७ कार्तिक २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युक्रेनमा स्टारलिंक सेवा अवरुद्ध हुने समस्या कायमै, सैन्य ड्रोन सञ्चालन प्रभावित

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कको कम्पनी स्टारलिंकमा लगाइएका प्रतिबन्ध हटाइएको बताए पनि युक्रेनमा स्याटेलाइट इन्टरनेट सेवामा समस्या कायमै रहेको छ।

बीबीसीका अनुसार युक्रेनी रक्षा मन्त्रालयका एक अधिकारीले तीव्र गतिमा उडिरहेका सैन्य ड्रोनको इन्टरनेट सम्पर्क विच्छेद हुने घटना अझै भइरहेको जानकारी दिएका छन्। यसले सैन्य अभियान सञ्चालन तथा रक्षात्मक कारबाहीको समन्वयमा कठिनाइ उत्पन्न गरेको छ।

प्राप्त विवरणअनुसार प्रतिघण्टा १६१ किलोमिटर (१०० माइल) को गतिमा उड्ने ड्रोनमा समेत सम्पर्क विच्छेद हुने समस्या देखिएको छ।

ट्रम्पले बिहीबार मस्कले सेवा पुनः सुचारु गराएको बताएका थिए। तर युक्रेनी रक्षा मन्त्रालयका स्रोतहरूले स्टारलिंक र यसको सैन्य प्रयोजनका लागि प्रयोग हुने स्टारसिल्ड दुवै सञ्जालको कार्यसम्पादन निरन्तर निगरानी गरिरहेको र प्रतिबन्ध हटाइएको पुष्टि नभएको बताएका छन्।

स्टारलिंकको गतिमा प्रतिबन्ध लगाइएको आरोप

गत साता युक्रेनले पृथ्वीको तल्लो कक्षमा रहेका स्याटेलाइटसँगको सञ्चार गतिमा सीमा लगाइएको जनाएको थियो। युक्रेनी अधिकारीहरूका अनुसार, प्रतिघण्टा १०० माइलभन्दा बढी गतिमा उड्ने ड्रोनले आफ्नो सम्पर्क गुमाउने गरेका थिए।

यसले युक्रेनको आक्रमणकारी ड्रोन सञ्चालन गर्ने तथा रक्षात्मक कारबाही समन्वय गर्ने क्षमतामा असर पारेको बताइएको छ।

मस्कले भने आफूले स्टारलिंकको गति घटाउने निर्णय नगरेको बताएका थिए।

उनले युक्रेनले प्रयोग गर्ने स्टारसिल्ड अमेरिकी सेनाको नियन्त्रणमा रहेको उल्लेख गर्दै समस्यामा अमेरिकी रक्षा मन्त्रालयको भूमिका हुन सक्ने संकेत गरेका थिए।

यद्यपि, ह्वाइट हाउसले युक्रेनमा स्टारलिंक सञ्जालको पहुँच जानाजानी सीमित गरिएको भन्ने आरोप पटक–पटक अस्वीकार गरेको छ।

युद्धभूमिमा स्टारलिंक किन महत्त्वपूर्ण ?

युक्रेनले सैन्य आवश्यकताअनुसार सर्वसाधारणका लागि उपलब्ध स्टारलिंक र बढी सुरक्षित सञ्चारका लागि बनाइएको स्टारसिल्ड प्रयोग गर्दै आएको छ।

यी सञ्जालले दुर्गम क्षेत्र र युद्धभूमिमा सञ्चार सुविधा उपलब्ध गराउँछन्। स्टारसिल्डको सहायताले युक्रेनी ड्रोन सञ्चालकहरूले लक्ष्यलाई वास्तविक समयमा हेर्न तथा अवरोधक ड्रोन सञ्चालन गर्न सक्ने बताइएको छ।

स्याटेलाइट इन्टरनेटमा समस्या आएमा ड्रोनको नियन्त्रण, सूचना आदानप्रदान र सैन्य कारबाहीबीचको समन्वय प्रभावित हुन सक्छ।

ट्रम्प–जेलेन्स्कीबीचको तनावसँग जोडिएको विषय

युक्रेनमा स्टारलिंक सेवाको गति घटाइएको सम्बन्धी खबर अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच रुसका तेल पूर्वाधारमाथि युक्रेनले गर्ने आक्रमणका विषयमा कूटनीतिक तनाव बढिरहेका बेला सार्वजनिक भएको थियो।

ट्रम्पले रुसमाथिका केही प्रतिबन्धमा छुट दिएको तथा अमेरिकी बजारमा रुसी डिजेल आयात गर्ने सम्झौता गरेको विषयलाई युक्रेन र उसका युरोपेली सहयोगीहरूले आलोचना गरेका थिए।

स्टारलिंक सेवामा देखिएको समस्याबारे ट्रम्पले मस्कसँग कुरा गरेर प्रतिबन्ध हटाउन आग्रह गरेका थिए वा थिएनन् भन्ने प्रश्नमा स्पष्ट जवाफ नदिए पनि उनले मस्कले सेवा पुनः सुचारु गरेको बताएका थिए।

तर युक्रेनी रक्षा मन्त्रालयका स्रोतहरूले प्रतिबन्ध हटाइएको पुष्टि नभएको जनाएपछि स्टारलिंकको वास्तविक अवस्था र त्यसले युक्रेनको सैन्य सञ्चारमा पार्ने प्रभावबारे प्रश्न कायम रहेको छ।

प्रकाशित: ६ कार्तिक २०८३ १६:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App