चिनियाँ राष्ट्रपति सी जिनपिङ भारतको अध्यक्षतामा नयाँ दिल्लीमा भएको दुई दिने ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएर आइतबार चीन फर्किएका छन्।
सम्मेलनका क्रममा सीले ब्रिक्स सहकार्यलाई थप प्रभावकारी बनाउन कृत्रिम बुद्धिमत्ता (एआई), व्यापार तथा लगानी, डिजिटल उद्योग, स्मार्ट उत्पादन र प्रतिभा विकासका क्षेत्रमा पाँच पहल प्रस्ताव गरेका छन्।
नयाँ दिल्लीस्थित भारत मण्डपममा भएको १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन सीले यी प्रस्ताव गरेका हुन्।
उनले ‘बृहत्तर ब्रिक्स’ले उदीयमान बजार र विश्वव्यापी दक्षिणसँग सहकार्य बढाउँदै व्यावहारिक परिणाम हासिल गर्नुपर्ने बताए। सीले औद्योगिक तथा आपूर्ति शृंखला स्थिर र सहज राख्दै साझा विकासका लागि खुलापन र सहकार्य बढाउनुपर्नेमा पनि जोड दिए।
उनले ब्रिक्स देशबिच एआईमा सहकार्य थप बलियो बनाउनुपर्ने बताए। सीका अनुसार चीन एआईमार्फत नयाँ औद्योगिकीकरणलाई अघि बढाउने पहल प्रस्ताव गरेको र अनुसन्धान, विकास तथा प्रयोगका क्षेत्रमा अन्य ब्रिक्स सदस्यसँग सहकार्य गर्न तयार छ। ब्रिक्सअन्तर्गत संयुक्त अनुसन्धान, शिक्षा र तालिमले विकासशील देशलाई नयाँ प्रविधिमा सहभागी हुन थप अवसर दिने उनको भनाइ थियो।
सीले ब्रिक्सलाई शान्ति र स्थायित्व कायम गर्न भूमिका खेल्ने समूहका रूपमा अघि बढाउनुपर्ने बताए। मध्यपूर्वको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले युद्धका कारण त्यहाँका जनताले गम्भीर क्षति बेहोर्नुपरेको उल्लेख गरे। मध्यपूर्वमा शान्ति र स्थायित्व कायम गर्न चीनले ब्रिक्स सदस्यसँग मिलेर भूमिका खेल्ने समेत उनले जानकारी गराए।
उनले अर्को वर्ष ब्रिक्सको अध्यक्षता चीनले सम्हाल्ने र १९औँ ब्रिक्स शिखर सम्मेलन आयोजना गर्ने घोषणा पनि गरेका छन्। विगत दुई दशकमा ब्रिक्स उदीयमान बजार र विकासशील देशबिच सहकार्यका लागि प्रभावशाली मञ्च बनेको सीको दाबी छ। आगामी दिनमा ब्रिक्सलाई अझ व्यावहारिक, समावेशी र प्रभावकारी सहकार्यको मञ्च बनाउनुपर्नेमा उनले जोड दिए।
भारत भ्रमणका क्रममा सीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेट पनि गरेका थिए। भेटमा दुई देशबिचको सम्बन्धको दीर्घकालीन विकासलाई ध्यानमा राख्दै रणनीतिक दृष्टिकोणबाट सम्बन्ध अघि बढाउनुपर्नेमा जोड दिइएको थियो। चीन र भारत फरक भए पनि दुवै देशले एकअर्कालाई सहयोग गर्दै साझा विकास हासिल गर्न सक्ने सीले बताए।
मोदीले भारतको ब्रिक्स अध्यक्षताको समयमा चीनले गरेको सहयोगका लागि धन्यवाद दिए। दुवै नेताले भारत-चीन सीमा प्रश्नको निष्पक्ष, उचित र दुवै पक्षलाई स्वीकार्य समाधान खोज्ने प्रतिबद्धता दोहोर्याए। उनीहरूले द्विपक्षीय सम्बन्धलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट अघि बढाउनेमा पनि जोड दिएका छन्। एजेन्सी
प्रकाशित: २८ भाद्र २०८३ १४:२० आइतबार





