२३ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विश्व सम्पदा सूचीमा दुई ऐतिहासिक स्थल थपिए

संयुक्त राष्ट्र संघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्थाले (युनेस्को) शुक्रबार ‘क्यामरुन’ र ‘मलावीका’ दुई सांस्कृतिक स्थलहरूलाई विश्व सम्पदा सूचीमा समावेश गरेको छ। अफ्रिकी महादेशको प्रतिनिधित्व बढाउने लक्ष्य युनेस्कोको प्राथमिकतामा रहँदै आएको छ।

क्यामरुनको उत्तर क्षेत्रको मंडारा पर्वत क्षेत्रमा पर्ने ‘डिय-गिड-बिय’ भू-दृश्यलाई सूचीमा समावेश गरिएको हो। यो स्थल १२ औंदेखि १७ औं शताब्दीसम्मको बीचमा विकास भएको अनुमान गरिएको छ। यहाँ पुरातात्त्विक अवशेष, सिँचाइका लागि बनाइएका पाखेबारी तथा धार्मिक स्थलहरू रहेका छन्।

मलावीबाट समावेश गरिएको स्थल भने ‘मुलांजे’ नामक पहाडी शृंखला हो, जुन देशको दक्षिणी भागमा अवस्थित छ। स्थानीय समुदायले यस स्थानलाई देवी-देवता, आत्मा र पुर्खाहरूको वासस्थलका रूपमा पवित्र मान्दै आएका छन्।

संस्थाकी प्रमुख अड्री आजुले अफ्रिकी महादेशलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकता बनाउँदै आएकी छिन्। यद्यपि, यो महादेश अझै पनि विश्व सम्पदा सूचीमा कम प्रतिनिधित्व भएको क्षेत्रका रूपमा रहिरहेको छ।

विश्व सम्पदा सूचीमा कुनै स्थलको नाम समावेश भएपछि त्यस स्थानमा पर्यटक आगमन बढ्ने सम्भावना रहन्छ, साथै संरक्षणका लागि आर्थिक सहायता प्राप्त हुने अवसर पनि वृद्धि हुन्छ। यस्तो सूचीमा परेका स्थलहरूलाई प्रदूषण, द्वन्द्व र बेवास्ता जस्ता जोखिमबाट जोगाउन संरक्षणको व्यवस्था गरिन्छ। एएफपी

प्रकाशित: २८ असार २०८२ ०७:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App