अस्ट्रेलियामा घना झाडीमा आठ दिनदेखि हराइरहेकी १८ वर्षीया पदयात्री मृत फेला परेकी छन्।
उनको शव फेला परिसकेको अवस्थामा पनि प्रहरीले उनी जीवित रहेको गलत जानकारी गराएपछि परिवारमा खुसियाली छाएको थियो। तर, केही समयमै सत्य बाहिर आएपछि प्रहरीले माफी मागेको हो।
मृतक लिली हुपर गत अगस्ट १२ का दिन नटाई राष्ट्रिय निकुञ्जमा एक्लै पदयात्राका लागि न्यु साउथ वेल्सको ओकडेलबाट निस्किएकी थिइन्। तर, सोही रात उनी घर नफर्केपछि बेपत्ता भएको खबर प्रहरीमा पुगेको थियो। लगत्तै खोजी अभियान सुरु गरिएको थियो।
बिहीबार बिहान उनी जीवित फेला परेको खबर बाहिर आएपछि परिवारले खुसियाली मनाएका थिए। साथै, न्यु साउथ वेल्स राज्यका प्रधानमन्त्री क्रिस मिन्सले समेत सिनेट समितिको सुनुवाइको क्रममा उनी जीवितै फेला परेको घोषणा गरेका थिए। तर, केही मिनेटमै प्रधानमन्त्री मिन्सले आफ्नो बयान फिर्ता लिए र हुपरको शव फेला परेको पुष्टि गरे। मिन्सले भने, ‘म उनको परिवारप्रति गहिरो दुःखी छु।’
बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै न्यु साउथ वेल्स प्रहरी आयुक्त माल लान्योनले भने, ‘दुःखको कुरा आज बिहान लिलीको शव बरामद हुँदा गलत सञ्चार भएको थियो। म त्यो गलत सञ्चारको लागि पूर्ण रूपमा माफी चाहन्छु। लिलीको परिवारलाई परेको कुनै पनि थप आघातको लागि, तर निश्चित रूपमा त्यसले निम्त्याएको लज्जा र भ्रमको लागि म क्षमाप्रार्थी छु।’
उनले थप भने, ‘गलत सञ्चार स्पष्ट रूपमा लिली फेला परेकोमा खुसीबाट जन्मिएको थियो। दुःखद कुरा, त्यो गलत सञ्चारले त्यसपछि गम्भीर निराशा निम्त्यायो।’
हुपर दुर्गम क्षेत्रमा मृत फेला परेकी थिइन्, जुन खबर धेरै ठाउँमा फैलिसकेको थियो। तर अब उनको मृत्युको कारण र यस्तो गलत खबर कसरी बाहिर आयो भन्ने विषयमा छानबिन हुनेछ।
सिड्नीबाट करिब ५० माइल टाढा रहेको नटाई राष्ट्रिय निकुञ्ज अप्ठ्यारो भूभाग र ठुला बलौटे चट्टानका लागि परिचित छ। गत हप्ता उक्त निकुञ्ज क्षेत्रमा रातभर कडा हावा चलेको थियो, जसले अत्यधिक चिसो पनि बढेको थियो। एजेन्सी
प्रकाशित: ५ भाद्र २०८३ १४:४६ शुक्रबार





-600x400.jpg)