भारतको लखनऊमा एक बैंक कर्मचारीले आफ्नी श्रीमती र बहिनीको गोली हानी हत्या गरेपछि आत्महत्या गरेका छन्।
प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहीबार दिउँसो १२.०५ बजे ३३ वर्षीया दिव्या मिश्रा आफ्नो कारमा सहकर्मीसँगै काम गर्ने ठाउँ आईसीआईसीआई बैंकको गोमती नगर शाखामा पुगेकी थिइन्। आईसीआईसीआईमा उनी सम्बन्ध प्रबन्धकका रूपमा कार्यरत थिइन्। सोही समयमा उनका पति ३७ वर्षीय मानस वाजपेयी नजिकै अटो-रिक्सामा पर्खिरहेका थिए। मानस स्टेट बैंक अफ इन्डियाको क्षेत्रीय व्यापार कार्यालयमा सहायक प्रबन्धक थिए।
प्रहरीका अनुसार मानसले दिव्यालाई कारबाट बाहिर बोलाएर गोली प्रहार गरेका हुन्। घटनापछि उनी कारमा चढेर घटनास्थलबाट भागेका थिए। अस्पताल लगिएकी दिव्याको मृत्यु भयो। घटनास्थल पुगेकी प्रहरी उपायुक्त (पूर्व) दीक्षा शर्माले महिला त्यहाँ तीन-चार वर्षदेखि काम गर्दै आएको बताइन्। उनले भनिन्, ‘बैंकमा रहेका महिलाका सहकर्मीहरूले आक्रमणकारीलाई उनको पतिको रूपमा पहिचान गरेका हुन्।’
गोली हानेको करिब २५ मिनेटपछि मानस बैंकबाट करिब २ किलोमिटर टाढा रहेको आफ्नो घर पुगेका थिए। त्यहाँ उनले आफ्नी २८ वर्षीया बहिनी शिवा वाजपेयीलाई पनि गोली हाने, जो मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेकी थिइन्। त्यसपछि उनले आफैंमाथि गोली चलाएर आत्महत्या गरेका हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार मानसको घरमा रेस्टुरेन्ट चलाउने लुभकुशले भने, ‘मैले उनलाई सोधें-भाइ, के भयो? तिमी तनावमा देखिन्छौ। तर उनले मलाई केही होइन र कार्यालयको समस्या रहेको बताए। त्यसपछि उनी भित्र गए।’ रेस्टुरेन्टका कर्मचारीहरूका अनुसार घरमा पसेपछि मानसले ढोका बन्द गरेर ठुलो आवाजमा हनुमान चालिसा बजाएका थिए।
प्रहरीका अनुसार मानसले आफ्नो ह्वाट्सएप स्टेटस अपडेट गर्दै श्रीमतीको हत्या गरेको र उनले ‘धोका’ दिएको आरोप लगाएका थिए। उनले आफू र बहिनीलाई मार्ने मनसायसमेत त्यही स्टेटसबाट सार्वजनिक गरेका थिए। प्रहरीले उक्त ह्वाट्सएप सन्देश प्रमाणित भइरहेको बताएको छ।
दिव्याकी बहिनी तथा युट्युबर प्रज्ञा मिश्राले दिउँसो १.२६ बजे सामाजिक सञ्जालमार्फत आफ्नो बहिनीलाई गोली लागेको जानकारी पाएको उल्लेख गरेकी थिइन्।
दम्पतीको करिब १०-१२ वर्षअघि विवाह भएको थियो। प्रहरी आयुक्त तरुण गौबाले भने, ‘परिवारका सदस्यहरूले बताएअनुसार ती जोडी नोभेम्बर २०२५ देखि सँगै बस्थेनन्। दिव्या कहिलेकाहीं आफ्नो परिवारसँग र कहिलेकाहीं सासू-ससुरासँग बस्थिन्। नोभेम्बरदेखि उनीहरूको विवाद बढेको थियो।’ दिव्याले हालै पारिवारिक अदालतमा सम्बन्ध विच्छेदको निवेदनसमेत दिएकी थिइन्।
प्रहरीले घटनास्थलबाट लाइसेन्स नभएका तीन वटा हतियार बरामद गरेको छ। प्रहरी आयुक्त तरुण गौबाले घटनाबारे अनुसन्धान भइरहेको र फोरेन्सिक टोलीले प्रमाणहरू संकलन गरिरहेको बताए। प्रहरीले शव पोस्टमार्टमका लागि पठाएको छ।
प्रकाशित: ५ भाद्र २०८३ ०८:४९ शुक्रबार

