जापानकी प्रधानमन्त्री साने ताकाइचीले ओकिनावामा अमेरिकी मरीन संलग्न स्थानीय महिलाको हत्या र लुटपाटको घटनालाई लिएर अमेरिकासँग कडा विरोध जनाएकी छन्।
उनले अमेरिकालाई घटनाको अनुसन्धानमा पूर्ण सहयोग गर्न र आफ्ना सैन्य कर्मचारीमाथि कडा अनुशासन लागू गर्न आग्रह गरेकी हुन्। सोमबार संसद्लाई सम्बोधन गर्दै ताकाइचीले घटनालाई ‘जघन्य अपराध’ भन्दै अत्यन्तै खेदजनक भएको बताइन्। उनले यस्ता घटना दोहोरिन नदिन अमेरिकालाई आग्रह गरेकी छन्।
प्रहरीका अनुसार ओकिनावामा तैनाथ २० वर्षीय अमेरिकी मरीन डेभिन ज्याकब बलार्डलाई शनिबार नाहा सहरको एक होटलमा ३९ वर्षीया स्थानीय महिला अन्ना यागीको हत्या र लुटपाट गरेको आशंकामा पक्राउ गरिएको थियो। प्रहरीले सोमबार उनलाई अभियोजककहाँ पठाएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार बलार्डले आरोप अस्वीकार गरेका छन्।
प्रहरीका अनुसार होटलको सुरक्षा क्यामेराको फुटेजमा एक व्यक्ति महिलासँग कोठामा प्रवेश गरेको र केही समयपछि सामान लिएर बाहिरिएको देखिएको छ। घटनास्थलनजिकै महिलाको झोला र पर्स पनि फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाअघि र पछि बलार्डको गतिविधि तथा उनी र महिलाबिचको सम्बन्धबारे पनि अनुसन्धान गरिरहेको छ।
जापानका मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले टोकियोले विभिन्न तहमा अमेरिकासँग विरोध जनाएको बताए। उनले जापान र अमेरिकाले यस्ता घटना दोहोरिन नदिन मिलेर काम गर्ने बताए। ओकिनावाका गभर्नर गेन्टा कोजाले पनि अमेरिकी अधिकारीहरूसँग भेटेर विरोध जनाएका छन्।
उनले घटना ‘पूर्ण रूपमा अस्वीकार्य’ भएको बताउँदै अमेरिकी सैन्य कर्मचारीमाथि अनुशासन लागू गर्ने र मानव अधिकारसम्बन्धी शिक्षा दिने प्रयास प्रभावकारी नभएको बताए।
जापानी विदेशमन्त्री तोशिमित्सु मोटेगीले जापानका लागि अमेरिकी राजदूत जर्ज ग्लासलाई बोलाएर घटनाप्रति कडा विरोध जनाएका छन्। रक्षामन्त्री शिन्जिरो कोइजुमीले पनि जापानस्थित अमेरिकी सेनाका कमाण्डरसँग छुट्टै विरोध जनाएको बताइएको छ।
अमेरिकी राजदूत ग्लासले अनुसन्धानमा जापानी अधिकारीलाई पूर्ण सहयोग गर्ने बताए। अमेरिकी सेनाले पनि जापानी अधिकारीसँग सक्रिय रूपमा सहकार्य गरिरहेको जनाएको छ। अमेरिकी सेनाको तेस्रो मरीन एक्सपिडिसनरी फोर्सले बलार्ड आफ्नो फोर्समा कार्यरत रहेको पुष्टि गरेको छ।
जापानमा अमेरिकी सैनिकसँग सम्बन्धित महिलाविरुद्धका विभिन्न गम्भीर अपराधका घटना वर्षौंदेखि रिपोर्ट हुँदै आएका छन्। पछिल्ला वर्षहरूमा पनि यस्ता घटना सार्वजनिक भएका छन्।
सन् १९९५ मा तीन अमेरिकी सैनिकले एक स्कुले बालिकामाथि बलात्कार गरेको घटना सार्वजनिक भएपछि जापानमा ठूलो विरोध भएको थियो। त्यसपछि सन् १९९६ मा अमेरिकी मरीन कोर्प्सको फुटेन्मा एयर स्टेसनका लागि प्रयोग भएको जग्गा फिर्ता गर्ने सम्झौता भएको थियो। तर उक्त प्रक्रिया अझै पूरा भएको छैन।
सन् २०१८ मा ओकिनावामा २०१६ मा २० वर्षीया महिलामाथि बलात्कार र हत्या गरेको अभियोगमा दोषी ठहर भएका पूर्व अमेरिकी मरीनको आजीवन कारावासको सजाय कायम गरिएको थियो। त्यस्तै, यस वर्ष फेब्रुअरीमा जापानको सर्वोच्च अदालतले २०२३ मा १६ वर्षमुनिकी बालिकालाई अपहरण गरी यौन दुर्व्यवहार गरेको अभियोगमा एक अमेरिकी वायुसेना सदस्यलाई सुनाइएको पाँच वर्षको सजाय पनि कायम गरेको थियो।
हाल जापानमा करिब ५५ हजार सक्रिय अमेरिकी सैनिक छन्। उनीहरू थलसेना, नौसेना, वायुसेना र मरीन कोर्प्सअन्तर्गत छन्। ओकिनावासहित जापानका विभिन्न क्षेत्रमा १५ भन्दा बढी प्रमुख अमेरिकी सैन्य आधार रहेका छन्।
प्रकाशित: २० आश्विन २०८३ ०८:३९ मंगलबार





