२३ भाद्र २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

उत्तर कोरियाले रुससँगको पहिलो सडक पुललाई दुई देशबीच बढ्दो सम्बन्ध र सहकार्यको प्रतीकका रूपमा प्रस्तुत गरेको छ। टुमेन नदीमाथि बनेको पुल सोमबार उद्घाटन गरिएको हो।

उत्तर कोरियाली अधिकारी पाक थाई सङले पुल निर्माण सम्पन्न हुनु द्विपक्षीय सहयोगमा नयाँ गति थप्ने महत्त्वपूर्ण घटना भएको बताए।

रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले पनि पुलले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने बताए।

सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि मस्को र प्योङयाङबीच सैन्य तथा आर्थिक सहकार्य तीव्र भएको छ।

उत्तर कोरियाले सन् २०२४ मा रुसको कुस्र्क क्षेत्रमा युक्रेनी सेनाविरुद्ध लड्न हजारौँ सैनिक पठाएको थियो। दुवै देशले त्यही वर्ष पारस्परिक रक्षा सन्धि गरेका थिए।

दक्षिण कोरियाको केन्द्रीय बैंकले उत्तर कोरियाको अर्थतन्त्र सन् २०२५ मा लगातार तेस्रो वर्ष तीन प्रतिशतभन्दा बढीले बढेको र रुससँगको आर्थिक सहकार्य त्यसको प्रमुख कारणमध्ये एक रहेको जनाएको छ।

यसैबीच, युक्रेनी अधिकार समूह ट्रुथ हाउन्डले नयाँ पुल उत्तर कोरियाली सेना तथा सैन्य अधिकारीलाई रुस पठाउने मार्ग बन्न सक्ने र रुसी प्रविधि तथा स्रोत उत्तर कोरिया भित्र्याउनसमेत प्रयोग हुन सक्ने चेतावनी दिएको छ।एएफपी

प्रकाशित: २३ भाद्र २०८३ १२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App