होर्मुज जलमार्गमा आइतबार तीन वटा तेल ट्यांकरमा आगलागी भएको इरानले जनाएको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले अनुमति बिना जलमार्ग पार गर्न खोजेका जहाजमा यस्तो घटना भएको दाबी गरेको हो।
आईआरजीसीका अनुसार आइतबार बिहान तीन वटा ट्यांकर होर्मुज जलमार्गको अनुमति नलिएको मार्गबाट यात्रा गरिरहेका बेला विस्फोट भएका थिए। तर इरानले ती जहाजको नाम र राष्ट्रियता सार्वजनिक गरेको छैन। घटनाबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन।
फेब्रुअरीको अन्त्यमा इरान युद्ध सुरु भएयता तेहरानले होर्मुज जलमार्गमा आवतजावतमा कडाइ गर्दै आएको छ। इरानले जहाजलाई आफूले अनुमति दिएका मार्ग प्रयोग गर्न आग्रह गरेको छ। त्यसको जवाफमा अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी लगाएको छ।
विश्वभर खपत हुने इन्धनको करिब पाँच भागको एक भाग होर्मुज जलमार्ग हुँदै आपूर्ति हुने भएकाले यस क्षेत्रमा बढ्दो तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा असर पार्न सक्छ।
यसअघि बेलायती सामुद्रिक सुरक्षा एजेन्सी यूकेएमटीओले ओमानको खासाब तट नजिकै एउटा ट्यांकरमा आगलागी भएको जनाएको थियो। एजेन्सीका अनुसार जहाजका चालक दललाई उद्धार गरिएको थियो। आइतबार इमिराती सरकारी सञ्चारमाध्यमले ओमानको खाडीमा जलिरहेको जहाजबाट २२ जनाको उद्धार गरिएको र उनीहरूको अवस्था सामान्य रहेको जनाएको थियो। यी दुई घटना एउटै हुन् वा फरक भन्ने पुष्टि भएको छैन।
यसैबिच, इरानको सरकारी समाचार एजेन्सी आइआरएनएले शनिबार अबेर केश्म, सिरिक, जास्क र बन्दर अब्बास क्षेत्रमा विस्फोटजस्ता आवाज सुनिएको जनाएको थियो। ती आवाजको कारण भने खुल्न सकेको छैन। जास्क बन्दरगाह क्षेत्रमा पनि यसको प्रभाव परेको एजेन्सीले जनाएको छ।
अमेरिकाले पनि पछिल्लो समय इरानमा सैन्य कारबाही जारी राखेको छ। नोभेम्बर ६ मा अमेरिकी सेनाले होर्मुज जलमार्ग नजिकैको केश्म टापुमा इरानी हवाई प्रतिरक्षा प्रणालीलाई लक्षित गरी आक्रमण गरेको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आक्रमणलाई सीमित कारबाही भनेका थिए।
यसअघि अमेरिकी सेन्ट्रल कमान्डले होर्मुज जलमार्ग हुँदै खाडी मुलुकहरूलाई तेल निर्यात गर्न सहयोग गरेको दाबी गरेको थियो। उसले जलमार्गका अवरोध हटाइएको जनाएको थियो। तर इरान र अमेरिकाबिचको सैन्य तनाव तथा जहाजमाथिका घटनाले उक्त क्षेत्रमा समुद्री यातायात अझै जोखिमपूर्ण बनेको छ।
प्रकाशित: २२ कार्तिक २०८३ २०:११ आइतबार





