२९ भाद्र २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले युक्रेनलाई भने : रूसमा हमला गर्न धेरै कुरा छन्, डिजेललाई नहेर्नुहोस्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रूसका तेल प्रशोधन केन्द्रहरू र डिजेल उत्पादन तथा वितरणमा प्रयोग हुने पूर्वाधारमा हमला रोक्न आग्रह गरेका छन्।

यस्ता आक्रमणले विश्वव्यापी डिजेल अभाव बढाइरहेको भन्दै उनले यस्तो आग्रह गरेका हुन्। अमेरिकामा डिजेलको मूल्य गत शुक्रबार प्रतिग्यालन ६ डलरभन्दा माथि पुगेपछि ट्रम्पले यस्तो बताएका हुन्।

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग यसबारे कुराकानी भएको पनि बताए। उनले भने, ‘जेलेन्स्कीले एउटा काम गर्नुपर्छ। उनले रूसमा डिजेल इन्धनमाथि हमला गर्न बन्द गर्नुपर्छ। रूसमा हमला गर्न धेरै कुरा छन्। डिजेललाई नहेर्नुहोस्, किनकि त्यसले संसारलाई नै असर गरिरहेको छ।’

युक्रेनले केही महिनादेखि रूसको तेल तथा ग्यास उद्योगलाई लामो दूरीका आक्रमणमार्फत निशाना बनाउँदै आएको छ। ती आक्रमणका कारण रूसमा इन्धन राशनिङ गर्नुपरेको छ भने मस्कोले जुलाईमा डिजेल निर्यातमा प्रतिबन्ध लगाएको छ। यसले विश्व बजारमा पहिल्यै कम रहेको डिजेल आपूर्तिमा थप दबाब परेको छ।

अर्कोतर्फ, इरानसँगको युद्धका कारण होर्मुज जलमार्गबाट तेल ढुवानी घट्दा विश्वव्यापी इन्धन बजारमा थप दबाब परेको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का अनुसार अगस्टमा खाडी देशहरूबाट भएको डिजेल र ग्यास तेलको खुद निर्यात इरानमाथि युद्ध सुरु हुनुअघिको तुलनामा एक चौथाइभन्दा केही बढी मात्र थियो।

आईईएका अनुसार युक्रेनी आक्रमण तीव्र भएपछि रूसको तेल प्रशोधन प्रणालीमा अवरोध आएको छ। यसले डिजेल तथा अन्य पेट्रोलियम उत्पादनको निर्यात लगभग रोकिँदा विश्वव्यापी आपूर्तिमा थप कमी आएको हो। फेब्रुअरीमा खाडी देश र रूसबाट भएको डिजेल तथा ग्यास तेलको संयुक्त निर्यातले विश्वव्यापी समुद्री व्यापारको करिब ४५ प्रतिशत हिस्सा ओगटेको थियो।

युक्रेनले भने रूसको तेल उद्योगले युक्रेनविरुद्धको युद्धका लागि आर्थिक स्रोत र इन्धन उपलब्ध गराउँदै आएको बताउँदै आएको छ। यही कारण रूसका तेल प्रशोधन केन्द्र र अन्य ऊर्जा पूर्वाधारलाई निशाना बनाउँदै आएको उसको भनाइ छ।

यसबिच रूस र युक्रेनबिच ड्रोन आक्रमण पनि तीव्र भएको छ। आइतबार राति रूसको तातारस्तानस्थित निज्नेकाम्स्कमा ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको र १४ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्। निज्नेकाम्स्कमा तेल प्रशोधन केन्द्र र अन्य औद्योगिक प्लान्टहरू रहेका छन्।

युक्रेनले रूसको क्रास्नोडार क्षेत्रमा रहेको स्लाभ्यान्स्क-अन-कुबानको प्रमुख तेल प्रशोधन केन्द्रमा पनि आक्रमण गरेको दाबी गरेको छ। युक्रेनको रक्षा खुफिया निकायले आफ्नो ड्रोनले तेल प्रशोधन इकाइ र रिफाइनरीको ट्यांक क्षेत्रमा प्रहार गरेको बताएको छ। क्रास्नोडारका अधिकारीहरूले आक्रमणमा तीन जना घाइते भएको र तेल पाइपलाइनमा क्षति पुगेको बताएका छन्।

रूसको रक्षा मन्त्रालयले रातभर ३८९ युक्रेनी ड्रोन खसालेको जनाएको छ। यता युक्रेनको ओडेसामा भएको ठुलो रूसी ड्रोन आक्रमणमा कम्तीमा नौ जना घाइते भएका छन्। यसअघि शनिबार ओडेसाको आवासीय भवनमा भएको रूसी ड्रोन आक्रमणमा दुई जनाको मृत्यु र २६ जना घाइते भएका थिए।

पश्चिमी युक्रेनमा पनि रूसी आक्रमण भएको छ। पोल्याण्डसँगको याहोडिन-डोरोहुस्क सीमा नाकानजिक ड्रोनले ग्यास स्टेसनमा आगो लगाएको युक्रेनी अधिकारीहरूले बताएका छन्। सीमा नाका भने सुरक्षित रहेको र कसैलाई पनि क्षति नभएको स्थानीय अधिकारीले बताएका छन्।

युक्रेनको वायुसेनाका अनुसार रूसले रातभर ४५३ ड्रोन प्रयोग गरेर आक्रमण गरेको थियो। तीमध्ये ४०९ ड्रोनलाई युक्रेनी हवाई प्रतिरक्षा प्रणालीले खसालेको वा निष्क्रिय पारेको जनाएको छ। एजेन्सी

प्रकाशित: २९ भाद्र २०८३ १०:०५ सोमबार