१७ आश्विन २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको ऊर्जा नीतिबाट अमेरिकी परिवारको खर्च बढ्ने अनुमान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा लागू गरिएका ऊर्जा नीतिका कारण आगामी वर्षहरूमा अमेरिकी परिवारको ऊर्जा खर्च बढ्न सक्ने एक अध्ययनले देखाएको छ।

गैरदलीय अनुसन्धान संस्थाले गरेको विश्लेषणअनुसार सन् २०४० सम्म अमेरिकाका महादेशीय राज्यमा बसोबास गर्ने परिवारले ऊर्जा खर्चमा औसत ६ हजार ५ सय अमेरिकी डलर अतिरिक्त तिर्नुपर्ने अनुमान गरिएको छ।

केही राज्यमा भने यो रकम अझ बढी हुन सक्ने अध्ययनमा उल्लेख छ। ओरेगन, मिसिसिपी, दक्षिण डकोटा, भर्जिनिया र वायोमिङका परिवारले सो अवधिमा करिब ९ हजार डलर अतिरिक्त ऊर्जा खर्च व्यहोर्नुपर्ने अनुमान गरिएको छ।

अध्ययनका अनुसार ट्रम्प प्रशासनले स्वच्छ ऊर्जा परियोजनामा दिइँदै आएको सरकारी सहयोग घटाउनुका साथै विद्युतीय सवारीसाधन र कम प्रदूषण गर्ने सवारीसाधनलाई प्रोत्साहन गर्ने नीतिमा परिवर्तन गरेकाले प्राकृतिक ग्यास र पेट्रोलको माग बढ्न सक्छ।

माग बढेपछि ऊर्जा तथा इन्धनको मूल्यमा पनि दबाब पर्न सक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ।

अमेरिकाका विभिन्न क्षेत्रमा पछिल्लो समय विद्युत्को महसुल मुद्रास्फीतिको दरभन्दा छिटो बढिरहेको छ । विशाल तथ्याङ्क केन्द्र र कृत्रिम बौद्धिकतासम्बन्धी प्रविधिको विस्तारले विद्युत्को माग थप बढाइरहेको बताइएको छ।

यसबाहेक अन्तर्राष्ट्रिय द्वन्द्वका कारण तेल तथा पेट्रोलको मूल्यमा हुने उतारचढावले पनि अमेरिकी उपभोक्ताको खर्च प्रभावित हुन सक्छ।

तर ट्रम्प प्रशासनले भने आफ्नो ऊर्जा नीतिले अमेरिकी परिवार र व्यवसायका लागि ऊर्जा सस्तो बनाउने दाबी गर्दै आएको छ।  

प्रशासनले कोइला र प्राकृतिक ग्यासजस्ता परम्परागत ऊर्जा स्रोतको उत्पादन तथा प्रयोग बढाएर देशको विद्युत् प्रणालीलाई थप स्थिर र भरपर्दो बनाउने बताएको छ।

ट्रम्प प्रशासनले पूर्वराष्ट्रपति जो बाइडेनको स्वच्छ ऊर्जा केन्द्रित नीतिको तुलनामा जीवाश्म इन्धनलाई बढी प्राथमिकता दिएको छ।  

नयाँ नीतिमा स्वच्छ ऊर्जा कर छुटमा कटौती, विद्युत् उत्पादन केन्द्रसम्बन्धी वातावरणीय नियममा परिवर्तन, सवारीसाधनको इन्धन दक्षता मापदण्डमा खुकुलोपन तथा हावा, सौर्य र हाइड्रोजन परियोजनासम्बन्धी संघीय नीतिमा परिवर्तनलगायत विषय समेटिएका छन्।

अध्ययनले संघीय नीतिका कारण सम्भावित रूपमा बढ्न सक्ने ऊर्जा खर्चको अनुमान गरेको हो। वास्तविक खर्च भने भविष्यमा तेल तथा ग्यासको मूल्य, विद्युत्को माग, मौसम, पूर्वाधार र समग्र आर्थिक अवस्थाजस्ता विभिन्न कारणमा निर्भर रहनेछ।सिन्ह्वा

प्रकाशित: १६ आश्विन २०८३ १९:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App