२ कार्तिक २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फ्रान्समा हिं’सात्मक प्रदर्शनपछि राष्ट्रपतिले भने : हामी लज्जित छौँ

फ्रान्समा वर्षौंयताकै गम्भीर अशान्तिपछि राष्ट्रपति इमानुएल म्याक्रोनले नागरिकलाई शान्त रहन आग्रह गरेका छन्।

बढ्दो महँगी र सार्वजनिक सेवामा आएको गिरावटविरुद्ध सुरु भएको प्रदर्शन हिंसात्मक बनेपछि देशभरका पसल, सरकारी भवन र सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको छ।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच विभिन्न सहरमा झडप भएका छन्। कतिपय स्थानमा पसलहरू लुटिएका छन् भने सरकारी भवनमा आगजनी र तोडफोडसमेत भएको छ।

राष्ट्रका नाममा टेलिभिजनमार्फत सम्बोधन गर्दै म्याक्रोनले हिंसात्मक गतिविधिको कडा आलोचना गरे। उनले शान्तिपूर्ण रूपमा विरोध गर्ने नागरिकका मागलाई सम्मान गर्नुपर्ने भए पनि तोडफोड र लुटपाटलाई कुनै पनि हालतमा उचित ठहर गर्न नसकिने बताए।

‘यी तस्बिरहरू हेरेपछि हामी सबैले आफैँलाई सोधेका छौँ—उनीहरूको मनमा के चलिरहेको थियो? फ्रान्सेली नागरिकले आफ्नै देशलाई यस्तो कसरी गर्न सक्छन्?’, राष्ट्रका नाममा टेलिभिजनमार्फत सम्बोधन गर्दै म्याक्रोनले भने, ‘यस्तो हिंसालाई कुनै पनि कुराले उचित ठहर गर्न सक्दैन, न त यसको व्याख्या गर्न सक्छ, न बहाना बनाउन। आज राति हामी सबै आक्रोश र लज्जा महसुस गरिरहेका छौँ।’

पेरिससहित प्रमुख सहरमा झडप

आइतबार पनि राजधानी पेरिससहित मार्सेली, लिल, बोर्डो र स्ट्रासबर्गजस्ता सहरमा तनाव कायम रह्यो। पेरिसको प्लेस डे ला रिपब्लिक क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच पुनः झडप हुँदा प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो। केही प्रदर्शनकारीले साइकलको थुप्रोमा आगो लगाएका थिए।

लिमोगेस सहरमा नगरपालिकाको भवनमा आगलागी हुँदा घडी टावरमा क्षति पुगेको छ। स्थानीय अधिकारीहरूले भवनमा जानाजानी आगो लगाइएको आरोप लगाएका छन्।

मेयर गुइलाउम गुएरिनले पर्याप्त प्रहरी परिचालन नभएको भन्दै असन्तुष्टि जनाए।

प्रदर्शनका कारण प्रभावित सहरहरूमा सोमबार व्यापक सरसफाइ तथा क्षति व्यवस्थापनको काम गरिएको थियो।

हजारौँ पक्राउ, सुरक्षाकर्मी पनि घाइते

फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजका अनुसार देशभर प्रदर्शनका क्रममा करिब २,४०० जना पक्राउ परेका छन् भने झन्डै एक हजार सुरक्षाकर्मी घाइते भएका छन्।

पेरिसमा आइतबार एक प्रदर्शनकारीको हृदयाघातका कारण मृत्यु भएको पनि जनाइएको छ।

सरकारले हिंसात्मक घटनामा अतिवादी वामपन्थी समूह र लुटपाटमा संलग्न व्यक्तिहरूको भूमिका रहेको आरोप लगाएको छ। यद्यपि, प्रदर्शनमा सहभागी सबैलाई हिंसात्मक गतिविधिसँग जोड्न नहुने आवाज पनि उठेको छ।

म्याक्रोनले तत्काल देशव्यापी आपत्काल घोषणा नगर्ने संकेत दिएका छन्। तर सार्वजनिक भवन र व्यवसायको सुरक्षाका लागि आवश्यक परे स्थानीय प्रशासनलाई प्रदर्शनमा प्रतिबन्ध लगाउन सकिने व्यवस्था गरिने बताएका छन्।

महँगी र सार्वजनिक सेवाप्रति बढ्दो असन्तुष्टि

आइतबार देशका विभिन्न सहरमा भएको प्रदर्शनमा पाँच लाखभन्दा बढी मानिस सहभागी भएको बताइएको छ।

बढ्दो जीवनयापन खर्च, कमजोर सार्वजनिक सेवा र आर्थिक समस्याप्रति असन्तुष्टि जनाउँदै नागरिक सडकमा उत्रिएका थिए।

शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनमा हिंसात्मक समूहहरू प्रवेश गरेपछि परिस्थिति नियन्त्रणबाहिर गएको सरकारी अधिकारीहरूको भनाइ छ।

सयौँ पसलमा तोडफोड भएको छ भने विलासी सामानका पसल, सुपरमार्केट र सार्वजनिक भवनहरू निशानामा परेका छन्।

अति–दक्षिणपन्थी नेतृ मरीन ले पेनले पनि हिंसा रोक्न आह्वान गरेकी छन्। उनले देशमा तोडफोड र लुटपाटका घटनालाई सामान्य रूपमा लिन नहुने बताइन्।

अर्कोतर्फ, वामपन्थी नेता जाँ–लुक मेलेन्सोनले भने सरकारले प्रदर्शनकारी विद्यार्थीका मागलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।

व्यवसायमा ठूलो आर्थिक क्षति

फ्रान्सको प्रमुख खुद्रा व्यापार कम्पनी क्यारेफोरका प्रमुख कार्यकारी अधिकृत अलेक्जान्द्रे बोम्पार्डका अनुसार कम्पनीका करिब ५० वटा पसलमा क्षति पुगेको छ, जसमध्ये २० वटा लुटिएका छन्। यसबाट करोडौँ युरो बराबरको नोक्सानी भएको अनुमान गरिएको छ।

अर्थमन्त्री रोलान्ड लेस्क्युरले क्षति व्यहोरेका व्यवसायीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनले तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूलाई जिम्मेवार ठहर गरिने बताएका छन्।

लगातार बढ्दो आर्थिक दबाब र सार्वजनिक सेवाप्रतिको असन्तुष्टिले फ्रान्सेली सरकारमाथि चुनौती थपेको छ।

हिंसा नियन्त्रण गर्ने र नागरिकका जायज माग सम्बोधन गर्ने विषय अहिले सरकारका लागि प्रमुख चुनौती बनेको छ।

प्रकाशित: २ कार्तिक २०८३ ०९:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App