१५ कार्तिक २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बोल्सोनारोलाई अमेरिका पुर्‍याउन सहयोग गरेको आरोपमा ट्रम्प प्रशासनले दियो यस्तो जवाफ

ब्राजिलको राष्ट्रपति चुनावमा पराजित भएपछि फ्लाभियो बोल्सोनारोलाई अमेरिका पुर्‍याउन ट्रम्प प्रशासनले उडान सहजीकरण गरेको विषयमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले प्रतिक्रिया दिएका छन्।

उनले बोल्सोनारोलाई अमेरिका ल्याउन अमेरिकी सरकारले कुनै सहयोग नगरेको दाबी गरेका हुन्।

शनिबार (स्थानीय समय) एटलान्टामा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले भने, 'हामीले केही पनि सहजीकरण गरेनौं।' उनका अनुसार बोल्सोनारो अमेरिका पुगिसकेको खबर अमेरिकी अधिकारीहरूले पाएका थिए। उनीसँग यसअघि नै भिसा रहेको र राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई अमेरिका प्रवेश गर्न अनुमति दिएको रुबियोले बताए।

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोल्सोनारो आफूले चाहेसम्म अमेरिकामा बस्न सक्ने बताएका छन्। फ्लोरिडाको पाम बिचस्थित आफ्नो मार-ए-लागो क्लबमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले बोल्सोनारो 'जबसम्म चाहन्छन्, त्यतिन्जेल अमेरिकामा बस्न सक्छन्' भनेका हुन्। यद्यपि, उनले बोल्सोनारोसँग भेट्ने आफ्नो कुनै योजना नरहेको पनि स्पष्ट पारे।

बोल्सोनारो बुधबार मियामी पुगेका थिए। त्यसको एक दिनअघि अमेरिकी विदेश मन्त्रालयले उनलाई र उनको परिवारलाई भिसा उपलब्ध गराउने बताएको थियो। रुबियोले अमेरिकी सरकार उनको अमेरिका यात्रामा प्रत्यक्ष रूपमा संलग्न नरहेको पनि स्पष्ट पारे।

उनले एटलान्टामा ब्राजिलका विदेशमन्त्री माउरो भिएरासँग शुक्रबार र शनिबार भेटवार्ता गरेको जानकारी दिए। नोभेम्बरमा फ्रान्समा हुने विदेशमन्त्रीहरूको बैठकमा पनि ब्राजिलका अधिकारीसँग भेट्ने उनको भनाइ थियो।

चुनावमा पराजित भएका बोल्सोनारोले भने नतिजा स्वीकार गरेका छैनन्। उनले कुनै प्रमाणबिना चुनावमा धाँधली भएको दाबी गर्दै आएका छन्। उनका बुबा तथा पूर्वराष्ट्रपति जैर बोल्सोनारोले पनि सन् २०२२ मा लुइज इनासियो लुला दा सिल्भासँगको चुनावी हार स्वीकार गरेका थिएनन्। चुनावी नतिजा उल्ट्याउन खोजेको आरोपमा उनी २७ वर्षको जेल सजाय भोगिरहेका छन्।

फ्लाभियो बोल्सोनारोमाथि ब्राजिलमा भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र कर छलीको आरोपमा अनुसन्धान भइरहेको छ। उनी भाग्न सक्ने जोखिम रहेको भन्दै प्रहरीले उनको राहदानी बुझाउन आदेश दिएको थियो।

४५ वर्षीय बोल्सोनारोले शुक्रबार इन्स्टाग्राम लाइभमार्फत आफू राजनीतिक उत्पीडनको सिकार भएको दाबी दोहोर्‍याएका थिए। बुधबार सार्वजनिक गरेको पत्रमा उनले आफूलाई 'ब्राजिलको वास्तविक राष्ट्रपति निर्वाचित' घोषणा गरेका थिए। पछि उनले उक्त अभिव्यक्ति परिवर्तन गरेर आफूलाई 'नेता' मात्र भनेका थिए। एजेन्सी

प्रकाशित: १५ कार्तिक २०८३ ०६:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App