाले चिनियाँ उत्पादनमा शुल्क लगाउँदा जबर्जस्ती श्रम, अत्याधिक उत्पादन र व्यापार असन्तुलनजस्ता विषयलाई आधार बनाउँदै आएको छ। चीनले भने अमेरिकी व्यापार नीतिले आफ्ना उद्योगलाई लक्षित गरेको आरोप लगाउँदै आएको छ।
पछिल्लो समय केही व्यापारिक तनाव घटाउने प्रयास भए पनि दुवै देशबिचका आधारभूत विवाद समाधान भएका छैनन्। त्यसैले यसपटकको वार्तामा शुल्क, बजार पहुँच र पहिले भएका व्यापारिक समझदारी कार्यान्वयनको विषय उठ्ने अपेक्षा गरिएको छ। मे महिनामा भएको समझदारीअन्तर्गत कृषि उत्पादन, बोइङ विमान र लगानीसम्बन्धी विषयमा अपेक्षाअनुसार प्रगति नभएको रिपोर्टहरूमा उल्लेख छ।
दुर्लभ खनिज भने व्यापार र राष्ट्रिय सुरक्षाबिच जोडिएको विषय हो। विद्युतीय सवारीसाधन, इलेक्ट्रोनिक्स, ब्याट्री, सेमिकन्डक्टर तथा अत्याधुनिक रक्षा उपकरण निर्माणमा आवश्यक पर्ने धेरै दुर्लभ खनिजको आपूर्तिमा चीनको महत्वपूर्ण भूमिका छ।
चीनले यसअघि यस्ता खनिज तथा त्यसबाट बनेका सामग्रीको निर्यातमा नियन्त्रण कडा बनाएको थियो। त्यसपछि अमेरिकाले चीनमाथिको निर्भरता घटाउन अन्य देशबाट आपूर्ति बढाउने तथा आफ्नै उत्पादन क्षमता विस्तार गर्ने प्रयास गर्दै आएको छ।
दुर्लभ खनिजको आपूर्ति स्थिर राख्ने विषयमा हुने वार्ता व्यापारिक मूल्यमा मात्र सीमित हुने छैन। अमेरिकी उद्योग र रक्षा क्षेत्रमा यसको महत्व भएकाले वासिङ्टनले यसलाई रणनीतिक विषयका रूपमा हेर्दै आएको छ। चीनका लागि भने दुर्लभ खनिजको आपूर्ति विश्वव्यापी उत्पादन शृंखलामा आफ्नो प्रभाव कायम राख्ने महत्वपूर्ण माध्यम हो। त्यसैले निर्यात अनुमति, आपूर्ति स्थिरता र रणनीतिक सामग्रीको व्यापार यसपटकको वार्तामा महत्वपूर्ण बन्न सक्छ।
ताइवान र इरान
ताइवान ट्रम्प–सी वार्ताको सबैभन्दा संवेदनशील सुरक्षा विषयमध्ये एक हो। ताइवान स्वशासित रूपमा सञ्चालन हुँदै आएपनि चीनले त्यसलाई आफ्नो भूभाग मान्छ। अमेरिकाले ताइवानलाई आत्मरक्षाका लागि आवश्यक हतियार र प्रविधि उपलब्ध गराउँदै आएको छ। अमेरिकी कानुनले पनि ताइवानको आत्मरक्षाका लागि आवश्यक रक्षा क्षमता उपलब्ध गराउने नीतिलाई आधार दिएको छ।

ट्रम्पले चीनसँगको सम्बन्धमा तनाव बढ्न नदिने प्रयासका क्रममा ताइवानका लागि प्रस्तावित ठूलो हतियार प्याकेज केही समय रोकेका थिए। चीनले लामो समयदेखि अमेरिकालाई ताइवानलाई हतियार बिक्री नगर्न र ताइवानसँगको सुरक्षा सम्बन्ध नबढाउन आग्रह गर्दै आएको छ। त्यसैले सीले ट्रम्पसँगको भेटमा अमेरिकी हतियार बिक्री, ताइवानसँगको सुरक्षा सहकार्य र वासिङ्टनको समग्र ताइवान नीतिको विषय उठाउने अपेक्षा गरिएको छ। ताइवानले भने अमेरिकी हतियार बिक्री जारी रहने विश्वास व्यक्त गरेको छ।
इरान पनि अमेरिका–चीन सम्बन्धमा जोडिएको अर्को संवेदनशील विषय हो। ट्रम्प प्रशासनले इरानलाई आर्थिक तथा कूटनीतिक रूपमा अलग पार्ने नीति अपनाएको छ तर चीन इरानसँग व्यापारिक सम्बन्ध कायम राख्दै आएको छ।
बेइजिङ तेहरानको प्रमुख तेल खरिदकर्तामध्ये एक हो। इरानसँग चीनको व्यापारिक सम्बन्ध ठुलो भएकाले वासिङ्टनको इरान नीतिले बेइजिङको आर्थिक हितलाई पनि प्रभावित गर्न सक्छ। अमेरिकाले चीनमाथि इरानका कारण थप दबाब बढाउँदा दुई देशबिचको सम्बन्धमा अर्को तनाव थपिन सक्ने भएकाले यो विषय पनि वार्तामा संवेदनशील रहनेछ।
चीनले अमेरिकी नेतृत्वको वित्तीय प्रणालीबाहिर रहेर इरानसँग व्यापार गर्न सकिने वैकल्पिक भुक्तानी संयन्त्र विकास गर्ने प्रयास गरिरहेको छ। त्यसैले इरानको विषय व्यापार र सुरक्षा दुवैसँग जोडिएर दुई नेताबिच उठ्न सक्छ।
प्रतिस्पर्धाबिच संवाद
ट्रम्प र सीबिचको भेटवार्ता यस्तो समयमा भइरहेको छ, जब दुई देशबिचको प्रतिस्पर्धा व्यापार र आर्थिक सम्बन्धमा मात्र सीमित छैन। एआई, सेमिकन्डक्टर, दुर्लभ खनिज, रक्षा प्रविधि र आपूर्ति शृंखलासम्म प्रतिस्पर्धा विस्तार भएको छ। संवेदनशील क्षेत्रमा एकअर्कामाथिको निर्भरता घटाउने प्रयास भइरहे पनि दुवै देशले उच्चस्तरीय संवादको बाटो भने खुला राखेका छन्।
यसपटकको भेटवार्ताबाट ठुलो ‘ग्रान्ड बार्गेन’ हुने अपेक्षा कम गरिएको छ। बरु व्यापारिक तनावलाई नियन्त्रणमा राख्ने, यसअघि भएका समझदारी कार्यान्वयन गर्ने, दुर्लभ खनिजको आपूर्ति र प्रविधि नियन्त्रणबारे संवाद अघि बढाउने तथा एआईजस्ता नयाँ क्षेत्रमा आकस्मिक जोखिम व्यवस्थापन गर्ने विषय बढी महत्वपूर्ण बन्न सक्छन्। यसअघिका उच्चस्तरीय भेटमा पनि दुवै पक्षले प्रतिस्पर्धाका बिच संवाद कायम राख्ने प्रयास गर्दै आएका छन्।(एजेन्सीको सहयोगमा)
प्रकाशित: ८ आश्विन २०८३ ०८:३६ बिहीबार





