रूसले साउदी अरेबिया र यमनका हुथीबिचको विवाद राजनीतिक तथा कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ।
रूसी विदेशमन्त्री सर्गेई लाभरोभले यसका लागि पर्याप्त आधार रहेको बताएका छन्।
बहराइनको मनामामा आयोजित रूस-खाडी सहयोग परिषद्को रणनीतिक संवादको नवौं चरणपछि पत्रकार सम्मेलनमा लाभरोभले यस्तो बताएका हुन्।
‘हामीले अरबी प्रायद्वीपको दक्षिणी क्षेत्रमा बिग्रँदै गएको अवस्थाबारे पनि छलफल गर्यौं। मेरा सहकर्मीले यमनको अवस्थाबारे यसअघि नै उल्लेख गरिसकेका छन्। हामी र खाडी सहयोग परिषद्का साझेदार दुवै यस संकटको राजनीतिक तथा कूटनीतिक समाधानको पक्षमा छौं,’ लाभरोभले भने।
उनले साउदी अरेबियाको सक्रिय र नेतृत्वदायी भूमिकामा तयार पारिएको सन् २०२३ को मार्गचित्रलाई पनि विवाद समाधानको आधारका रूपमा उल्लेख गरे।
‘यसको समाधानका लागि पर्याप्त आधार छन्। त्यसमध्ये साउदी अरेबियाको सक्रिय र नेतृत्वदायी भूमिकामा विकसित सन् २०२३ को मार्गचित्र पनि एक हो,’ उनले भने।
खाडी सहयोग परिषदमा बहराइन, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान र साउदी अरेबिया गरी छ देश सदस्य छन्। यस परिषद्को उद्देश्य सदस्य राष्ट्रबिच विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्नु र प्रमुख अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा साझा धारणा बनाउनु हो।
प्रकाशित: २ कार्तिक २०८३ ०६:५२ सोमबार





