अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी सम्झौता भएको घोषणा गरेको भोलिपल्टै शनिबार युक्रेनको जापोरिजिया क्षेत्रमा रुसी आक्रमणमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन बालबालिका छन् भने कम्तीमा १६ जना घाइते भएका छन्।
जापोरिजियामा आवासीय भवनहरूमा रुसी हवाई बम खस्दा आठ जनाको मृत्यु भएको क्षेत्रीय रक्षा परिषद्का सहअध्यक्ष इभान फेडोरोभले शनिबार बताएका छन्।
रुसले पूर्णस्तरको आक्रमण सुरु गरेको साढे चार वर्षभन्दा बढी समय बितिसक्दा पनि दुवै पक्षका सेना युद्धमोर्चामा उल्लेखनीय प्रगति गर्न सकेका छैनन्। युद्धमा गतिरोध कायम रहे पनि दुवै देशले लामो दूरीका हवाई आक्रमण जारी राखेका छन्। पछिल्लो चार दिनमा रुसी बमबारीका कारण ५५ जनाभन्दा बढीको मृत्यु भएको छ।
ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल प्राप्त गर्ने सम्झौता भएको घोषणा गरेको भोलिपल्टै युक्रेनमा आक्रमण भएको हो। यो कदम युक्रेन युद्धका कारण मस्कोमाथि अमेरिकाले वर्षौंदेखि अपनाउँदै आएको दबाबको नीतिमा आएको अप्रत्याशित परिवर्तनका रूपमा हेरिएको छ। अमेरिकी मध्यावधि निर्वाचनअघि बढ्दो इन्धन मूल्य नियन्त्रण गर्ने प्रयासका रूपमा पनि यसलाई विश्लेषण गरिएको छ।
ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत पुटिनसँगको टेलिफोन वार्तामा उक्त सम्झौता भएको जानकारी दिएका थिए । सुरुमा उक्त वार्तामा रुसमा देखिएको प्लेगको शंकास्पद घटनाबारे छलफल हुने अपेक्षा गरिएको थियो।
तर ट्रम्पले रुसले तत्कालै तीन लाख टनभन्दा बढी डिजेल उपलब्ध गराउने र त्यसपछि नोभेम्बरमा थप पाँच लाख टन तथा केही समयपछि १० लाख टन डिजेल दिने घोषणा गरेका थिए। त्यसलगत्तै छोटो अवधिमा थप ३० लाख टन डिजेल उपलब्ध गराइने पनि उनले उल्लेख गरेका थिए।
ट्रम्पको घोषणाले गत महिना उनले नै हस्ताक्षर गरेको रुसमाथिको व्यापक प्रतिबन्धसम्बन्धी कानुनसँग विरोधाभास सिर्जना गरेको छ। उक्त कानुनको उद्देश्य युक्रेनविरुद्धको युद्धलाई आर्थिक सहयोग पुर्याउने रुसी तेल तथा ग्यासबाट हुने आम्दानीमा रोक लगाउनु थियो।
सम्झौताप्रति प्रतिक्रिया जनाउँदै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले यसको जवाफ थप आतंक र विश्वासघातबाट दिने बताएका छन् । उनले यस्तो सम्झौताले युद्धमा रुसको लगानी बढाउने र युद्ध लम्ब्याउन सहयोग पुर्याउने चेतावनी दिएका छन्।
वासिङ्टनस्थित युक्रेनी दूतावासले जारी गरेको विज्ञप्तिमा जेलेन्स्कीले सम्झौतालाई ‘बलिया साझेदारहरूबाट भएको कमजोर निर्णय’ भन्दै आलोचना गरेका छन्।
‘यसले रुसलाई थप हत्या गर्न, लामो समयसम्म युद्ध जारी राख्न, अमेरिकाप्रति अझ कम सम्मान देखाउन तथा विश्वमा थप क्षति र विनाश निम्त्याउन सक्षम बनाउँछ’, जेलेन्स्कीले भनेका छन्।
युद्ध अन्त्य गर्ने प्रस्तावबारे छलफल गर्न ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र उनका ज्वाइँ जारेड कुशनर मियामीमा युक्रेनी अधिकारीहरूसँग भेटवार्ता गरिरहेका बेला ट्रम्पले डिजेल सम्झौताको घोषणा गरेका थिए। उक्त वार्ताबारे टिप्पणी गर्दै जेलेन्स्कीले अमेरिकी टोलीलाई केवल धुवाँको पर्दाका रूपमा प्रयोग गरिँदै गरेको आशंका व्यक्त गरेका छन्।
‘मलाई लाग्छ, हाम्रो टोलीलाई केवल धुवाँको पर्दाका रूपमा प्रयोग गरिँदै छ। यो पक्कै पनि उचित होइन। साझेदारहरूले एकअर्कासँग गर्ने व्यवहार यस्तो हुनुहुँदैन’, उनले भनेका छन्।
प्रकाशित: २४ आश्विन २०८३ १८:१८ शनिबार





