२७ श्रावण २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘रेड सी’ मा तनाव : हुथी विद्रोहीले जहाजमा आक्रमण गर्दा छ जनाको मृत्यु

रेड सीको बाब अल-मन्देब स्ट्रेटमा इरान समर्थित हुथी विद्रोहीहरूले गरेको भीषण मिसाइल आक्रमणमा छ जनाको ज्यान गएको छ।

यमनी अधिकारीहरूले दिएको जानकारीअनुसार यस आक्रमणमा चार चालक दलका सदस्य र सरकारी-सहयोगी राष्ट्रिय प्रतिरोध बलका दुई उद्धारकर्मी मारिएका छन्। यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारको यातायात मन्त्रालयका अनुसार हुथीहरूले यमनी व्यावसायिक जहाजलाई लक्षित गरी तीनवटा ब्यालिस्टिक मिसाइल प्रहार गरेका थिए। अरब क्षेत्रमा पछिल्लो समय जारी लडाइँका क्रममा यमनबाट जहाजमाथि गरिएको हुथी आक्रमणबाट भएको यो पहिलो मानवीय क्षति हो।

यस घटनालगत्तै अमेरिकी सेनाले ओमानको खाडीमा अर्को कडा कदम चालेको छ। अमेरिकी सेनाले इरानी बन्दरगाहहरूको अमेरिकी नाकाबन्दीबाट बच्न खोजिरहेको पनामा झण्डा बोकेको कन्टेनर जहाज ‘भेला नोभा’ माथि गोली प्रहार गरी त्यसलाई रोकेको छ। अमेरिकी केन्द्रीय कमान्डले जनाएअनुसार उक्त जहाजले रोकिने चेतावनीलाई बेवास्ता गरेपछि अमेरिकी हेलिकप्टरले जहाजको इन्जिन कोठालाई लक्षित गरी मिसाइल प्रहार गरेको थियो। अप्रिलमा नाकाबन्दीको घोषणा भएपछि अमेरिकी सेनाले आक्रमण गरेको यो बाह्रौँ जहाज हो।

क्षेत्रीय तनाव थप चुलिँदै जाँदा हुथी विद्रोहीका प्रमुख वार्ताकार तथा प्रवक्ता मोहम्मद अब्दुल-सलामले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्। साउदी अरेबियाले युद्धविरामको फाइदा उठाउँदै सन् २०१५ मा लगाइएको हवाई र समुद्री नाकाबन्दीलाई थप कडा बनाएको आरोप लगाउँदै उनले भने, ‘हुथीहरू वार्ताका लागि खुला छन्। तर कुनै पनि समाधानमा नाकाबन्दी हटाउनु अनिवार्य रूपमा समावेश हुनुपर्छ।’

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै मध्य पूर्वको अवस्थाबारे भने, ‘हामीले होर्मुजको जलमार्गलाई पूर्ण रूपमा नियन्त्रण गर्छौं। यसमा हाम्रो पूर्ण नियन्त्रण छ। अरू कोही छैन, हामी मात्र छौं।’ इरान र अमेरिकाबिचको बढ्दो तनावलाई कम गर्न कूटनीतिक प्रयासहरू पनि तीव्र पारिएका छन्।

यसै क्रममा पाकिस्तानी गृहमन्त्री मोहसिन नक्वी तेहरान पुगेर इरानी विदेशमन्त्री अब्बास अराघची लगायतका उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका छन्। जुनमा पाकिस्तानले मध्यस्थता गरेको अन्तरिम शान्ति सम्झौता अन्तर्गत इरानलाई अमेरिकासँग वार्ता पुनः सुरु गर्न प्रोत्साहित गर्ने उद्देश्यले यो भ्रमण गरिएको हो। पाकिस्तानको तर्फबाट इरानको यो छैटौं उच्चस्तरीय भ्रमण रहेको अधिकारीहरूले बताएका छन्।

विश्लेषकहरूले रेड सीमा भएको पछिल्लो घातक आक्रमण र अमेरिकी सैन्य कारबाहीले मध्य पूर्वमा नयाँ र ठूलो द्वन्द्वको मोर्चा खोल्न सक्ने चेतावनी दिएका छन्। एजेन्सी

प्रकाशित: २७ श्रावण २०८३ ०८:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App