१५ कार्तिक २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

थाइल्यान्डमा सार्वजनिक स्थानमै आपत्तिजनक गतिविधि गरेको आरोपमा सात महिला पक्राउ

देश निकाला प्रक्रिया सुरु

थाइल्यान्डको राजधानी बैंककस्थित सुखुमभिट रोडमा सार्वजनिक स्थानमै यौन सेवा प्रस्ताव गरेको आरोपमा पक्राउ परेका सात विदेशी महिलालाई देश निकाला गर्ने प्रक्रिया सुरु गरिएको छ।

२२ देखि ४१ वर्ष उमेरका ती महिलालाई शुक्रबार (स्थानीय समयअनुसार) राति करिब ८ बजे सुखुमभिट रोडको सोई ४ (सोई नाना) र सोई ११ बीचको क्षेत्रबाट पक्राउ गरिएको हो। उनीहरू सबै भियतनामी नागरिक रहेको लुम्पिनी प्रहरी चौकीका प्रमुख पोल कर्नल यिंग्योत सुवानोले जानकारी दिएका हुन्। 

प्रहरीका अनुसार ती महिलाहरूले सार्वजनिक स्थानमै यौन सेवा प्रस्ताव गर्दै बाटो हिँड्ने मानिसहरूलाई निरन्तर सम्पर्क गर्ने गरेका थिए। यसबाट सार्वजनिक उपद्रव निम्तिएको र थाइल्यान्डको पर्यटन छविमा असर परेको भन्दै गुनासो आएपछि प्रहरीले निगरानी बढाएको थियो।

त्यसपछि लुम्पिनी प्रहरी, अध्यागमन डिभिजन १ र महिला मामिला तथा परिवार विकास विभागका अधिकारी सम्मिलित संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको थियो।

ती महिलामाथि सार्वजनिक स्थानमा खुला तथा अश्लील तरिकाले यौन व्यवसायका लागि ग्राहक खोजेको आरोप लगाइएको छ। पक्राउपछि उनीहरूलाई बैंककस्थित सुआन फ्लु अध्यागमन कार्यालयमा राखिएको छ।

अधिकारीहरूले उनीहरूमाथि प्रशासनिक जरिवानाको प्रक्रिया अघि बढाउनुका साथै थाइल्यान्डमा बस्न पाउने अनुमति अर्थात् भिसा रद्द गर्ने काम पनि गरिरहेका छन्। त्यसपछि उनीहरूलाई अध्यागमन कानुनअनुसार भियतनाम फिर्ता पठाइनेछ।

देश निकाला भएपछि सातै जनालाई थाइल्यान्डको अध्यागमन कालोसूचीमा राखिनेछ। यससँगै उनीहरूलाई भविष्यमा पुनः थाइल्यान्ड प्रवेश गर्न प्रतिबन्ध लगाइने अधिकारीहरूले जनाएका छन्।

प्रकाशित: १५ कार्तिक २०८३ १२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App