१५ कार्तिक २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायलमा अरब दलसहितको सरकार बनाउन माग गर्दै हजारौं सडकमा, विरोधमा उत्रिए नेतान्याहूका दुई सय समर्थक

इजरायलमा अरब दललाई समेत सहभागी गराएर नयाँ सरकार गठन गर्न माग गर्दै हजारौं मानिस सडकमा उत्रिएका छन्। 

शनिबार साँझ तेल अभिभसहित विभिन्न सहरमा प्रदर्शन भएको हो। यसको विरोधमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका करिब दुई सय समर्थकले पनि तेल अभिभमै छुट्टै प्रदर्शन गरेको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। 

तेल अभिभको हबिमा स्क्वायरमा भेला भएका करिब दुई हजार प्रदर्शनकारीले रबिन स्क्वायरसम्म मार्च गरेका थिए। उनीहरूले 'साझेदारी र समानताबाट सरकार परिवर्तन गर्छौं' र 'परिवर्तनका लागि बहुमत छ' लेखिएका प्लेकार्ड बोकेका थिए। प्रदर्शनकारीले यहूदी र अरब समुदायबिच सहकार्य, समानता र शान्तिको पक्षमा नारा लगाएका हुन्।

जेरुसेलमको पेरिस स्क्वायर, हाइफाको अडिटोरियम प्लाजा र अन्य स्थानमा पनि यस्तै प्रदर्शन भएका थिए। बेरशेबामा दर्जनौं मानिस सडकमा उत्रिएका थिए भने तिरा र तैयबेनजिकै पनि प्रदर्शन भएको थियो।

यसको विरोधमा नेतान्याहूका करिब दुई सय समर्थकले तेल अभिभकै हबिमा स्क्वायरमा प्रति-प्रदर्शन गरेका हुन्। उनीहरूले अरब दलले चुनाव चोरेको आरोप लगाउँदै नयाँ चुनावको माग गरेका थिए। प्रदर्शनमा केही युवाले अरब समुदायलाई लक्षित गर्दै जातिवादी नारा समेत लगाएका थिए।

प्रदर्शनमा सहभागी वक्ताहरूले अरब दल रा'म तथा जोइन्ट लिस्टमाथि आतंकवादलाई समर्थन गरेको आरोप लगाए। अरब दलको समर्थनमा सरकार गठन गर्न नहुने उनीहरूको तर्क थियो। चुनाव चोर्न कसैलाई नदिने भन्दै सहभागीले सम्भावित गठबन्धनको विरोध गरेका हुन्। 

गत मंगलबार भएको संसदीय चुनावपछि इजरायलमा सरकार गठनका लागि राजनीतिक समीकरण जटिल बनेको छ। १२० सदस्यीय संसद् नेसेटमा नेतान्याहूको समूहले ५३ सिट जितेको छ। उनलाई हटाउन चाहने दलहरूले भने संयुक्त रूपमा ६७ सिट जितेका छन्।

तर नेतान्याहूको विपक्षमा रहेका यहूदी दलहरूसँग ४८ सिट मात्रै हुँदा अरब दलसँग १९ सिट छ। सरकार बनाउन आवश्यक ६१ सिट पुर्‍याउन उनीहरूलाई अरब दलको समर्थन आवश्यक पर्छ। अरब दलसहितको सहकार्य भएमा विपक्षी समूहको सिट संख्या ६७ पुग्छ।

अरब दल रा'मले सरकारमा सहभागी हुने इच्छा देखाएको छ। जोइन्ट लिस्टका नेता युसेफ जबारिनले पनि नेतान्याहूको सरकार हटाउन सहयोग गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन्। यद्यपि, अरब दलसँग सहकार्य गरेर सरकार बनाउने विषयमा विपक्षी दलहरूबिच अझै सहमति जुट्न सकेको छैन।

प्रकाशित: १५ कार्तिक २०८३ ०७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App