२५ आश्विन २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अम्बानीलाई ‘भारतका प्रधानमन्त्री’ भन्दै मस्कको व्यंग्य, कमल हासनको जवाफ : भारत उपनिवेश होइन

अमेरिकी अर्बपति तथा स्पेसएक्सका प्रमुख एलन मस्कले भारतीय उद्योगपति मुकेश अम्बानीलाई ‘भारतका प्रधानमन्त्री’ भन्दै व्यंग्य गरेपछि अभिनेता तथा राज्यसभा सांसद कमल हासनले कडा जवाफ दिएका छन्।

उनले भारतको भविष्य कुनै अर्बपतिले नभई भारतीय जनताले तय गर्ने बताएका हुन्।

स्याटलाइट इन्टरनेट सेवा स्टारलिंकलाई भारतमा व्यावसायिक सेवा सुरु गर्न अनुमति दिन ढिलाइ भएको भन्दै मस्कले अम्बानीमाथि प्रश्न उठाएका थिए। शुक्रबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मस्कले अम्बानीलाई भारतको वास्तविक मालिक भएको थाहा नपाएको भन्दै व्यंग्यात्मक रूपमा माफी मागेका थिए। उनले अम्बानीको कम्पनी रिलायन्स जियोले बजारमा आफ्नो प्रभाव कायम राख्न खोजेको आरोप लगाउँदै स्टारलिंकलाई प्रतिस्पर्धा गर्न दिन आग्रह गरेका थिए।

मस्कको टिप्पणीपछि हासनले भारतको नीतिगत निर्णयमा कुनै पनि अर्बपतिले हस्तक्षेप गर्न नहुने बताएका हुन्। ‘मस्क, कुनै पनि अर्बपतिले राष्ट्रको नीति निर्देशित गर्नु हुँदैन, चाहे त्यो भारतीय होस् वा अमेरिकी’, उनले एक्समा लेखेका छन्। उनले भारत लोकतान्त्रिक देश भएको उल्लेख गर्दै ‘भारत उपनिवेश होइन। हामी विश्वलाई स्वागत गर्छौं, तर हाम्रो भविष्य भारतीय जनताले नै तय गर्नेछन्’ भनेका छन्।

हासनले भारतमा स्याटलाइट इन्टरनेट सेवामा प्रतिस्पर्धालाई स्वागत गर्नुपर्ने बताएका छन्। भारतीय वा विदेशी जुनसुकै कम्पनीले दुर्गम क्षेत्रका मानिसलाई व्यावहारिक र सस्तो इन्टरनेट सेवा दिन सके प्रतिस्पर्धाको अवसर पाउनुपर्ने उनको भनाइ छ। महँगो सदस्यता शुल्क र उपकरणको लागतका कारण सामान्य परिवारले इन्टरनेट सेवा प्रयोग गर्न नसक्ने अवस्था आउन नहुने उनले बताए। इन्टरनेटको पहुँचले डिजिटल विभाजन घटाउनुपर्ने, नयाँ विभाजन सिर्जना गर्न नहुने उनले उल्लेख गरेका छन्।

हासनले भारतको दूरसञ्चार सञ्जाल र स्पेक्ट्रम राष्ट्रिय सुरक्षासँग जोडिएको रणनीतिक पूर्वाधार भएको भन्दै यसमा सम्झौता गर्न नसकिने बताए। उनले अमेरिकाले घरेलु उद्योगको संरक्षणका लागि चिनियाँ विद्युतीय सवारीसाधनमा १०० प्रतिशत भन्सार शुल्क लगाएको उदाहरण दिँदै प्रत्येक देशले आफ्नो हितअनुसार नीति बनाउने उल्लेख गरेका छन्। भारत र अमेरिकाले सुरक्षा चिन्ताका कारण चिनियाँ दूरसञ्चार कम्पनी हुवावेका सेवामा पनि प्रतिबन्ध लगाएको उनले स्मरण गराएका छन्।

मस्कले स्टारलिंकको भारत प्रवेशमा केही शक्तिशाली व्यावसायिक समूहले अवरोध गरेको आरोप लगाएपछि नरेन्द्र मोदीको सरकारले त्यसको खण्डन गरेको छ। भारतका सञ्चारमन्त्री ज्योतिरादित्य सिन्धियाले कुनै पनि क्षेत्रमा एकाधिकारलाई अनुमति नदिइने बताएका छन्। सञ्चार मन्त्रालयका अनुसार स्टारलिंक, जियो स्याटलाइट कम्युनिकेसन्स र युटेलस्याट वनवेब सुरक्षा मूल्यांकन तथा अन्य नियामक प्रक्रियामा लगभग एउटै चरणमा छन्। व्यावसायिक सेवा सुरु गर्न यी कम्पनीले आवश्यक सुरक्षा स्वीकृति र स्पेक्ट्रमसम्बन्धी प्रक्रिया पूरा गर्नुपर्नेछ।

स्टारलिंक स्पेसएक्सको स्याटलाइट इन्टरनेट सेवा हो। यसले परम्परागत मोबाइल नेटवर्क र ब्रोडब्यान्ड सेवा कमजोर भएका दुर्गम क्षेत्रमा इन्टरनेट पुर्‍याउने लक्ष्य राखेको छ। भारतमा यसको व्यावसायिक सुरुवातमा भइरहेको ढिलाइले प्रतिस्पर्धा, राष्ट्रिय सुरक्षा र ठुला व्यावसायिक समूहको प्रभावबारे बहस चर्काएको छ।

यसअघि लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले मस्कलाई भारतमा स्वागत गर्दै व्यंग्यात्मक टिप्पणी गरेका थिए। उनले ‘भारतमा स्वागत छ, एलन। अर्को मान्छेबारे थाहा पाउन भने पर्खनुहोस्’ भन्दै लेखेका थिए। उनको संकेत उद्योगपति गौतम अदानीतर्फ रहेको बुझिएको छ।

यो पनि पढ्नुहोस्

मस्कको प्रश्न : के अम्बानी नै भारतका ‘असली बोस’ हुन् ? राहुलले संकेत गरेको ‘अर्को मान्छे’ को हुन् ?

राहुलले लामो समयदेखि प्रधानमन्त्री नरेन्द्र मोदीले अम्बानी र अदानीको हितमा काम गरिरहेको आरोप लगाउँदै आएका छन्। मस्कले राहुलको पोस्टको जवाफमा धन्यवाद दिँदै उनले संकेत गरेको व्यक्तिबारे आफू निश्चित नभएको बताएका थिए।

प्रकाशित: २४ आश्विन २०८३ १५:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App