अमेरिकी अर्बपति एलन मस्कले स्पेसएक्स र टेस्ला कम्पनी गाभ्ने प्रस्तावलाई समर्थन गरेका छन् । यसैबीच, स्पेसएक्सले जुलाईदेखि सेप्टेम्बरसम्म चार अर्ब ४० करोड अमेरिकी डलर खुद नाफा कमाएको छ । अघिल्लो वर्ष सोही अवधिमा एक अर्ब १० करोड डलर घाटा भएको थियो ।
मस्कका अनुसार दुवै कम्पनीका स्वतन्त्र सञ्चालकहरूको विशेष समितिले सम्भावित मर्जरबारे अध्ययन गरिरहेको छ । स्वार्थको द्वन्द्वका कारण आफू छलफलमा सहभागी हुन नसक्ने बताउँदै उनले सम्झौता हुने निश्चित नभएको र टेस्लाका सेयरधनीको व्यापक समर्थन आवश्यक पर्ने उल्लेख गरे ।
स्पेसएक्सको आम्दानी १६१ प्रतिशतले बढेर १४ अर्ब ६० करोड डलर पुगेको छ । एआई सेवा र कम्प्युटिङ क्षमता भाडामा दिने सम्झौताले नाफा बढाउन योगदान पुर्याएको कम्पनीले जनाएको छ । एआई एकाइको आम्दानी नौ गुणा बढेर सात अर्ब ६० करोड डलर पुगेको छ ।
कम्पनीले एआई पूर्वाधार विस्तारमा ठूलो लगानी गरिरहेको छ । मस्कले सन् २०२७ मा थप १० गिगावाट कम्प्युटिङ क्षमता सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताए। यसैबीच, स्टारलिङ्कको आम्दानी ६९ प्रतिशतले बढेर पाँच अर्ब २० करोड डलर पुगेको छ र ग्राहक सङ्ख्या एक करोड ३६ लाख पुगेको छ ।
स्पेसएक्सले मङ्गल अभियानका लागि महत्त्वपूर्ण मानिएको स्टारसिप रकेटबाट पहिलो आम्दानी दिने उडानसमेत पूरा गरेको छ । उक्त उडानबाट २६ वटा नयाँ पुस्ताका स्टारलिङ्क उपग्रह पृथ्वीको कक्षमा पुर्याइएको कम्पनीले जनाएको छ ।
प्रकाशित: ४ कार्तिक २०८३ १५:०७ बुधबार





