साउडेल आँधीका कारण लगातार परेको मुसलधारे वर्षापछि पूर्वी चीनमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। घटनामा ११ जना अझै बेपत्ता छन्।
चीनको जियाङ्सी प्रान्तको जिआन सहरअन्तर्गत सुइचुआन काउन्टीमा स्थानीय समयअनुसार शनिबार बिहान करिब ४ बजे पहिरो गएको हो। पहिरोमा घाइते भएका दुई जनाको अवस्था सामान्य रहेको सुइचुआन आपतकालीन प्राधिकरणले जनाएको छ।
पहिरोबाट १२ वटा भवन प्रभावित भएका छन्। तीमध्ये चार वटामा मध्यम क्षति पुगेको छ भने आठ वटा भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
घटनापछि आपतकालीन उद्धार, अग्नि नियन्त्रण, स्वास्थ्य, प्रहरी, यातायात, विद्युत् र सञ्चारसम्बन्धी टोलीलाई परिचालन गरिएको छ। उनीहरूले फसेका मानिसको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्ने तथा थप जोखिम रोक्ने काम गरिरहेका छन्।
चीनको सरकारी सञ्चारमाध्यम सीसीटीभीको प्रारम्भिक रिपोर्टमा पहिरोमा १० जनाभन्दा बढी मानिस पुरिएको उल्लेख गरिएको थियो। अहिले उद्धार टोलीले घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी राखेको छ।
यसैबिच, मुसलधारे वर्षाका कारण चीनको दक्षिणपूर्वी फुजियान प्रान्तको पुतियान सहरमा पनि ठुलो क्षेत्र जलमग्न भएको छ। ह्वालिन आर्थिक विकास क्षेत्रमा लगातारको वर्षाका कारण पानी जम्दा अलपत्र परेका तीन हजारभन्दा बढी कामदारलाई उद्धार टोलीले तत्काल सुरक्षित स्थानमा सारेको छ।
आँधी साउडेलका कारण पूर्वी चीनका विभिन्न क्षेत्रमा लगातार भारी वर्षा भइरहेको छ। यसका कारण केही क्षेत्रमा पहिरो र जलमग्नको समस्या देखिएको छ भने प्रभावित तथा अलपत्र मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। एजेन्सी
प्रकाशित: २० भाद्र २०८३ १२:३९ शनिबार




-600x400.jpg)
