२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन

संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सीहरुले भेनेजुएलामा गएको दुई वटा विनाशकारी भूकम्प पछि दशौँ हजार मानिसहरु पर्याप्त आश्रय  स्थल विहीन भएको पुष्टि गरेका छन्।  

संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी (युएनएचसीआर) विज्ञप्ति जारी गर्दै  दिन प्रतिदिन मृतकको सङ्ख्या बढ्दै गएको उल्लेख गरेको छ। अधिकारीहरूका अनुसार लगभग दुई हजार जनाको मृत्यु भएको पुष्टि भएको छ भने अहिले सम्म छ हजार ४०० भन्दा बढी मानिसहरूलाई उद्धार गरिएको छ। 

युएनएचसीआरले बताए अनुसार संयुक्त राष्ट्र सङ्घीय एजेन्सीहरूले सङ्कटमा आफ्नो प्रतिक्रिया तथा सेवा जारी राखेका छन् । संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले तीन महिनाका लागि  एक लाख मानिसहरूका लागि पर्याप्त आपूर्ति गरेको छ भने  युएनएचसीआरले विस्थापित मानिसहरूलाई आश्रय प्रदान गरेको छ। 

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) ले दर्जनौं अन्तर्राष्ट्रिय खोजी तथा उद्धार टोलीहरू सँग समन्वय गरिरहेको छ जसले प्रभावित क्षेत्रमा आफ्नो कार्य जारी राखेको छ। संयुक्त राष्ट्रसंघीय विपद् मूल्याङ्कन तथा समन्वय टोली (युएनडिएसी) ले सबै भन्दा बढी प्रभावित समुदायहरूमा तत्कालिन आवश्यकताको आकलन गर्ने काम जारी राखेको छ। 

संयुक्त राष्ट्र सङ्घले भूकम्पले अस्पतालहरूका साथै ४०० भन्दा बढी विद्यालयहरू र पानी सञ्जालका संरचना सहित एक हजार भवनहरू क्षति ग्रस्त वा नष्ट गरेको जनाएको छ।   

प्रकाशित: १८ असार २०८३ १६:५७ बिहीबार