बन्धक रिहाइको माग गर्दै इजरायलमा आइतबार प्रदर्शनकारीले राष्ट्रव्यापी हडताल गरेपछि सडक अवरुद्ध र व्यवसाय बन्द भएका छन्। प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार गर्यो र २५ जनालाई ‘अवरोध’ गरेको आरोपमा पक्राउ गर्यो।
हमासले कमजोर बन्धकको भिडियो जारी गरेको र इजरायलले नयाँ आक्रमणको योजना बनाएको केही हप्तापछि, बन्धक र शोकाकुल परिवारको प्रतिनिधित्व गर्ने समूहले ‘रोक्ने दिन’ आयोजना गरेका हुन्।
प्रदर्शनकारीलाई थप लडाइँले अक्टोबर ७, २०२३ मा हमासद्वारा कब्जा गरिएका बन्धकलाई खतरामा पार्न सक्ने डर छ। इजरायलको अनुमानमा ५९ बन्धक गाजामा छन्, जसमध्ये करिब ३५ जना मृत छन्।
‘हामी बन्धकको शवमाथि युद्ध जित्दैनौं,’ प्रदर्शनकारीले नारा लगाए।
उनीहरू इजरायलभरि दर्जनौं ठाउँमा भेला भएका थिए। राजनीतिज्ञको घर, सैन्य मुख्यालय र प्रमुख राजमार्ग पनि जम्मा भएका थिए। सडक अवरुद्ध गर्दा र आगो बाल्दा प्रहरीले पानीको फोहोरा प्रयोग गर्यो। केही रेस्टुरेन्ट र थिएटर ऐक्यबद्धतामा बन्द भएका छन्।
तेल अभिभमा एक प्रदर्शनकारीले गाजाको दुब्लो बच्चाको तस्बिर बोकेकी थिइन्, यस्ता तस्बिर पहिले कम देखिन्थे। तर गाजाको अवस्थाप्रति आक्रोश बढ्दै गएकाले यस्तो दृश्य बारम्बार देखिन्छ।
यो प्रदर्शन गत सेप्टेम्बरमा गाजामा मृत भेटिएका ६ बन्धकलाई लिएर भएको प्रदर्शनपछिको सबैभन्दा तीव्र प्रदर्शनमध्ये एक हो।
‘सैन्य दबाबले बन्धकलाई फिर्ता ल्याउँदैन, यसले उनीहरूलाई मार्छ,’ पूर्व बन्धक अर्बेल येहौदले तेल अभिभको बन्धक स्क्वायरमा आयोजित प्रदर्शनमा भने। ‘उनीहरूलाई फिर्ता ल्याउने एकमात्र तरिका तत्काल सम्झौता गर्नु हो, कुनै खेल बिना।’ एपी
प्रकाशित: १ भाद्र २०८२ १८:२१ आइतबार





