सबैलाई थाहा छ कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग रिसाएका छन्। तर, उनी इरानसँगै होर्मुजको जलमार्गमा अवस्थित सानो देश ओमानसँग पनि खुसी छैनन्।
इरान र अमेरिकाबिच तनाव बढेदेखि ओमानले मध्यस्थकर्ताको भूमिका खेल्दै आएको छ। तर, आफ्नो भूगोलका कारण ओमान अहिले तेहरानसँग जलमार्गको व्यवस्थापनबारे वार्ता गर्नुपर्ने असहज स्थितिमा फसेको छ।
ट्रम्पले हालै यदि ओमान ‘बाटोमा आयो’ भने अमेरिकाले त्यहाँ बम आक्रमण गर्ने धम्की दिएका थिए। यो ट्रम्पले दिएको पहिलो यस्तो धम्की भने होइन। ओमानको विदेश मन्त्रालयले ट्रम्पको धम्कीबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन। दुई क्षेत्रीय अधिकारीका अनुसार ट्रम्प ओमानसँग रिसाउनुको कारण होर्मुज जलमार्गमा इरानसँग ओमानको बढ्दो निकटता र सम्झौताको प्रयास हो।
ट्रम्प अहिले चर्को दबाबमा छन्। उनले इरानको आणविक कार्यक्रममा राम्रो सम्झौता गराउने र इरानलाई कमजोर बनाउने वाचा गरेका थिए। तर, यसको साटो इरानले होर्मुज जलमार्गलाई नै नयाँ हतियारको रूपमा प्रयोग गरिरहेको छ। अमेरिका र इरानबिचको वार्ता अहिले रोकिएको छ। अमेरिका-इरानले गरेको अन्तरिम सम्झौताको ६० दिने अवधि पनि समाप्त भइसकेको छ। दुवै पक्षबाट यसलाई विस्तार गर्ने कुनै संकेत आएको छैन। ट्रम्पका अनुसार इरानसँग अब कुनै औपचारिक वार्ताको योजना छैन।
त्यसैले, अहिले इरान र ओमानबिच जलमार्गमा ढुवानीलाई लिएर भइरहेको छलफल नै एकमात्र माध्यम बनेको छ। तेहरानले ओमानसँग छलफललाई अन्तिम रूप दिने तयारीमा भएको बताउँदै आएको छ। तर इरान यो प्रक्रियामा हतार गर्ने पक्षमा छैन।
५० लाखभन्दा बढी जनसङ्ख्या भएको ओमान खाडी क्षेत्रमा एक शान्त राष्ट्र हो। यसले अमेरिकी सेनालाई आफ्ना अड्डाहरू प्रयोग गर्न दिँदै आएको छ। अन्य छिमेकी राष्ट्रहरूको तुलनामा ओमानलाई इरानले प्रत्यक्ष रूपमा आक्रमणको निशाना बनाएको छैन। ओमानी बन्दरगाहहरू ड्रोनबाट लक्षित भए पनि इरानले त्यसको जिम्मेवारी लिएको छैन र ओमानले पनि इरानलाई दोष दिएको छैन।
अहिले चलिरहेको वार्ताको मुख्य लक्ष्य ‘दुवै तटीय राष्ट्रको अधिकार र सुरक्षाको सम्मान गर्दै होर्मुज जलमार्गबाट सुरक्षित जहाज आवतजावत सुनिश्चित गर्ने संयन्त्र विकास गर्नु’ रहेको छ। क्षेत्रीय अधिकारीहरूका अनुसार यो सम्झौताले जहाजहरूलाई इरानी नियन्त्रित मार्गबाट फारसी खाडीमा प्रवेश गर्न र ओमान नियन्त्रित मार्गबाट बाहिर निस्कन सहज बनाउन सक्छ।
ओमान अहिले दुई शक्तिशाली र जिद्दी राष्ट्रहरूका बिचमा फसेको छ। यता तेल र प्राकृतिक ग्यासको आपूर्तिमा जोखिम कायमै छ। ट्रम्पको पछिल्लो धम्कीपछि ओमानको आधिकारिक समाचार एजेन्सीले स्टक एक्सचेन्ज, खेलकुद र व्यापारिक विषयहरू मात्रै पोस्ट गरिरहेको छ।
ओमानले इरानसँगको वार्तालाई ‘सकारात्मक र रचनात्मक’ भनेको छ। इजिप्टले भने यो इरानी-ओमानी सम्झौताले अमेरिका र तेहरानलाई पुन: वार्तामा फर्किन बाटो खोल्न सक्ने बताएको छ। तर, ट्रम्पको धम्कीले ओमानलाई आफ्नो वार्ताको योजना परिवर्तन गर्न दबाब दिन्छ वा दिँदैन, त्यो स्पष्ट छैन। एजेन्सी
प्रकाशित: ३ भाद्र २०८३ ०७:११ बुधबार





