६ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द स्टारी नाइट’ मा देखाइएको आकाश सन् १८८९ जुलाई २२ को वास्तविक आकाशसँग मिल्दोजुल्दो रहेको नयाँ अध्ययनले देखाएको छ।

यसले उनले कल्पनाबाट मात्रै नभई फ्रान्सको आश्रयस्थलबाट देखेको आकाशबाट प्रेरणा लिएर चित्र बनाएको हुन सक्ने सङ्केत गरेको छ।

दक्षिण कोरियाली अनुसन्धान टोलीले खगोलीय विश्लेषणका आधारमा चित्रमा देखाइएको आकाश फ्रान्सको सेन्ट–रेमी–दे–प्रोभेन्सबाट जुलाई २२ आसपास देखिएको आकाशसँग मेल खाने निष्कर्ष निकालेको हो।

यो मिति कला इतिहासकारहरूले लामो समयदेखि स्वीकार गर्दै आएको सन् १८८९ जुनको मितिभन्दा करिब एक महिना पछिको हो।

सियोलस्थित टेलिस्कोप निर्माता कम्पनीका प्रमुख कार्यकारी तथा क्युङ ही विश्वविद्यालयका विद्यावारिधि शोधार्थी एलिजा जियोंग–ह्युन किमको नेतृत्वमा गरिएको अध्ययन ‘साइन्टिफिक रिपोट्र्स’ जर्नलमा प्रकाशित भएको छ। चित्रमा घुमाउरा ताराहरू, अर्धचन्द्र, शुक्र ग्रह, गाउँ र साइप्रसका अग्ला रूख देखिन्छन्।

किमका अनुसार जुलाई २२ आसपास चन्द्रमाको आकार चित्रसँग मिल्नुका साथै वृषभ तारामण्डलको हाइड्स तारा समूह शुक्र ग्रहसँगै पूर्वी आकाशमा उदाउने अवस्था थियो।

मौसमसम्बन्धी तथ्याङ्कले पनि आकाश सफा रहेको हुन सक्ने देखाएको छ। उनले सन् २०१९ मा फ्रान्स पुगेर जुन र जुलाईको आकाश तुलना गरेका थिए।

यद्यपि, मेक्सिकोको राष्ट्रिय स्वायत्त विश्वविद्यालयका भौतिकशास्त्री जोस लुइस एरागोनले जुलाई २२ लाई निश्चित मिति मान्नुभन्दा चाखलाग्दो परिकल्पनाका रूपमा लिनुपर्ने बताए।

उनका अनुसार चित्रमा देखाइएको चन्द्रमाको आकार जुनको मध्यतिरको आकाशसँग नमिल्नु लामो समयदेखिको पहेली हो।

भ्यान गगले आश्रयस्थलको चित्रकक्षमा बसेर स्मृति र रेखाचित्रका आधारमा चित्र बनाउनुभएको हुनाले ‘द स्टारी नाइट’ मा विभिन्न रातका आकाशका दृश्य मिसिएका हुन सक्ने एरागोनको भनाइ छ।

उनले भने वास्तविक आकाशको अवलोकनले चित्रलाई प्रेरित गरेको हुन सक्ने निष्कर्षलाई महत्त्वपूर्ण मानेका छन्।

अनुसन्धानकर्ताहरूले भ्यान गग र उनका भाइहरूबीच आदानप्रदान भएका पत्रहरूको विश्लेषणका आधारमा उनलाई जुलाईको अन्त्यतिर अचानक स्वास्थ्य समस्या देखिएको हुन सक्ने बताए।

पत्रमा उल्लेख गरिएका सिकाडा कीरासम्बन्धी सन्दर्भले पनि उक्त समय जुलाई महिना भएको सङ्केत गर्ने उनीहरूको भनाइ छ।

लामो अनुसन्धान गरेका किमले भने अहिलेसम्म न्युयोर्कस्थित आधुनिक कलाको सङ्ग्रहालयमा राखिएको ‘द स्टारी नाइट’ प्रत्यक्ष हेरेका छैनन्।

अनुसन्धानपत्र प्रकाशित भएपछि अब सङ्ग्रहालय पुगेर चित्र हेर्ने इच्छा उनले व्यक्त गरे।एपी

प्रकाशित: ६ कार्तिक २०८३ १५:३५ शुक्रबार