अमेरिकी रक्षा (युद्ध) सचिव पिट हेगसेथले इरान युद्धको सैन्य योजना बनाइरहेका पेन्टागनका शीर्ष अधिकारी लेफ्टिनेन्ट जनरल ब्रेट सिल्भियालाई पदबाट बर्खास्त गरेका छन्।
सीबीएस न्युजका अनुसार इरान र रूस-युक्रेन युद्धसँग सम्बन्धित गोप्य सूचना सञ्चारमाध्यममा चुहाएको आरोपमा उनलाई हटाइएको हो।
पेन्टागनका एक अधिकारीका अनुसार सिल्भिया गोप्य सूचना चुहावटसम्बन्धी तीन वटा पोलिग्राफ परीक्षणमा असफल भएका थिए। यस विषयमा थप कानुनी कारबाहीका लागि न्याय विभागमा पठाइएको छ। तर पेन्टागनका अन्य दुई स्रोतले उनलाई परीक्षणसँग सम्बन्धित विषयमा हटाइएको पुष्टि गरे पनि सूचना चुहाएको आरोप सत्य नभएको बताएका छन्।
हेगसेथले पेन्टागनभित्र गोप्य सूचना चुहाउने व्यक्तिको पहिचान गर्ने अभियानलाई प्राथमिकतामा राख्दै आएका छन्। गत महिना पनि उच्च पदस्थ सैन्य अधिकारीहरूको पोलिग्राफ परीक्षण गरिएको स्रोतहरूले बताएका थिए। गत वर्ष सूचना चुहावटको अनुसन्धानका क्रममा हेगसेथको कार्यालयका तीन कर्मचारीलाई समेत हटाइएको थियो।
सिल्भिया संयुक्त सैन्य मुख्यालयको रणनीति, योजना तथा नीति प्रमुख थिए। उनले इरान युद्धको सैन्य योजना समन्वय गर्ने जिम्मेवारी सम्हालिरहेका थिए। हेगसेथको कार्यकालमा उक्त पदबाट हटाइने उनी दोस्रो उच्च सैन्य अधिकारी हुन्। यसअघि उक्त जिम्मेवारीमा रहेका लेफ्टिनेन्ट जनरल जोसेफ म्याकगीलाई सन् २०२५ को अक्टोबरमा अवकाश लिन बाध्य पारिएको थियो। सिल्भियाको स्थानमा कसलाई नियुक्त गर्ने भन्ने निर्णय भएको छैन।
पेन्टागनका प्रवक्ता सीन पार्नेलले अनुसन्धानपछि गोप्य सूचना सुरक्षित राख्न कर्मचारीमाथि कारबाही गरिएको बताएका छन्। तर उनले सिल्भियाको नाम भने लिएका छैनन्।
उनले भनेका छन्, 'अनुसन्धानको निष्पक्षता कायम राख्न सम्बन्धित व्यक्ति वा कारबाहीका परिस्थितिबारे थप टिप्पणी गरिने छैन। यो विषय थप कानुनी कारबाहीका लागि न्याय विभागमा पठाइएको छ। गोप्य सूचना कसैको व्यक्तिगत सम्पत्ति होइन। व्यक्तिगत, राजनीतिक वा व्यावसायिक फाइदाका लागि त्यस्तो सूचना चुहाउनु विश्वासघात हो।'
संयुक्त सैन्य मुख्यालयले सुरुमा सिल्भियाको ३२ वर्षको सेवाको प्रशंसा गर्दै विज्ञप्ति जारी गरेको थियो। तर पछि उक्त विज्ञप्ति फिर्ता लियो। मुख्यालयले नयाँ विज्ञप्तिमा पुरानो विज्ञप्तिले घटनाको वास्तविक अवस्था स्पष्ट पार्न नसकेको बताएको छ।
सिल्भिया १०१औं एयरबोर्न डिभिजनका पूर्वकमान्डर हुन्। उनले अफगानिस्तान र इराकमा पटक-पटक सैन्य जिम्मेवारी सम्हालेका थिए। युद्धमा देखाएको साहसका लागि उनले ब्रोन्ज स्टार र तालिबानसँगको भिडन्तमा घाइते भएपछि पर्पल हार्ट सम्मानसमेत पाएका थिए।
प्रकाशित: १३ कार्तिक २०८३ ०७:१० शुक्रबार


-1200x560-600x400.jpg)


