३१ भाद्र २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायललाई ४० हजार थान विष्फोटक पदार्थ दिने ट्रम्प प्रशासनको तयारी

फाइल तस्बिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इजरायललाई ४० हजार शक्तिशाली बम दिने तयारी गरेको छ। 

यसका लागि दुई अर्ब ८० करोड डलरको हतियार सम्झौता गर्ने तयारी भइरहेको एपीले जनाएको छ। यी बमको प्रयोगबाट गाजामा ठुलो संख्यामा मानिसको मृत्यु हुन सक्ने चिन्ताका कारण तत्कालीन जो बाइडेन प्रशासनले दुई वर्षअघि यस्ता बमको आपूर्ति रोकेको थियो।

सम्झौतामा २० हजार एमके-८४ र २० हजार बीएलयू-११७ बम छन्। सम्झौता अझै अन्तिम भइसकेको छैन। यसबारे अमेरिकी अधिकारीहरूले नाम नबताउने सर्तमा जानकारी दिएका हुन्। अमेरिकी संसद्लाई पनि यसबारे अनौपचारिक जानकारी दिइएको छ।

सम्झौतामा राखिएका धेरैजसो बमको रकम अमेरिकी सरकारले दिने सैन्य सहयोगबाट तिरिनेछ। सन् २०२४ मा बाइडेन प्रशासनले यस्ता बमको एक खेप रोकेको थियो। ट्रम्पले फेरि राष्ट्रपति बनेपछि उक्त रोक हटाएका थिए।

दुई हजार पाउन्ड तौलका बम विभिन्न प्रकारका छन्। केही बम जमिनमुनि रहेका लक्ष्यसम्म पुग्न बनाइएका छन् भने केही जमिनमाथि विस्फोट भएर ठुलो क्षति पुर्‍याउन सक्छन्। विज्ञहरूले गाजामा अमेरिकी निर्मित यस्ता बम प्रयोग भएको बताएका छन्।

गाजामा युद्धविराम भए पनि इजरायलले आक्रमण जारी राखेको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणमा ७३ हजार २६४ भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ।

यसअघि ट्रम्प प्रशासनले इजरायललाई करिब तीन अर्ब डलरको हतियार दिने निर्णय गरेको थियो। त्यसमा ३५ हजार ५०० भन्दा बढी बम थिए। त्यसपछि जनवरीमा इजरायललाई थप छ अर्ब ६७ करोड डलर बराबरको हतियार दिने निर्णय गरिएको थियो। एजेन्सी

प्रकाशित: ३१ भाद्र २०८३ १४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App