२६ कार्तिक २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाका लागि रुसी राजदूत डार्चिभको निधन

अमेरिकाका लागि रुसी राजदूत अलेक्जान्डर डार्चिभको ६६ वर्षको उमेरमा निधन भएको छ। रुसको विदेश मन्त्रालयले बुधबार उनको निधन भएको घोषणा गरेको हो। उनले अमेरिकाका लागि राजदूतका रूपमा करिब डेढ वर्ष काम गरेका थिए। 

विदेश मन्त्रालयले उनलाई उत्कृष्ट कूटनीतिज्ञ, अनुभवी नेता र सहयोगी स्वभावका सहकर्मीका रूपमा स्मरण गरेको छ। डार्चिभलाई सन् २०२५ मार्चमा अमेरिकाका लागि राजदूत नियुक्त गरिएको थियो। मन्त्रालयले उनको निधनको कारणबारे भने केही खुलाएको छैन। 

अमेरिकी विदेश मन्त्रालयले पनि बुधबार मस्कोमा उनको निधन भएको पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ताले डार्चिभको परिवार र आफन्तप्रति समवेदना व्यक्त गर्दै निधनसम्बन्धी थप विवरणका लागि रुसी सरकारसँग सम्पर्क गर्न आग्रह गरेका छन्। 

डार्चिभले यसअघि सन् २०१४ देखि २०२१ सम्म क्यानडाका लागि रुसी राजदूतका रूपमा काम गरेका थिए। राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः सत्तामा फर्किएपछि रुस–अमेरिका सम्बन्धमा आएको परिवर्तन तथा युक्रेनमाथि रुसको आक्रमणका बीच उनलाई गत वर्ष अमेरिकाका लागि राजदूत नियुक्त गरिएको थियो। 

रुस–अमेरिका सम्बन्धका जानकार डार्चिभले सन् २०२१ देखि २०२४ सम्म रुसी विदेश मन्त्रालयको उत्तर अमेरिका विभागको निर्देशकका रूपमा पनि काम गरेका थिए। सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गर्दा उनले त्यसलाई ‘आवश्यक कदम’ को संज्ञा दिएका थिए। 

प्रकाशित: २६ कार्तिक २०८३ १०:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App