१८ आश्विन २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विदेशी नागरिकलाई तत्काल किभ छोड्न रूसको चेतावनी

रूसले युक्रेनको राजधानी किभमा रहेका विदेशी नागरिक र कूटनीतिज्ञलाई सहर छोड्न र युक्रेनको यात्रा नगर्न चेतावनी दिएको छ।

साथै, किभका स्थानीय बासिन्दालाई सैन्य तथा प्रशासनिक केन्द्रबाट टाढा रहन रूसले सल्लाह दिएको हो।

रूसी विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा रूसले किभसहित अन्य युक्रेनी सहरमा रहेका सैन्य पूर्वाधारलाई लक्षित गर्दै निरन्तर आक्रमण जारी राख्ने बताएको छ। मन्त्रालयले युक्रेनी सेनाले रूसको नागरिक र पूर्वाधारविरुद्ध गरेका ‘आतंकवादी कार्य’को प्रतिक्रियाका रूपमा यस्ता आक्रमण जारी राख्ने बताएको हो।

चेतावनी बेवास्ता गर्दा हुन सक्ने कुनै पनि प्रतिकूल परिणामको जिम्मेवारी सम्बन्धित व्यक्तिमै रहने मस्कोले चेतावनी दिएको छ। 

यसअघि, रूसले मे २५ मा विदेशी साझेदारलाई पठाएको कूटनीतिक नोटमार्फत पनि यस्तो चेतावनी दिएको थियो। त्यसपछि मे २७ मा उप विदेश मन्त्री मिखाइल गालुजिनले कूटनीतिक नियोगका प्रतिनिधिका लागि गरेको ब्रिफिङमा यो विषय दोहोर्‍याएका थिए।

रूसी विदेश मन्त्रालयले अमेरिका, बेलायत, युरोपेली संघका सदस्य राष्ट्र, नर्वे र स्विजरल्याण्डलगायत धेरै देशले पनि आफ्ना नागरिकलाई युक्रेनको यात्रा नगर्न पटक-पटक सल्लाह दिँदै आएको बताएको छ।

किभमा धेरै विदेशी दूतावास सञ्चालनमा छन् र विदेशी अधिकारीहरू युक्रेन भ्रमण गरिरहेका छन्। रूसले यस्तो चेतावनी बेवास्ता गर्नेहरूले जानाजानी आफूलाई जोखिममा पारिरहेको बताएको छ।

यसैबिच, युक्रेनमा पछिल्ला रूसी आक्रमणमा कम्तीमा छ जनाको मृत्यु भएको छ। किभको नर्दर्न ब्रिजमा क्षति पुगेपछि यातायात रोकिएको छ। दुई दिनको आक्रमणका कारण डिनिप्रो नदीमाथिका किभका छ सडक पुलमध्ये ३ वटा पूर्ण वा आंशिक रूपमा बन्द भएका छन्।

रूसी विदेश मन्त्रालयले रूसको सशस्त्र बलले किभ र अन्य युक्रेनी सहरमा ‘ठुला प्रतिशोधात्मक हमला’ जारी राख्ने जनाएको छ। एजेन्सी

प्रकाशित: १८ आश्विन २०८३ ०८:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App