राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा अमेरिकाको प्रभाव बढ्दै गएको दाबी गरे पनि वास्तविकतामा देशको सत्ता अझै राष्ट्रपति निकोलस मदुरोका सहयोगीहरूकै नियन्त्रणमा रहेको दाबी गरिएको छ । हाल अन्तरिम राष्ट्रपतिको भूमिकामा रहेकी डेल्सी रोड्रिगेज मदुरोको नजिकको विश्वासपात्र मानिन्छिन् । उनी लामो समयदेखि मदुरोसँगै रहेर काम गरेको र सत्ताको भित्री घेरामा सक्रिय रहेको बताइन्छ ।
रोड्रिगेजलाई मादुरो समर्थकहरूले भरिएको सर्वोच्च अदालतले शपथ गराएको हो, जसले राज्यका प्रमुख निकायहरू अझै पनि मादुरोको राजनीतिक आन्दोलनप्रति वफादार रहेको संकेत गर्छ। यसले ट्रम्पले गरेको “अमेरिकाले भेनेजुएला चलाउने” दाबीलाई चुनौती दिन्छ।
यद्यपि रोड्रिगेजले भेनेजुएलाले आफ्नो सार्वभौमिकताको रक्षा गर्ने स्पष्ट अभिव्यक्ति दिएकी छन् । ट्रम्पका केही भनाइले भने उनी अमेरिकासँग सहकार्य गर्न सक्ने संकेत गरेको देखिन्छ। विशेषगरी अमेरिकी कम्पनीहरूलाई भेनेजुएलाको विशाल तेल भण्डारमा थप पहुँच दिने विषयमा ट्रम्प ढुक्क देखिएको अड्कल गरिएको छ।
अहिलेसम्म अमेरिकाले भेनेजुएलामा प्रत्यक्ष रूपमा सेना परिचालन गरेको छैन, तर ट्रम्पले भविष्यमा त्यो सम्भावना अस्वीकार पनि नगरेको अवस्था छ ।
यसबीच, अमेरिकाले मनोवैज्ञानिक दबाबको रणनीति अपनाएको विश्लेषकहरूको भनाइ छ। मदुरोलाई अमेरिकामा पक्राउ गरी हिरासतमा लिएको सम्भावित चित्रणले उनका वफादारहरूलाई चेतावनी दिएको सन्देश दिन खोजिएको देखिन्छ।
राजनीतिक विश्लेषकहरूका अनुसार मदुरो समर्थक नेताहरू औपचारिक रूपमा सत्तामा भए पनि उनीहरू अमेरिकी दबाबको सामना गर्न कत्तिको सक्षम छन् भन्ने प्रश्न उठिरहेको छ। यदि अमेरिकाको चाहनाअनुसार कदम नचालिए उनीहरू पनि निशानामा पर्न सक्ने डर सत्तारुढ समूहभित्र बढ्दै गएको बताइन्छ।
यसरी हेर्दा, भेनेजुएलामा शक्ति सन्तुलन कागजमा मदुरो समर्थककै हातमा भए पनि अन्तर्राष्ट्रिय दबाबका कारण उनीहरूको निर्णय क्षमता कति स्वतन्त्र छ भन्ने विषय अझै अनिश्चित देखिन्छ। - बीबीसीको सहयोगमा
प्रकाशित: २० पुस २०८२ १८:२९ आइतबार





