तान्जानियाका विपक्षी नेता टुण्डु लिसुलाई शुक्रबार अदालतले राजद्रोहभन्दा कम गम्भीर अपराधमा दोषी ठहर गरेको छ। यस फैसलाले उनलाई मृत्युदण्ड हुनबाट बचाएको छ। उक्त मुद्दाको अन्तर्राष्ट्रिय स्तरमा आलोचना हुँदै आएको थियो।
तान्जानियालाई अफ्रिकाका तुलनात्मक रूपमा स्थिर लोकतान्त्रिक देशमध्ये एक मानिन्थ्यो। तर, सत्तारूढ सरकारले विपक्षी दल र प्रदर्शनकारीमाथि कठोर दमन गरेपछि देशको छवि निकै खस्किएको छ।
मुख्य विपक्षी दल चादेमाका नेता लिसुलाई गत वर्षको राष्ट्रपतीय निर्वाचनअघि राजद्रोहको आरोपमा पक्राउ गरिएको थियो।
उनीमाथि निर्वाचन बहिष्कार गर्न आह्वान गरेको आरोप थियो। उक्त कसुरमा मृत्युदण्डसम्मको सजाय हुन सक्ने व्यवस्था छ। तर, अदालतले उनलाई राजद्रोहमा दोषी नठहराई उद्वेलनको आरोपमा दोषी ठहर गरेको छ। यस अपराधमा पाँच वर्षसम्म कैद वा जरिवाना हुन सक्छ।
‘अभियुक्तले आफ्नो अभिव्यक्तिमार्फत निर्वाचन बिथोल्ने र हिंसा भड्काउने मनसाय राखेको देखिएको थियो,’ समर्थकहरूले भरिएको अदालत कक्षमा एक न्यायाधीशले भने।
राष्ट्रपति सामिया सुलुहु हसनको सरकारले सन् २०२५ अक्टोबरको निर्वाचनअघि विपक्षी नेता र आलोचकहरूलाई व्यापक रूपमा पक्राउ तथा अपहरण गरेको थियो। यसले निर्वाचनका क्रममा ठूलो प्रदर्शन निम्त्याएको थियो।
विपक्षी दल र मानव अधिकार समूहहरूले सरकारी कारबाहीमा हजारौँ मानिस मारिएको दाबी गरेका छन्। सरकारले भने हिंसामा संलग्न भीडलाई नियन्त्रण गर्ने क्रममा गरिएको कारबाहीमा ५१८ जनाको मृत्यु भएको जनाएको छ।
फैसलाअघि व्यावसायिक राजधानी दार ए सलाम र अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। राजद्रोहमा दोषी ठहर गर्ने फैसला आए थप अशान्ति निम्तिन सक्ने विश्लेषकहरूले चेतावनी दिएका थिए।
बुधबार प्रहरीले ‘कू’ गरेर सत्ता कब्जा गर्न खोज्नेहरूविरुद्ध चेतावनी दिँदै केही समूह सहरमा आउने तयारीमा रहेको बताएको थियो।
बेलायती र युरोपेली संघका सांसदहरूले उक्त मुद्दा राजनीतिक रूपमा प्रेरित भएको भन्दै लिसुलाई तत्काल रिहा गर्न माग गरेका थिए।
‘राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध मृत्युदण्डको प्रयोगले न्याय प्रणालीलाई राजनीतिक दमनको साधन बनाउन सक्छ,’ उनीहरूले तान्जानियाका राष्ट्रपतिलाई लेखेको पत्रमा उल्लेख गरेका थिए।
अमेरिकी राजदूत विलियम ट्राचम्यानले सामाजिक सञ्जाल एक्समा लेखेका थिए, ‘म टुण्डु लिसुको मुद्दाको नतिजा र यसले विधिको शासनमा पार्ने प्रभावलाई नजिकबाट हेरिरहेको छु।’
यो मुख्य भूमि तान्जानियाको इतिहासमा तेस्रो उच्चस्तरीय राजद्रोह मुद्दा हो। सन् १९७० र १९८० को दशकमा करिब २० वर्षसम्म देशका संस्थापक राष्ट्रपति जुलियस न्येरेरेलाई अपदस्थ गर्ने र हत्या गर्ने षड्यन्त्र गरेको आरोपमा यस्ता मुद्दा चलेका थिए।
लिसुले भने यसअघि यति गम्भीर आरोपको सामना गरेका थिएनन्। सन् २०१७ मा उनीमाथि गोली प्रहार भएको थियो। शरीरमा १६ वटा गोली लागे पनि उनी बाँच्न सफल भएका थिए। उक्त घटनालाई उनले राजनीतिक रूपमा प्रेरित हत्या प्रयासका रूपमा लिँदै आएका छन्। त्यसपछि उनले करिब २० पटक शल्यक्रिया गराउनुपरेको थियो।
अन्तिम बहसका क्रममा उनले तीन न्यायाधीशको इजलासलाई साहस देखाउन आग्रह गरेका थिए।
‘मलाई आशा छ, तपाईंहरूले पूर्वाग्रह नराखी, साहस र न्यायिक शपथअनुसारको मर्यादा कायम गर्दै यो गम्भीर ऐतिहासिक जिम्मेवारी पूरा गर्नुहुनेछ,’ मुद्दामा आफैँ बहस गरेका लिसुले सुनुवाइका क्रममा भनेका थिए।
प्रकाशित: २० कार्तिक २०८३ १९:०७ शुक्रबार





