९ भाद्र २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युक्रेनमा ‘स्काल्प’ मिसाइल उत्पादनको बाटो खुल्यो : ‘आगोमा घिउ थप्ने’ काम भन्दै भड्कियो रूस

युक्रेनमा स्काल्प मिसाइल उत्पादनको बाटो खुलेको छ। बेलायतले युक्रेनमा लामो दूरीको स्काल्प क्रूज मिसाइलको स्थानीय एसेम्बली लाइन स्थापना गर्ने योजनालाई अघि बढाउन बेलायती कम्पोनेन्टसम्बन्धी वर्गीकृत जानकारी सार्वजनिक गर्न अनुमति दिएको छ।

यसले रूससम्म सयौं किलोमिटर टाढा प्रहार गर्न सक्ने मिसाइल युक्रेनमै उत्पादन गर्ने योजनालाई अघि बढाउने बाटो खोल्नेछ।

बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले सोमबार युक्रेनको राजधानी कीभ पुगेर यो घोषणा गरेका हुन्। उनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्दै युक्रेनलाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता जनाए। स्काल्प फ्रान्समा उत्पादन हुने लामो दूरीको क्रूज मिसाइल हो। बेलायतमा यसलाई स्टोर्म स्याडो भनिन्छ। यसमा फ्रान्सेली र बेलायती साझा प्रविधि प्रयोग हुन्छ। युरोपेली हतियार निर्माता एमबीडीएले यसको उत्पादन गर्छ।

स्काल्प टर्बोजेट इन्जिनबाट चल्छ र यसको अधिकतम मारक दूरी करिब ५५० किलोमिटर छ। यसमा करिब ४०० किलोग्रामको उच्च विस्फोटक वारहेड राख्न सकिन्छ। कम उचाइमा उडेर हवाई प्रतिरक्षाबाट जोगिने गरी डिजाइन गरिएको यो मिसाइललाई युक्रेनले एसयू-२४ र मिराज-२००० लडाकु विमानबाट प्रहार गर्दै आएको छ। यसको प्रयोग विशेषगरी कमाण्ड बंकर र अन्य बलिया सैन्य संरचनाविरुद्ध गरिन्छ।

बेलायतको घोषणाप्रति रूसले कडा प्रतिक्रिया जनाएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बेलायत ‘युद्धमा सहभागी भइरहेको’ र यस कदमले ‘आगोमा घिउ थप्ने’ काम गरेको बताएका छन्।

बेलायत र फ्रान्सले युक्रेनलाई अहिलेसम्म कति स्काल्प र स्टोर्म स्याडो मिसाइल दिएका छन् भन्ने खुलाएका छैनन्। एमबीडीएले भने बन्द भएका उत्पादन लाइन पुनः सक्रिय पारेर उत्पादन बढाउने काम अघि बढाएको छ।

कीभमा बर्नहमले बेलायतले युक्रेनलाई लामो समयसम्म सहयोग गर्ने बताएका छन्। ‘युक्रेनी जनताले कुनै शंका गर्नुपर्दैन, बेलायत आज र जति समय आवश्यक पर्छ, तपाईंहरूको साथमा छ,’ उनले भने। उनले ‘युक्रेनको सुरक्षा नै बेलायतको सुरक्षा’ भएको बताए। बेलायत र युक्रेनले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा सहकार्य बढाउने सम्झौतासमेत गरेका छन्।

बर्नहमले रूसविरुद्ध युक्रेनलाई सहयोग गरिरहेका ३४ देश सम्मिलित ‘कोलिसन अफ द विलिङ’ बैठकको पनि सहअध्यक्षता गरेका छन्। बैठकमा युक्रेनको हवाई प्रतिरक्षा बलियो बनाउने विषयमा छलफल भएको छ।

बैठकमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनलाई आवश्यक इन्टरसेप्टर मिसाइलको आपूर्ति तीव्र बनाउनुपर्ने बताएका थिए। गठबन्धनको पहिलो पूर्णस्तरीय सैन्य अभ्यास अक्टोबर र नोभेम्बरमा पोल्यान्डमा हुने उनले पुष्टि गरेका छन्।

स्काल्पजस्ता आक्रामक मिसाइलले युक्रेनको रक्षात्मक हतियारको अभाव भने समाधान गर्दैनन्। रूसले पछिल्ला हप्तामा ठूलो संख्यामा मिसाइल र ड्रोन प्रयोग गरेर युक्रेनमा आक्रमण गरिरहेको छ। प्याट्रियट हवाई प्रतिरक्षा प्रणालीका इन्टरसेप्टरको अभाव युक्रेनका लागि ठूलो चुनौती बनेको छ।

युक्रेनले आफ्नै भूमिमा प्याट्रियट इन्टरसेप्टर उत्पादन गर्न अनुमति मागेको छ। अमेरिकाले भने युक्रेनलाई लामो दूरीका टोमाहक क्रूज मिसाइल दिने माग स्वीकार गरेको छैन।

यसबीच युक्रेनले आफ्नै लामो दूरीका हतियार विकास गरिरहेको छ। युक्रेनी कम्पनी फायर पोइन्टले एफपी-५ ‘फ्लेमिंगो’ क्रूज मिसाइल विकास गरेको छ, जसको दायरा करिब तीन हजार किलोमिटर रहेको दाबी गरिएको छ।

जेलेन्स्कीले फ्लेमिंगो मिसाइल रूसको सीमाबाट करिब ९०० किलोमिटर टाढा रहेको रकेट इलेक्ट्रोनिक्ससम्बन्धी उद्योगमा प्रहार गर्न प्रयोग गरिएको बताएका छन्। युक्रेनले लामो दूरीका ड्रोन र छोटो दूरीका ब्यालिस्टिक मिसाइल पनि विकास गरिरहेको छ।

विश्लेषकहरूका अनुसार युक्रेनले लामो दूरीका हतियारको प्रयोग बढाउँदै जाँदा रूसको ठूलो भूभाग नै चुनौती बन्न थालेको छ। यसले रूसलाई सीमित हवाई प्रतिरक्षा प्रणाली धेरै क्षेत्रमा बाँड्नुपर्ने अवस्था आउन सक्छ। एजेन्सी

प्रकाशित: ९ भाद्र २०८३ ०९:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App