२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रूसको प्रयोगशालामा कार्यरत कर्मचारीको शंकास्पद मृ*त्यु, २०० जना ‘क्वारेन्टाइन’

रूसको साइबेरिया क्षेत्रमा प्लेग (एक प्रकारको संक्रामक रोग) को आशंका देखिएपछि झन्डै २०० जनालाई स्वास्थ्य निगरानीमा राखिएको छ।

प्लेगजस्ता खतरनाक संक्रामक रोगबारे अनुसन्धान गर्ने संस्थामा काम गर्ने एक महिला कर्मचारीको गम्भीर निमोनियाका कारण मृत्यु भएपछि उनीसँग सम्पर्कमा आएका मानिसलाई निगरानीमा राखिएको हो।

इर्कुत्स्कस्थित प्लेग अनुसन्धान संस्थामा प्रयोगशाला प्राविधिकका रूपमा काम गर्ने २८ वर्षीया दार्या शिपिलोभालाई गत मंगलबार गम्भीर निमोनियाका लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको थियो। उनको अवस्था गम्भीर भएपछि कृत्रिम श्वासप्रश्वास यन्त्रको सहायतामा उपचार गरिएको थियो। तर उपचारका क्रममा बिहीबार उनको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

उनको मृत्यु भएपछि उनीसँग सम्पर्कमा आएका कम्तीमा १९७ जनालाई स्वास्थ्य निगरानीमा राखिएको छ। तीमध्ये १०० भन्दा बढीलाई अस्पतालमै राखिएको बताइएको छ। बाँकीलाई पनि घरमै अलग राखेर नियमित स्वास्थ्य परीक्षण गरिएको छ। उनीहरूमा प्लेगको संक्रमणका लक्षण देखिएको छ कि छैन भनेर अधिकारीले निगरानी गरिरहेका छन्।

यस घटनासँगै प्रयोगशालामा काम गर्ने क्रममा जीवित ब्याक्टेरिया भएको परीक्षण नली दुर्घटनावश फुटेको भन्ने विवरण पनि सार्वजनिक भएको छ। मस्को टाइम्सका अनुसार ती महिलाले स्वास्थ्यकर्मीलाई नमुना संकलन गर्ने क्रममा परीक्षण नली फुटेको बताएकी थिइन्। त्यसपछि उनी बिरामी परेको र प्लेगको संक्रमण भएको हुन सक्ने आशंका गरिएको हो।

तर परीक्षण नली फुटेको घटना र उनको मृत्युबिच प्रत्यक्ष सम्बन्ध रहेको कुरा रूसी अधिकारीले पुष्टि गरेका छैनन्। त्यस्तै, ती महिला प्लेगबाट संक्रमित भएकी थिइन् भन्ने पनि अहिलेसम्म आधिकारिक रूपमा पुष्टि भएको छैन।

रूसको स्वास्थ्य तथा उपभोक्ता सुरक्षा निगरानी निकायले ती महिलालाई ‘कारण नखुलेको निमोनिया’ भएको जनाएको छ। मृतकबाट लिइएको नमुनाको परीक्षण गर्दा उनले प्रयोगशालामा काम गर्ने क्रममा सम्हाल्ने खतरनाक रोगका जीवाणुसँग सम्बन्धित कुनै सूक्ष्मजीव फेला नपरेको निकायले जनाएको छ।

निकायले इर्कुत्स्क र शेलेखोभ क्षेत्रमा स्वास्थ्य अवस्था सामान्य रहेको पनि जनाएको छ। जानकारी अनुसार प्लेग अनुसन्धान संस्थामा काम गर्ने अन्य कर्मचारीमा पछिल्लो १० दिनमा नयाँ संक्रामक रोग देखिएको छैन। संस्थामा खतरनाक रोगका जीवाणु बाहिर फैलिएको कुनै घटना पनि फेला नपरेको अधिकारीले बताएका छन्।

छिमेकी बुर्यातिया क्षेत्रका प्रमुख अलेक्सी त्सिदेनोभले भने सुरुमा ती महिलाको मृत्यु प्लेगका कारण भएको बताएका थिए। पछि उनले आफ्नो भनाइ सच्याउँदै ती महिला ‘प्लेगबाट संक्रमित भएको हुन सक्ने’ भने। उनले बुर्यातिया क्षेत्रमा, मंगोलियासँग जोडिएको सीमाक्षेत्रसहित, प्लेगको कुनै प्रकोप नरहेको बताएका छन्।

इर्कुत्स्क क्षेत्रका गभर्नर इगोर कोब्जेभले घटनालाई ‘विशेष रूपमा खतरनाक संक्रमणको आशंका’ का रूपमा उल्लेख गरेका छन्। उनले स्वास्थ्य अधिकारीसँग आपत्कालीन बैठक गरेका थिए। कोब्जेभका अनुसार मृतकसँग सम्पर्कमा आएका सबै व्यक्तिलाई स्वास्थ्य निगरानीमा राखिएको छ। तर अहिलेसम्म उनीहरूमा प्लेगका लक्षण देखिएका छैनन्।

स्वास्थ्य अधिकारीका अनुसार सम्पर्कमा आएका व्यक्तिको परीक्षण गर्दा दुई जनामा कोरोना भाइरस र दुई जनामा रुघाखोकीसँग सम्बन्धित भाइरसको संक्रमण भेटिएको थियो। तर प्लेगको जीवाणु वा मृतक महिलाको प्रयोगशाला कामसँग सम्बन्धित अन्य खतरनाक संक्रमण भने फेला नपरेको उनीहरूले जानकारी दिएका छन्।

घटनापछि शेलेखोभ जिल्ला अस्पतालसहित केही स्वास्थ्य संस्थामा सावधानीका उपाय अपनाइएको थियो। केही व्यक्तिलाई तीन सातासम्म अलग राखिएको थियो। इर्कुत्स्कमा आयोजना हुन लागेका केही सार्वजनिक कार्यक्रम पनि रद्द गरिएको थियो। नजिकै रहेको एउटा एल्युमिनियम कारखानाले आफ्ना कर्मचारीलाई सावधानीका रूपमा मास्क लगाउन निर्देशन दिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रयोगशाला कर्मचारीको मृत्युमा स्वास्थ्य तथा सुरक्षा नियम उल्लंघन भएको हो कि होइन भन्नेबारे रूसी सुरक्षा निकायले अनुसन्धान थालेको छ। तर स्वास्थ्य निगरानी निकायले गरेको प्रारम्भिक जाँचमा प्रयोगशालामा खतरनाक जीवाणुसँग सम्बन्धित कुनै आपत्कालीन घटना नभएको जनाएको छ।

यस घटनालाई केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले फोक्सोमा असर गर्ने निमोनिक प्लेगसँग जोडेर हेरेका छन्। प्लेग एक प्रकारको संक्रामक रोग हो। यसको एउटा प्रकार संक्रमित जनावर वा उपियाँको टोकाइबाट मानिसमा सर्न सक्छ। फोक्सोमा असर गर्ने निमोनिक प्लेग भने संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने सूक्ष्म कणबाट अर्को व्यक्तिमा सर्न सक्छ।

निमोनिक प्लेग भएमा अचानक ज्वरो आउने, टाउको दुख्ने, शरीर कमजोर हुने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने र खोकी लाग्ने जस्ता लक्षण देखिन सक्छन्। समयमै उपचार नपाए यो रोग गम्भीर बन्न सक्छ। तर सुरुमै रोग पहिचान गरेर उपयुक्त औषधि प्रयोग गरेमा उपचार गर्न सकिने चिकित्सकहरू बताउँछन्।

रूसका पूर्व स्वास्थ्य अधिकारी गेन्नाडी ओनिस्चेन्कोले पनि ती महिला प्लेगबाट संक्रमित भएको सम्भावना कम रहेको बताए। प्लेग पुष्टि भए पनि अहिलेको अवस्थामा रोग ठुलो रूपमा फैलिने सम्भावना नरहेको उनको भनाइ छ।

यसैबिच, अमेरिकी राष्ट्रपति कार्यालयले पनि रूसको घटनालाई निगरानी गरिरहेको जनाएको छ। अधिकारीका अनुसार अमेरिकाले रूसमा सम्भावित प्लेगको संक्रमण र त्यसपछि गरिएको क्वारेन्टाइनबारे जानकारी लिइरहेको छ। उनीहरूले घटनासँग सम्बन्धित धेरै विवरण अझै पुष्टि हुन बाँकी रहेको बताएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रकाशित: २० आश्विन २०८३ ०९:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App