बेलायतमा १० वर्षीय छात्रमाथि वर्षौंसम्म यौन दुर्व्यवहार गरेको अभियोगमा एक पूर्व शिक्षिकालाई सात वर्ष जेल सजाय सुनाइएको छ।
डेबोरा फ्र्यांकलिनलाई सन् १९९१ देखि १९९५ सम्म १४ वर्षमुनिका छात्रमाथि आठ पटक गम्भीर अश्लील गतिविधि गरेको अभियोगमा दोषी ठहर गरिएको हो। उनी अहिले ६५ वर्षकी छन्।
फ्र्यांकलिनले ती बालकलाई उनी नौ वर्षको हुँदा आफ्नो कक्षामा पढाएकी थिइन्। पछि उनी उनको निजी शिक्षिका पनि बनिन्। परिवारले ट्युसनका लागि उनलाई छोराको कोठामा जान दिएको थियो। तर अदालतमा सुनाइएअनुसार उनले शिक्षकको भूमिकाको दुरुपयोग गर्दै छात्रमाथि यौन दुर्व्यवहार गरिन्। पीडितले अदालतमा आफूलाई ओछ्यानमा बाँध्ने, आँखामा पट्टी लगाउने र प्वाँखले गुदगुदी गर्ने गरेको बताएका हुन्।
उनले फ्र्यांकलिनले आफूलाई ‘प्रेमीको जस्तो व्यवहार’ गर्थिन् भनेका छन्। उनीहरूबिच धेरै पटक यौन सम्पर्क भएको पनि उनले बताए। घटना भएको लामो समयपछि सन् २०२४ मा पीडितले फ्र्यांकलिन अझै शिक्षण पेसामा रहेको थाहा पाएपछि प्रहरीमा उजुरी गरेका हुन्। त्यसपछि प्रहरीले अनुसन्धान अघि बढायो।
फ्र्यांकलिनले भने सबै आरोप अस्वीकार गरेकी थिइन्। उनले आफूलाई ती छात्रलाई पढाएको समेत राम्रोसँग याद नभएको दाबी गरिन्। सन् २०२६ को जुलाईमा निर्णायक मण्डलले उनलाई आठ वटै अभियोगमा दोषी ठहर गरेको थियो। त्यसपछि सेन्ट अल्बान्स क्राउन कोर्टले उनलाई सात वर्ष जेल सजाय सुनाएको हो।
बेलायती सञ्चारमाध्यमका अनुसार सजाय सुनाउने क्रममा न्यायाधीश कामरान चौधरीले फ्र्यांकलिनले शिक्षकका रूपमा पाएको विश्वासको गम्भीर दुरुपयोग गरेको बताए। बालकलाई मार्गदर्शन गर्नुपर्ने शिक्षिकाले आफ्नो पदको दुरुपयोग गरेकी गरिन्।
सजायपछि पीडितले बाल्यकालमा आफूले भोगेको घटनाको असर जीवनभर रहेको बताए। उनले भने, ‘बालक छँदा ममाथि जे भयो त्यसले मेरो जीवनलाई नयाँ आकार दिएको छ।’ उनले बालकमाथि हुने यौन दुर्व्यवहारलाई बेवास्ता गर्न नहुने बताए। यस्ता घटनाबाट पीडित भएका पुरुषहरूले पनि आफूले भोगेको कुरा खुलेर बताउन र सहयोग माग्न ढिला गर्न नहुने उनको भनाइ थियो।
हर्टफोर्डशायर प्रहरीले फ्र्यांकलिनलाई घटनाका बेला लागू रहेको सन् १९६० को कानुनअन्तर्गत अभियोग लगाइएको जनाएको छ। उक्त कानुनलाई पछि सन् २००३ को यौन अपराधसम्बन्धी कानुनले प्रतिस्थापन गरेको थियो। फ्र्यांकलिनलाई जेल सजायसँगै रिहाइपछि १० वर्षसम्म लागू हुने सुरक्षा आदेश पनि जारी गरिएको छ। जसअनुसार उनलाई बालबालिकासँग काम गर्न प्रतिबन्ध लगाइएको छ।
प्रकाशित: १५ आश्विन २०८३ २१:०४ बिहीबार





