अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनले एक अर्काका ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने सहमति गरेको दाबी गरेका छन्।
उनले सोमबार सामाजिक सञ्जालमार्फत यस्तो दाबी गरेका हुन्। तर रूस र युक्रेन दुवैले यसबारे पुष्टि गरेका छैनन्। ‘युक्रेनले रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने सहमति जनाएको छ। रूसले पनि त्यसै गर्न सहमति जनाएको छ,’ ट्रम्पले लेखेका छन्।
ट्रम्पले विश्वमा डिजेलको मूल्य बढ्नुको मुख्य कारण रूस-युक्रेन युद्ध भएको पनि बताए। उनको यो दाबी इरान युद्धका कारण तेलको मूल्य बढिरहेका बेला आएको हो।
यसअघि आइतबार ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रूसका डिजेल प्रशोधन केन्द्रमा आक्रमण रोक्न आग्रह गरेका थिए। उनले यस्ता आक्रमणले डिजेलको अभाव बढाइरहेको बताएका थिए। ट्रम्पले युक्रेनले आक्रमण गर्न सक्ने अन्य लक्ष्य भए पनि डिजेल प्रशोधन केन्द्रमा आक्रमण नगर्न आग्रह गरेका थिए।
यो पनि पढ्नुहोस्
ट्रम्पले युक्रेनलाई भने : रूसमा हमला गर्न धेरै कुरा छन्, डिजेललाई नहेर्नुहोस्तर जेलेन्स्कीले रूसले पनि युक्रेनका ऊर्जा पूर्वाधार, महत्त्वपूर्ण संरचना र खाद्य आपूर्ति मार्गमा आक्रमण रोक्ने भए युक्रेन पनि रूसी ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न तयार रहेको बताएका छन्। ‘यदि हाम्रा साझेदारहरू रूसले हाम्रो ऊर्जा प्रणाली, अन्य ऊर्जा पूर्वाधार, महत्त्वपूर्ण संरचना र खाद्य आपूर्ति मार्गमा हमला गर्नबाट टाढा रहने कुरा सुनिश्चित गर्न तयार छन् भने, हामी पनि हाम्रा आक्रमण रोक्न तयार छौं,’ जेलेन्स्कीले भनेका छन्।
उनले रूसले कुनै पनि सहमति पालना गर्नेमा आफू विश्वस्त नरहेको बताए। ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने कदम शान्तितर्फको पहिलो कदम हुन सक्ने भन्दै यसबारे स्पष्टता आवश्यक हुने जेलेन्स्कीको तर्क छ। युक्रेनले पछिल्लो समय रूसका तेल प्रशोधन केन्द्रमा आक्रमण गर्दै आएको छ।
जेलेन्स्कीले गत साता दुई रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको घोषणा गरेका थिए। उनले रूसले तेलबाट हुने आम्दानी युद्धका लागि प्रयोग गरिरहेको आरोप लगाउँदै आएका छन्। यता रूसले पनि पछिल्ला महिनामा युक्रेनमाथि लामो दूरीका क्षेप्यास्त्र र ड्रोन आक्रमण बढाएको छ। दुवै पक्षले एक अर्काका ऊर्जा र अन्य महत्त्वपूर्ण संरचनालाई निशाना बनाउँदै आएका छन्।
यसैबिच, इरान युद्धका कारण विश्वव्यापी ऊर्जा मूल्य तीव्र रूपमा बढिरहेको छ। अमेरिकामा डिजेलको औसत मूल्य पहिलो पटक प्रतिग्यालन ६ डलर पुगेको छ। इरानसँग जोडिएको युद्धका कारण तेल आपूर्तिमा असर पर्न थालेपछि इन्धनको मूल्य बढेको हो।
प्रकाशित: ३० भाद्र २०८३ ०९:३८ मंगलबार

