३१ भाद्र २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा बस दुर्घटनाको समाचार संकलन गरिरहेको हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

अमेरिकाको लस एन्जलसमा बस दुर्घटनाको समाचार संकलन गर्ने क्रममा एनबीसीको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ।

स्थानीय समयअनुसार मंगलबार साँझ करिब ७ बजे लस एन्जलसको च्याट्सवर्थ क्षेत्रमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो। दुर्घटनापछि हेलिकप्टरमा आगो लागेको थियो। घटनामा कम्तीमा चार वटा कार र दुई वटा भण्डारण कन्टेनरमा पनि क्षति पुगेको अधिकारीहरूले बताएका छन्।

एनबीसी लस एन्जलसकी प्रस्तोता कोलिन विलियम्सले प्रत्यक्ष प्रसारणका क्रममा हेलिकप्टर दुर्घटनाग्रस्त भएको पुष्टि गर्दै ‘यसलाई सोच्न र प्रशोधन गर्न केही मिनेट लिनेछौं’ भनेकी थिइन्। त्यसपछि प्रसारण रोकिएको थियो।

दुर्घटनाग्रस्त हेलिकप्टर एनबीसीको ‘न्युजचोपर ४’ रहेको र एन्जल सिटी एयरले सञ्चालन गर्दै आएको पुष्टि भएको छ। हेलिकप्टर बस दुर्घटनाको समाचार संकलन गर्न खटिएको थियो।

लस एन्जलस अग्नि नियन्त्रण विभागका अनुसार हेलिकप्टर च्याट्सवर्थको एक भण्डारण भवन नजिकै खसेको थियो। दुर्घटनामा एक जनाको हेलिकप्टरबाहिर पार्किङ क्षेत्रमा मृत्यु भएको थियो भने दुई जनालाई अस्पताल लगिएको बताइएको छ।

हेलिकप्टर दुर्घटनाभन्दा करिब दुई घण्टाअघि एउटा एसयूभी सिटी बसमा ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। समाचार टोली उक्त दुर्घटनाको रिपोर्टिङ गरिरहेको थियो।

हेलिकप्टर दुर्घटनाको कारणबारे राष्ट्रिय यातायात सुरक्षा बोर्ड र संघीय उड्डयन प्रशासनले अनुसन्धान गर्ने भएका छन्।

प्रकाशित: ३१ भाद्र २०८३ १२:१३ बुधबार